प्रदीप गुरुङको पोस्टर र लात सूत्रोपन्यासको चर्चा

प्रदीप गुरुङको पोस्टर र लात सूत्रोपन्यासको चर्चा

सपन प्रधान
सपन प्रधान, खरसाङ कलेज

सूत्र शब्दको सामान्य परिचय

सामान्यतः सूत्र भन्नाले धागो, जनै, व्याकरण, गणित, विज्ञान आदिको आदारभूत नियम, फर्मुला, सिद्धान्त[1] भन्ने बुझिन्छ । तापनि सूत्र शब्दको प्रयोग निम्नलिखित विभिन्न अर्थहरूमा भएको पाइन्छ :

             अर्थ – १       धागो, डोरो,

                           जस्तै – माला उन्ने सूत्र ।

             अर्थ – २       तन्तु, रेसा,

                           जस्तै – मृणालसूत्र ।

             अर्थ – ३       जनै, यज्ञोपवीत,

सूत्र उपन्यास पाेस्टर र लात
सूत्र उपन्यास पाेस्टर र लात

                           जस्तै – द्विजको शिखा र सूत्र ।

             अर्थ – ४       तार, डोरी,

                           जस्तै – पुत्तलिकाको सूत्र ।

             अर्थ – ५       जिलिगाँठी, किल्ली, कडी,

                           जस्तै – सफलताको सूत्र ।

              अर्थ – ६      संक्षिप्त वाक्य, सङ्केत, परिभाषा, बीज,

                           जस्तै – गणितको सूत्र ।

              अर्थ – ७      विधि, पद्धति,

                           जस्तै – धर्मसूत्र ।

              अर्थ – ८      सुराक, सुइँको,

                           जस्तै – षड्यन्त्रको सूत्र ।

              अर्थ – ९      स्रोत, उत्पत्ति,

                           जस्तै – विश्वस्त सूत्र ।

प्रदीप गुरुङको पोस्टर र लात सूत्रोपन्यासको चर्चा

उपर्युक्त नौवटा अर्थहरूमध्ये केही अर्थ सूत्रउपन्यासका सन्दर्भमा विचारणीय छन् । विचारणीय अर्थहरूका आधारमा सूत्रउपन्यासलाई निम्नलिखित प्रकारबाट अर्थ्याउन सकिन्छ :

१)      अर्थ  – १  ( धागो, डोरो ) का आधारमा –

         मालाका थुँगाहरूजस्ता अनेक स्वतन्त्र कथा (घटना, प्रसङ्ग, अवस्था वा अन्तर्क्रिया) लाई एउटैमा उन्ने सूत्र (धागो) भएको आख्यानात्मक संरचना ।

२)      अर्थ  – २  (तन्तु, रेसा) का आधारमा –

   सावयव वस्तुभित्र अविच्छिन्न रही त्यसका (मृणाल, उपन्यास आदिका) अवयव वा घटकहरूलाई निरन्तर विकसित तथा परस्पर आबद्ध गर्ने सारवान सूत्र (तन्नु, नाल) भएको आख्यानात्मक संरचना ।

३)      अर्थ  – ६  (सङ्केत, बीज) का आधारमा –

   सूक्ष्म सङ्केत (शब्दसङ्केत, वाक्यसङ्केत, आदि) द्वारा बीजकीय (संक्षिप्त र संश्लिष्ट) अभिव्यक्ति  गर्ने सूत्र (सङ्केत, बीज) भएको आख्यानात्मक संरचना) ।

४)      अर्थ  – ८  (सुराक र सूइँको) का आधारमा –

   स्वतन्त्र कथाहरूलाई परस्पर आबद्ध वा अन्वित तुल्याउने अत्यन्त झिनो, मसिनो वा हलुका सूत्र (सुराक) भएको आख्यानात्मक संरचना ।

समग्रमा साङ्केतिक ढङ्गमा मात्र जोडिने दुइ वा दुइभन्दा बढी स्वतन्त्र कथाहरूको सिङ्गो र पूर्ण संरचनालाई सूत्रउपन्यास भनिन्छ ।[2]

सूत्रउपन्यासको तात्पर्य

नेपाली उपन्यास लेखन परम्परामा सूत्रउपन्यासको प्रकाशनलाई एक सफल प्रयोग मानिन्छ ।[3] वास्तवमा प्रयोग(Experiment) साहित्यको नौलो युग जन्माउने र प्रतिभाको शङ्खघोष गर्ने प्रक्रिया हो ।[4] प्रयोग प्रत्येक सशक्त सर्जकका रगतमा बग्छ । उसका हरेक श्वास र प्रश्वासमा प्रयोगको आवतजावत हुन्छ । त्यसैले कुनै सशक्त  लेखक जबजब सिर्जनशील हुन्छ तबतब प्रयोगशील पनि हुन्छ । प्रयोगशील लेखकले रूढीबद्ध पश्चभूमिलाई फोर्छ, टुटाउँछ र नवीन प्रयोगद्वारा अग्रभूमिको निर्माण गर्छ ।[5] साहित्यको आख्यानात्मक विधाको सन्दर्भमा सूत्रउपन्यासको प्रयोगात्मक महत्त्व परम्परालाई नमान्नुमा छ । सूत्रउपन्यासले प्रचलित परम्परालाई मान्दैन । यस सम्बन्धमा सूत्रलेखनका प्रयोक्ता ध्रुवचन्द्र गौतमअनुसार सूत्रउपन्यासको एउटै नियम छ नियम नहुनु । यो नियमभन्दा अलग्ग छ र विरूद्ध पनि जान सक्छ । आफ्नो नियम आफैँ बनाउन सक्छ त्यसकारण यसका केही नियम देखा पर्दछन् भने ती नियमका आभास हुन् ।[6]

 सूत्रउपन्यासको तात्पर्य सर्वोपरि प्रयोगशीलता हो, त्यस प्रयोगशीलता भत्काइ हो । भत्काइ शब्दले एकलो विध्वंसलाई जनाए पनि सिर्जनाक्षेत्रको यो भत्काई विनिर्माणसँग सम्बद्ध छ । संसारमा केही पनि चिरस्थायी र शाश्वत नहुने हुँदा त्यस्ताको भत्काईलाई अनि नवीनताको त्यस किसिमको स्थापनालाई उत्तर-आधुनिक दृष्टिबाट निरन्तर पुनरावृत्ति हुने प्रक्रिया मानिन्छ । यस प्रक्रियाका कारण साहित्यमा पनि केही स्थायी हुँदैन, सबै भत्किरहन्छ ।[7] सूत्रउपन्यासले विधागत साँधलाई भत्काइदिएको देखिन्छ । यसको अर्को विशेषता क्रमहीनता हो, किनभने सूत्रउपन्यास व्यवस्थित नभई कथाहरूको असङ्गठित अवस्थितिले निर्बिघ्न सञ्चालित हुन्छन् ।

सूत्रउपन्यास एउटा होइन अनेक कथाहरूबाट निर्मित हुन्छ । यसका सबै कथाहरू स्वतन्त्र र पृथक हुन्छन् । पृथक्-पृथक् सत्ता भएका सबै कथाहरूमा प्रत्यक्षतः होइन परोक्षतः एउटैमा जोडिने र एउटा बेग्लै संरचना (सूत्रउपन्यास) को निर्माण गर्ने ऊर्जा र सम्भाव्यता  हुन्छ । सबै स्वतन्त्र कथाहरू अङ्गवत पनि हुन सक्ने हुँदा नै सूत्रउपन्यास आफ्ना अवयवहरूले परिपूर्ण एउटा सिङ्गो रचनाका रूपमा सिद्ध भएर देखापर्छ । अन्य पूर्ण रचनाझैं यसमा पनि आदि, मध्य र अन्त्य भागको आयाम रहन्छ ।

सूत्रउपन्यास भत्काईपछिको विनिर्मित भएकाले यो प्रचलित उपन्यासको परम्परित ढप र ढाँचाबाट मुक्त र पृथक् हुन्छ । यसमा अनौपचारिक ढाँचा हुन्छ । अनौपचारिक ढाँचा र उपकरणको ऐच्छिक प्रयोगले सूत्रउपन्यासलाई नवीन-नवीन रूपाकार प्रदान गर्छ भने सूत्रले सिङ्गो कृतिको रूपमा त्यसको एकीकरण गरी समग्रतामा अर्थवान् समेत तुल्याउँछ । यसमा प्रयुक्त प्रत्यक्ष सूत्रहरू शब्दसङ्केत र वाक्यसङ्केतका रूपमा कृतिका बाह्य तलमा रहेका हुन्छन् । यसका परोक्ष सूत्रहरू कृतिका बाह्य तलमा नभई गहन तलमा दबिएका हुन्छन् ।[8]

सूत्रउपन्यासको अर्को विशेषता श्यामव्यङ्ग्य पनि हो । यसले सामयिक विकृति र विसङ्गतिको तीब्र व्यङ्गोक्ति गर्छ । यो कता-कता बढी प्रहारक, मारक, बेधक र भेदक हुन्छ ।[9] साधरणतः व्यङ्ग्यको अघिल्तिर श्याम शब्द संयुक्त रूपमा जोडिएर गठन भएको यस द्विशाब्दिक शब्दको अर्थलाई हेर्दा रङ्गको बोधद्वारा अर्थले विसङ्गतिमाथि र प्रतिकूलतामाथि भेद गर्ने प्रहारमूलक लेखनलाई बुझिन्छ । श्याम रङ्गबोधले वास्तवमा हाम्रा कमजोर पक्ष, हाम्रा दोषयुक्त कार्यविधि, हाम्रा विसङ्गति र प्रतिकूलतालाई इङ्गित गरेको छ र तीहरू माथि शाब्दिक प्रहारद्वारा प्रहारमूलक स्थिति सिर्जना गरी आनन्दतिरेक चेतना जगाउने लेखनलाई श्यामव्यङ्ग्य भनेर बुझ्नुपर्ने हुन्छ ।∗

श्यामव्यङ्ग्यलाई वाक्यपद्धति मान्ने Petrick O ‘Neil ले वास्तवमा श्यामव्यङ्ग्य यही नै हो भन्ने धारणाको सहमति भई नसकेको बताएका छन् । तापनि विद्वान्‌हरूले के मान्छन् भने, श्यामव्यङ्ग्य आख्यानको विशेष भागसँग मात्र सीमित रहेको हुनुपर्छ । श्यामव्यङ्ग्य जीवनमा रहेका न्युनता, रिक्ततालाई भरण गर्ने सुरक्षात्मक माध्यम हो । साथै जीवनमा आइपर्ने आपत्तिमूलक भयको विरूद्ध प्रयोग गरिने हतियारको रूपमा पनि श्यामव्यङ्ग्यलाई लिएको छ ।

समग्रमा के भन्न सकिन्छ भने, सूत्रउपन्यासले महाआख्यानको संरचरनालाई अन्त्य गरिदिएको छ । अतः प्रतिआख्यानात्मकता नै सूत्रउपन्यासको मूल परिचय पनि हो ।

सूत्रउपन्यासकार प्रदीप गुरुङको परिचय

समकालीन भारतीय नेपाली साहित्यका एकजना प्रयोगमुखी आख्यानकार हुन् प्रदीप गुरुङ । उनको जन्म २१ अक्टोबर १९५४ मा दार्जिलिङको मिरिकमा भएको हो । उनी पेशाले शिक्षक हुन् । उनले साहित्यका विविध विधाहरूमा कलम चलाएका छन् । किशोरावस्थादेखि नै कथा विधाबाट साहित्यमा प्रवेश गर्ने आख्यानकार प्रदीप गुरुङको हालमा ४ वटा सङ्गृहीत कथाहरू प्रकाशित छन्, १. असुरक्षित (सन् १९८०), २. यस्तै अनि यस्तै (सन् २०००), ३. बिरिमफुल (सन् २००७) र बैरीमाया (सन् २०१६) आदि । उनी कथाकारबाहेक प्रयोगवादी उपन्यासकार पनि हुन् । उनको पोस्टर र लात (सन् २०१०) सूत्रउपन्यास समकालीन भारतीय नेपाली उपन्यासजगत्‌मा सर्वदा नवीन लेखनप्रकार हो । यस किसिमको प्रयोगपरक सूत्रात्मक आख्यानको सिर्जनात्मक सुरुवात भारतबाट पहिलोपटक उनीबाट नै भएको देखिन्छ । उनले विभिन्न साहित्यिक पत्रपत्रिकाहरूका पनि सम्पादन कार्य गरेका छन् ।

उनी १. पूर्ण राई स्मृति पुरस्कार (सन् २००४), २. रामलाल अधिकारी पुरस्कार (सन् २००८), ३. स्रष्टा पुरस्कार (सन् २००९) का साथै अन्य विभिन्न सम्मानहरूले पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।

उनी मूल रूपमा सामाजिक यथार्थवादी तथा मनोवैज्ञानिक कथाकार भए पनि औपन्यासिक विधामा उत्तर-आधुनिक साहित्यिक लेखनको निकट स्रष्टाका रूपमा  चिनिन्छन् । नेपाली उपन्यास परम्परामा लेखिँदै आएको एउटा क्रमबद्ध लेखनमाथि ठेस लगाएर नयाँ तरिकाद्वारा उपन्यास लेख्न सकिने सम्भावनाको मूर्त प्रयासलाई नेपालबाट ध्रुवचन्द्र गौतमपछि यता भारतबाट उनले नै सार्थक गराएका हुन् ।

प्रदीप गुरुङकृत पोस्टर र लात सूत्रउपन्यासमा आख्यानात्मक चेष्टा

आख्यानकार प्रदीप गुरुङले समकालीन भारतीय नेपाली उपन्यासमा प्रचलित लेखनको दिशालाई सीमा लगाउँदै सूत्रलेखनको आख्यानात्मक चेष्टा गरेका छन् । नेपाली उपन्यास परम्परामा संरचनात्मक एकत्वलाई भत्काइएको यस किसिमको आख्यानात्मक चेष्टा सर्वथा नवीन लेखनप्रकार हो । यस आख्यानात्मक चेष्टाले साहित्यको विधागत साँध पनि भत्काएको छ र रचनाको रूपगत ढाँचा पनि भत्काइदिएको छ । यसमा साना-साना आख्यानको समष्टि रहेको हुनाले महाआख्यानको अन्त्य गर्दै यसले प्रतिआख्यानतिर प्रवृत्त गरेको छ । वास्तवमा यस किसिमको आख्यानात्मक चेष्टालाई कथाको रूपमा हेर्ने अथवा केवल उपन्यासको रूपमा हेर्ने अथवा कथा र उपन्यास दुवै रूपमा हेर्ने, त्यसको स्वतन्त्रता पठनमा निर्भर गर्दछ । अतः पठनमा समायोजित भई यसमा प्रयोग गरिएका छुट्टाछुट्टै शीर्षकलाई छुट्टाछुट्टै संरचानाको रूपमा ग्रहण गरी समष्टि कृतिलाई कथाको रूपमा पनि प्राप्त गर्न सक्दछ र छ्टाछुट्टै शीर्षकलाई एउटै संरचनाको घटकहरूका रूपमा ग्रहण गरी समष्टि कृतिलाई उपन्यासको रूपमा पनि ग्रहण गर्न सक्दछ ।[10] यस किसिमको आख्यानात्मक चेष्टालाई विद्वान्‌हरू अत्यन्तै अपरम्परित आविष्कार[11] ठान्छन् भने कोही तासका चक्की झैँ फिटेर पढ्न मिल्ने[12] बताउँछन् ।

सर्वप्रथम यस जोखिमपूर्ण सफल, सार्थक र साजी प्रयोगको सुन्दर र कलात्मक आख्यानात्मक चेष्टा ध्रुवचन्द्र गौतमले गरेका हुन् ।[13] उनको फुलको आतङ्क (वि.सं २०५५) सूत्रउपन्यास नै यसको प्रामाणिक नमुना कृति हो । यसपछि प्रदीप गुरुङ यसै लेखन प्रवृतिसँग प्रभावित भएर दोस्रो तर भारतबाट पहिलो पोस्टर र लात (सन्२०१०) सूत्रउपन्यास लिएर देखा पदर्छन् । पोस्टर र लात भारतबाट लेखिएको पहिलो सूत्रउपन्यास हो । अबको उत्तर-आधुनिक साहित्यलेखनले परम्परालाई मान्दैन । यही परम्परादेखि हटेर प्रदीप गुरुङले उत्तर-आधुनिक विचारको समर्थन गर्दै आजका मान्छेको जीवन अनुभवलाई अत्यन्तै सार अनि दुस्सहासका साथ उपन्यासमार्फत चित्रण गर्ने प्रयास[14] गरेको देखिन्छ । यसभन्दाअघि कृतिकार प्रदीप गुरुङकै स्वीकृति उपयुक्त हुनेछ, पोस्टर र लात ले विनिर्माणको नौलो प्रयोगमा भत्काईपछिको निर्माणमा पूनर्लेखनको प्रस्तुति दिन खोजेको छ ।

सूत्रउपन्यासको सन्दर्भमा यस्ता कार्य उपन्यासकार ध्रुवचन्द्र गौतमद्वारा भइसकेको हुँदा आफूबाट कुनै नयाँ विषयको सैद्धान्तिक सिर्जना नभएको तर गौतमकै सिर्जनात्मक पाइलालाई पहिल्याउँदै सिर्जनाको त्यहीँ गन्तव्यतिर भारतीय नेपाली साहित्यको पक्षमा अग्रसर हुन खोजिएको एउटा प्रयास मात्र भएको छ ।∗ यति हुँदाहुँदै पनि प्रदीप गुरुङ उपन्यासको शीर्षक, अन्य भावपक्ष र शिल्पपक्ष आदिमा गौतमभन्दा भन्नै देखिने प्रयास गर्छन् । उनी यस कृतिमा आफ्नो नितान्त सामाजिक बुनोट र परिवेशअनुरूप सिर्जना गर्न सफल भएका छन् ।[15]

पोस्टर र लात मा जम्मा १३६ वटा सूत्रहरू अन्तर्भूक्त गरिएका छन् । अनि त्यस प्रत्येक सूत्रहरू सानासाना आख्यानात्मक शीर्षकमा संरचित छन् । तर औपन्यासिक उपकरणको दृष्टिले कथानकमा यसको क्रमिक र सम्यक् विकास भएको छैन । विभिन्न सूत्रहरूमा विभिन्न शीर्षकअन्तर्गत सानासाना आख्यानहरूले विभिन्न समसामयिक विषयलाई समेट्न खोजे पनि कथानकमा क्रमिकता नभएकाले ती सूत्रहरू स्वतन्त्र तर अन्तर्सम्बन्धित छैनन् । जसले एकअर्कामा मेल राख्दैनन् । यसका सूत्रहरू स्वतन्त्र प्रकारका हुनाले कुनै सूत्रहरू झिँक्दा र अन्य त्यसतै सूत्रहरू थप्दासमेत उपन्यासमा फरक पर्दैन । यसैले यो भङ्गशील छ । आयामका दृष्टिले पनि प्रयुक्त सूत्रहरू समान किसिमका छैनन् । कुनै लामो र कुनै छोटो छ तर ती सबैलाई क्रमबद्ध तरिकाले राखिएका छैनन् । विषयगत आधारमा सामञ्जस्य भएका शीर्षकहरू कतैकतै बाहेक प्रसङ्गानुकूल प्रयुक्त छैनन्, तापनि ती सूत्रहरू आफैँमा पूर्ण र स्वतन्त्र छन् । यस्ता आख्यानपरक सूत्रात्मक प्रयोगले वास्तवमा क्रमबद्ध तरिकाले आदिदेखि अन्त्यतर्फ बढ्ने, एकरूप कथाहरू भएको उपन्यासको अत्याचारबाट मुक्त गराएको छ ।

हुन पनि आजको समयमा लेखकले पाठकलाई कथा यस्तै हुन्छ र यसलाई यसै गरी पढ्नुपर्छ भनी बाध्य गर्न पाउँदैन, पाठकले जहाँ जसरी हुन्छ त्यसरी प्रवेश गर्न सकोस्, ऊ त्यहाँ स्वतन्त्र होस्, त्यो लेखक को हो ? जसले केही निश्चित अर्थहरू रचेर, एउटा क्रमबद्ध नियम पार्छ अनि उसको स्वतन्त्रता समाप्त पारिदिन्छ भन्ने छैन । वास्तवमा अब आउने अवास्तविक आख्यानले वास्तविक जीवनको अनुकरण गर्नेछ, यसमा अनन्त सम्भावना हुनेछन् र आश्चर्यजनक परिणाम हुनेछन्, यो एक प्रकारको अन्तिम यथार्थ हुनेछ ।[16]

सूत्रलेखनको आख्यानात्मक चेष्टाले सामाजिक सङ्गतिहरूलाई भन्दा विद्रुप सांस्कृतिक गतिविधिको चित्रणमा नै बढी केन्द्रित भई वास्तविक समाजको अनुकरणमा अनन्त बुझाइका सम्भावनाहरूलाई भरिदिने काम गरेको छ । पोस्टर र लात उपन्यासमा भारतीय नेपाली समाजको सांस्कृतिक स्वरूपको याथार्थिक विचलन प्रकट भएको छ । उपन्यासमा एउटै प्रमुख ऊ पात्र छ । ऊ पात्र परिस्थितिअनुकूल ठिकठिक भएर चलेको छैन । समाज र राष्ट्रमा व्याप्त विकृति, विसङ्गति, नैराश्य, राजनैतिक अस्थिरता, आडम्बर, कृतिमता ,विश्वासघात, मानवीय मूल्यको ह्रास, नकारात्मक सोच, ध्वङ्सकारी प्रवृत्ति सबैसबै आयामलाई आश्चर्यजनक[17] परिणामको रूपमा ऊ पात्रले त्यस अनेक परिस्थितिलाई अनेक पाराले नै भोगेका छन् । जस्तै,

  • ·       ऊ भिडभित्र पोस्टर भएर उभेको छ । पोस्टर हुनु उसको शोख हो । भोक र पोस्टरको सङ्क्रमणमा ऊ बाँचेको बाँचेकै छ ।
  • ·       भोक र भात, पोस्टर र लात, व्याकरण निखारेर स्तम्भ संयोजक ऊ ‘र’ बन्छ ‘र’ ऊ बन्छ । सुख र झोपडी, सम्झौताको सलाम ठोक्न ऊ उभेको छ ।
  • ·       ‘अब भुतले नासेको हाम्रा इतिहासको तमसुक उकास्नुपर्छ ।’ अन्तमा जाँच बैठकले उसलाई भुतमाथि लात उज्याउने निर्देश दियो । तर ऊ जन्मजात अपाङ्ग थियो ।
  • ·       ‘कुकुरहरूलाई  खोजी खोजी म टोक्ने गर्छु ।’ सम्भ्रान्त परिवारका महिलाहरू आफ्नो उन्नत विदेशी नश्लका कुकुरहरूलाई पागलले टोक्ला भनी त्राही त्राही बने । यसर्थ, यस समस्याको समधानार्थ सम्भ्रान्त पतिहरू गृह मन्त्रलायलाई उजुरी पत्र लेख्नमा तल्लीन हुन थाले । ऊ विचार शून्य हाँसिरह्यो ।
  • ·       आन्दोलन के का निम्ति ? स्वअस्तित्व र जातीय अस्मिताका लागि । आन्दोलनको चरमबिन्दु के हो ? सम्झौता । सुविधाको अंशदार को हो ? नेता कि जनता ? यसको उत्तरचाहिँ ऊसँग छैन ।
  • ·       गल्लीबाटै उसले गाउँ रोएको सुन्यो । गाउँ एउटा मात्र रोइरहेको थिएन । सामुहिक रोदन थियो गाउँहरूको । अरूले झैँ गाउँ छाडे पनि ऊ गाउँमै थिएन ।
  • ·       अक्षरको जङ्गल संविधान । जङ्गल केलाउन थाल्यो ऊ । तर अक्षरहरूको  घनत्वमा अधिकार नामको वस्तु खोज्दा खोज्दै ऊ थाक्दै गयो ।
  • ·       ऊ मध्य रातमा एउटा मन्दिरमा पुग्यो । उसले रूँदै मन्दिरभित्रको मूर्तिलाई सोध्यो- प्रभो! यति लामो अवधिसम्म भोकै रहन परेपछि स्वास्नीले मलाई  त्याग गरिहाल्नुपर्ने कारण के थियो ?

यसरी उपन्यासमा देखापर्ने ऊ पात्र एउटै हो कि भन्ने भ्रम पनि रहन्छ तर ऊ पात्र एउटा सार्वजनिक पात्र नभएर एउटा अपात्रको रूपमा रहेको देखिन्छ । अनि त्यो ऊ पात्रको भोगाईमा कुनै क्रमबद्ध गतिशीलता छैन, न कुनै निश्चित परिचय छ । त्यस परिस्थितिगत भोगाईमा फरक फरक परिचय लिएर देखापर्ने हुदाँ ऊ पात्रको जीवनमा जहाँबाट पनि प्रवेश गर्न सकिन्छ । ऊ पात्रले भोगेका अनेक अड्चनहरूलाई जसरी पनि जहाँबाट पनि सम्भावनाहरूको मेह तुनेर अर्थ्याउन सकिन्छ । यस किसिमको अप्रचलित लेखनलाई अवास्तविक लेखनकै प्रयोगको रूपमा लिएर अध्ययन गर्दा समायोचित हुनेछ ।

 उपसंहार

समकालीन भारतीय नेपाली उपन्यासको क्षेत्रमा सूत्रलेखनको आख्यानात्मक चेष्टालाई प्रयोगको रूपमा लिइन सकिन्छ । सूत्रलेखनको यस किसिमको प्रयोगले नेपाली उपन्यास विधालाई नै एउटा नयाँ दिशा दिएको छ । भारतीय नेपाली साहित्यको वर्तमान परिप्रेक्ष्यमा उपन्यास विधा अन्य साहित्यिक विधाका तुलनामा केही सुस्ताएको महसुस हुन्छ । गएको एक दशकदेखि यता भनेजस्तो उत्कृष्ट उपन्यास कृतिको अभाव खट्किँदै आइरहेको छ । युवा सर्जकहरूको कमी नभए पनि उपन्यास विधामा भने उनीहरू पछाडिएका छन् । यस्तो अवस्थामा प्रदीप गुरुङकृत पोस्टर र लाल को प्रकाशनलाई उपलब्धिको रूपमा लिन सकिन्छ । उनको सूत्रात्मक आख्यान चेष्टाले भारतीय नेपाली उपन्यासको परम्परित ढाँचालाई भत्काउँदै नौलो दिशा दिन सक्षम भएको छ । प्रविधि, शैली, शिल्प र ढङ्ग तथा भाषा नै अर्कै नयाँ लिएर आउने लेखनमात्र नयाँ बन्छ[18] भन्ने विद्वान्‌हरूको धारणासँग प्रदीप गुरुङको चेष्टाले भारतीय नेपाली उपन्यासलेखनको रूप र प्रविधिलाई नै नयाँ बनाएर नवलेखनको सुरुवात गरेको छ ।

सन्दर्भग्रन्थ सुची

१.    गौतम, लक्षमणप्रसाद वि.सं २०६०, समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण, ललितपुर, काठमाडौँ, साझा प्रकाशन ।

२.    दाहाल, मोहन पी. (सम्पा.), सन् २००१, नेपाली जर्नल (सम्कालीन नेपाली गद्याख्यान), दार्जिलिङ, साझा प्रकाशन ।

३.    कार्कीढोली, वीरभद्र (सम्पा.), सन् २००३, प्रक्रिया, सिकताम, पश्चिम सिक्किम,प्रक्रिया प्रकाशन ।

४.    राई, असित, सन् २००६, भारतीय नेपाली साहित्यको इतिहास, दार्जिलिङ, साझा प्रकाशन ।

५.    दाहाल, मोहन पी. सन् २००१, दार्जिलिङका नेपाली उपन्यास परम्परा र प्रवृत्ति, दार्जिलिङ, श्याम ब्रदर्स प्रकाशन ।

६.    रसाइली, सतीश, मोक्तान, डी.एस. आदि(सम्पा.),सन् २००८, दियालो, दार्जिलिङ, चन्द्रकुमार राई प्रकाशन ।

७.    नेपाल, घनश्याम सन् २००९, नेपाली साहित्यको परिचयात्मक इतिहास (संशोधित र परिवर्द्धित संस्करण),सिलगढी,एकता बक्स हाउस ।

८.    योञ्जन प्यासी, जस, सन् १९८३, प्यासीका केही समालोचना, दार्जिलिङ, साझा प्रकाशन ।

९.    प्रधान, कृष्णचन्द्रसिंह वि.सं २०३७, नेपाली उपन्यास र उपन्यासकार, ,(पहिलो संस्करण),ललितपुर, नेपाल, साझा प्रकाशन ।

१०. अधिकारी, हेमाङ्गराज (प्रधान सम्पा.), वि.सं २०६६, प्रयोगात्मक नेपाली शब्दकोश, (तृतीय संस्करण), काठमाडौँ, कमलपोखरी, विद्यार्थी प्रकाशन प्रा. लि. ।

११. शर्मा, मोहनराज, वि, सं २०६६, आधुनिक तथा उत्तर-आधुनिक पाठकमैत्री समालोचना, कीर्तिपुर, काठमाडौँ, क्वेस्ट पब्लिकेसन ।

१२.  गुरुङ, प्रदीप, सन २०१०, पोस्टर र लात, कालेबुङ, श्रीमती चन्द्र गुरुङ ।

१३. एटम, नेत्र, वि.सं २०६१, समालोचनाको स्वरूप, ललितपुर, पुलचोक,साझा प्रकाशन ।

१४. गौतम, ध्रुवचन्द्र,  वि.सं २०५५, फुलको आतङ्क, साझा प्रकाशन ।

१५.   मोहनराज शर्मा, वि.सं. २०५५, वर्ष १३, अङ्क २, पूर्णाङ्क ४७, उत्तर-आधुनिक पृष्ठभूमि र फुलको आतङ्क, ‘’समकालीन साहित्य’’,

१६.  भट्टराई, गोबिन्दराज, वि.सं २०६४, उत्तर-आधुनिक विमर्श, काठमाडौँ, मोडर्न बुक्स ।

१७. अधिकारी, रामलाल, (सम्पा.), सन् २००४, दियालो, ने,सा,स.को पक्षमा सचेन राईद्वारा प्रकाशित ।


[1] हेमाङ्गराज अधिकारी (प्रधान सम्पा.), वि.सं २०६६, तृतीय संस्करण, प्रयोगात्मक नेपाली शब्दकोश,  पृ. १०२९ ।

[2] मोहनराज शर्मा, वि. सं २०६६, आधुनिक तथा उत्तर-आधुनिक पाठकमैत्री समालोचना, पृ. २०१-२०२ ।

[3] कविता लामा, सन् २०१०, सूत्रउपन्यास पोस्टर र लातः युगान्तर स्वर, पोस्टर र लात,  पृ. १ ।

[4] नेत्र एटम, वि सं २०६१, समालोचनाको स्वरूप, पृ. ६२ ।

[5] मोहनराज शर्मा, आधुनिक तथा उत्तर-आधुनिक पाठकमैत्री समालोचना, पूर्ववत्, पृ. १९८ ।

[6] धूर्वचन्द्र गौतम, वि.सं २०५५, फुलको आतङ्क, पृ. ग ।

[7] मोहनराज शर्मा, आधुनिक तथा उत्तर-आधुनिक पाठकमैत्री समालोचना, पूर्ववत्, पृ. १९९ ।

[8] पूर्ववत्,  पृ. २०३-२०४, २०५-२०९ ।

[9] पूर्ववत्,  पृ, २१४ ।

∗दिनाङ्क ४ दिसम्बर २०११,मा आयोजित सपन प्रधानकृत कृति-कीर्ति  समीक्षात्मक पुस्तकको लोकार्पणमा सूत्रउपन्यासकार प्रदीप गुरुङद्वारा पठित वार्ताबाट लिइएको एउटा अंश ।

[10] मोहनराज शर्मा, वि.सं २०५५, , उत्तर-आधुनिक पृष्ठभूमि र फुलको आतङ्क, पृ. ९२ ।

[11] गोविन्दराज भट्टराई, वि.सं २०५५, उत्तर-आधुनिक पृष्ठभूमि र फुलको आतङ्क, पूर्ववत्,  पृ. ९२ ।

[12] मोहनराज शर्मा, वि.सं. २०५५, वर्ष १३, अङ्क २, पूर्णाङ्क ४७, उत्तर-आधुनिक पृष्ठभूमि र फुलको आतङ्क, ‘’समकालीन साहित्य’’, पृ. ८२ ।  

[13] मोहनराज शर्मा, आधुनिक तथा उत्तर-आधुनिक पाठकमैत्री समालोचना, पूर्ववत्, पृ. १९८ ।

[14] कविता लामा, सूत्रउपन्यास पोस्टर र लातः युगान्तर स्वर, पूर्ववत् , पृ. २-३ ।

∗ दिनाङ्क ४ दिसम्बर २०११ मा आयोजित सपन प्रधानकृत कृति-कीर्ति  समीक्षात्मक पुस्तकको लोकार्पणमा सूत्रउपन्यासकार प्रदीप गुरुङद्वारा पठित वार्ताबाट लिइएको एउटा अंश ।

[15] कविता लामा, सूत्रउपन्यास पोस्टर र लातः युगान्तर स्वर, पूर्ववत्, पृ. २ ।

[16] गोबिन्दराज भट्टराई, वि.सं २०६४, उत्तर-आधुनिक विमर्श,  पृ. ६०३ ।

[17] कविता लामा, सूत्रउपन्यास पोस्टर र लातः युगान्तर स्वर, पूर्ववत्, पृ. ४ ।

[18] इन्द्रबहादुर राई, सन् २००४, वर्ष ४६, हाँगो १४०, आयमिकता, लीलाबोध र उत्तर-आधुनिकता (मू.ले. वैरागी काइँला), ‘’दियालो’’, रामलाल अधिकारी सम्पा..  पृ. ५ ।

***++***

याे पनि हेर्नुस्


Leave a comment