सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’: सम्यकदृष्टिले छिचोल्दा
प्रिय सर्जक भाइ अजय खड्काको ‘बागी स्त्रीको आत्मकथा’ भन्ने पुस्तकप्रति तीव्र व्याकुलता देखेर अचम्म परेँ । ‘बागी स्त्रीको आत्मकथा’ पुस्तक किन्नु १०० किलोमिटर बिर्तामोड दुईपटक पुर्याउनु भयो । प्रथमपल्ट बिर्तामोडदेखि उत्तरपट्टी ईशा पुस्तक पसल पुगियो, जहाँ ‘बागी स्त्रीको आत्मकथा’ पाइन्छ भनेर विज्ञापनमा लेखिएको रहेछ । बागी स्त्रीको आत्मकथा त्यहाँ उपलब्ध रहनेछ । भाइको मुहारमा विशेष वस्तु हात नपरेको वेदनाभाव छर्लङ्ग देखेँ । त्यही पसलको पारीपट्टी प्रगति पुस्तक पसल रहेछ, त्यहाँ पनि खल्लोपना थप्पियो । अब सरकारी आँखा अस्पताल जाने बाटोमा पर्ने सम्पूर्ण पुस्तक पसलमा त पक्कै पाइन्छ भनेर दुई भाइ हाँक्कियौँ । पसलकी साहुनीले विराटनगर फोन गरेर झिकाइदिन्छु भन्नुभयो । पुस्तकको तृष्णा मेटिने भयो भनेर भाइ ढुक्क हुनुभयो । केही घण्टा लाग्ने हुँदा साझा पुस्तक पसलतिर लम्कियौँ । साझामा अनेकौं कामलाग्दा पुस्तकहरू छनौट गरियो ।
म असमको नागरिक हुनाले सिलगढी, डुवर्सतिर धेरै साथीहरूले ब्रह्मपुत्रको छेउछाउ एक कपी ल्याइदिने न भन्ने आग्रह राख्नुहुन्छ । आदरणीय साहित्यकार लीलबहादुर क्षत्रीसरसँग माग्दा आफ्नो कपीबाहेक अरू उहिले सिध्यिएको भन्नु हुन्थ्यो, सरले नै साझामा पाउनुपर्ने भनेको हुँदा जिज्ञासा पस्केँ । केहीबेर खोजेर सञ्चालकले निकाल्नुभयो तर पुस्तकहरू भने बेहाल अवस्थामा रहेछन् । कोही कभरबाट छुट्टिएका त कोही पाना पाना नै जोड्नुपर्ने अवस्थाका भेटिए । साझाका सञ्चालक महोदयले उपाय पनि दिनुभयो । बल्लतल्ल बाइन्डिङ गर्दा तीन कपी पढ्नलायक हुने भेटेर उहाँले नै बताएको ठेगाना अनुसार ठाउँमा पुगेर पुस्तक पढ्नलायक बनाइदिने आग्रह गर्दा एकजनाले चाहिँ मान्नुभयो । त्यहाँ केहीबेर लाग्ने हुँदा खाना खाऊँ भन्ने सहमति भयो ।
छेवैको एउटा होटलमा खाना खान पस्यौँ । स्वच्छतापूर्ण होटलको रेस्टुरेन्टमा पसेर आनन्द लाग्यो । नेपाल भित्रिएपछि थकाली खानाको नै स्वादले व्याकुल बनाउँछ । काकडभिट्टाको दार्जिलिङ होटलबाहेक पूर्वमा खासै स्वादिष्ट थकाली खाना भेटेको छुइनँ, आज पनि व्यतिक्रम भएन । जे होस् परिवेश र स्वच्छताले सन्तुष्टि दियो ।
त्यहाँबाट निस्केर सम्पूर्ण पुस्तक पसलमा बहूअपेक्षित ‘बागी स्त्रीको आत्मकथा’ लिन पुगियो । पसलमा छिरेको मात्र के थियौँ, खित्ता छोडेर हाँस्छन् साहुनी लगायत अरु सहायकहरू । पहिले बुझ्नै सकिएन के भएछ भनेर । विराटनगरबाट पुस्तक बोकेर आउने केरियर पनि बेस्सरी हाँस्छन् । भएको चाहिँ रहेछ- ‘बागी स्त्रीको आत्मकथा’ त ल्याएनछन् अरू कुनै पुरुषले लेखेको बागी नामक पुस्तक पो ल्याएछन् । केरियरले ‘बागी स्त्रीको आत्मकथा’ विराटनगर नै आइपुगेको छैन भने- कति साचो बोले उनै जानुन् । यता भाइको निरासापन देखेर बुद्धिमान साहुनीले ठेगाना दिएर जानु पुस्तक आएपछि सिलगढीसम्म पुर्याई दिन्छु भनेर सान्त्वना पान गराउनुभयो ।
त्यतिमा नै जिज्ञासु यात्राको बीट मारेर गन्तव्यतर्फ लाग्नुबाहेक केही रहेन । काकडभिट्टा नकटुन्जेल गाडीभित्र विभिन्न गीतहरू मात्र बजी रहे । किनभने गुमसुम परिवेशले गर्दा गीतहरू मुक्त रूपमा गुञ्जयमान हुन पाए ।
लगभग पन्द्रह-सत्रह दिनपछि पुनः बिर्तामोड पुग्नु नै पर्ने अवस्था ‘बागी स्त्रीको आत्मकथा’ का प्रवल मोहले बाँधिएका भाइले बनाए । दोस्रोपल्ट ईशा पुस्तक पसलमा नै ‘बागी स्त्रीको आत्मकथा’ भाइले हातमा समातेर विशेष महत्त्व अघिसार्नुभयो । पुस्तकको आवरण पृष्ठ राम्ररी नियालेर पछाडिको कभर निकैबेर हेरिरहनुभयो । उहाँ अति सन्तुष्ट भएको देखेर मलाई पनि असाध्यै खुशी लाग्यो । एक कपी मलाई पनि थमाउनुभयो । त्यतिबेलासम्म कविता सङ्ग्रह रहेछ भन्ने थाहा थिएन । ‘बागी स्त्रीको आत्मकथा’ पक्का उपन्यास होला भनेर मेरो सोचाइले चतुर्याइँ देखाइसकेको थियो, कति अनभिज्ञ रहेछु भन्ने अर्को झटका जीवनमा बटुलेँ ।
साधारण पाठकको हैसियतले पढ्नसम्म भने जान्दछु तर कविताहरूको सही अर्थबोध ठम्याउन भने मभित्र ल्याकत छैन । नेपाली भाषाप्रति अगाध प्रेम हुनु गोर्खा सन्तान भएको नाताले स्वाभाविक हो र म पनि त्यसक्षेत्रमा अछुतो छुइनँ । आत्मिय भाइको ‘बागी स्त्रीको आत्मकथा’प्रति अगाध लगाव देखेर पुस्तक राम्ररी हेर्ने चाहना जाग्यो । धेरै दिनसम्म त शीर्षकलाई नै बुझ्न हम्मेहम्मे पर्दैछ । किनभने ‘बागी स्त्रीको आत्मकथा’ शीर्षकले कुन सन्दर्भलाई प्रतिनिधित्व गर्छ । त्यसको निर्कोल गर्नुका लागि मेरो आफ्नो काँचो मस्तिष्क नै काफी नहोला भनेर यताउता चाहार्न थालेँ । किनभने प्रिय भाइ अजय खड्काको तृष्णातुर प्रवाहले मभित्र जिज्ञासु ज्वाला भड्काइसकेको थियो । तीव्र जिज्ञासालाई सन्तुष्ट नबनाए अग्रदृष्टिमा केटरेट लाग्नसक्छ भन्ने बुझेको छु ।
‘बागी स्त्रीको आत्मकथा’ पढेर धेरैले प्रतिक्रिया लेख्नुभएको छ । सबै समीक्षा पढ्न सम्भव भएन र पनि केही लेखाइमाथि नजर लगाएँ । धेरैको समीक्षात्मक टिप्पणीबाट नियालेर हेर्दा ‘बागी स्त्रीको आत्मकथा’ले नाम अनुरूप स्वतन्त्र अडान लिएर पाठकीय चेतनामा ठाउँ ओगटेको भेटियो । स्रष्टाको बौद्धिक बागी हिँडाइमा साहित्यिक मिठास पनि सँगसँगै लक्ष्यतिर लम्केको भन्ने पाइयो । प्रिय भाइले ‘बागी स्त्रीको आत्मकथा’प्रति दर्शाएको व्याकुलता या गहनता बुझ्नुपर्छ भन्ने लाग्यो ।
खोतल्दै जाँदा श्रीमान् रामबहादुर जी सीजीको समीक्षात्मक टिप्पणी पढ्न पाएँ । जहाँ कृतिको सपक्षमा गहन समीक्षा पाएँ । सायद उहाँको मनोभावनालाई सृजनाले परमानन्द दिएको अनुभव लेखाइले बयान गरिरहेको थियो । जहाँ उत्पीडन, शोषण या आध्यात्म मार्फत पनि विशेष वर्गमाथि कुनै प्रभावकारीहरूले कालौंकालदेखि दमन चलाइरहेको भनिएको पाइयो । समाजका पछौटे वर्गमाथि उन्नत वर्गको विभिन्न खाले षड्यन्त्र चलिआएको र त्यसको विरुद्ध स्रष्टाले सबल प्रतिवादी धारा अविरल बोकेको पनि संज्ञान भयो । आदिकालदेखि नै नारीले स्वतन्त्र हिँडाइ हिँड्न नपाएको या विभिन्न बहानाले पाइलामा लगाम लगाइएको रीति थीति अझै चलिआएको जान्न पाइयो । समीक्षात्मक टिप्पणीमा स्रष्टाले प्रतिवादमा सबल भूमिका लिइआएकोमा उहाँ साह्रै सन्तुष्ट भएको भान भयो ।
त्यसपछि प्रख्यात बौद्धिक हस्ती सरस्वती प्रतीक्षाले छोटो क्याप्सनद्वारा गहिरो भावोक्ति ‘बागी स्त्रीको आत्मकथा’माथि लेखेको भेटेँ ।
सरस्वती प्रतीक्षा भन्नुहुन्छ – “एकातिर भयङ्कर क्रान्तिकारी पनि देखिनु पर्ने, अर्कोतिर संस्कारी कहलाउने लोभमा पुरातन डुङ्गामा टेक्दै आदर्श पनि छाट्न पर्ने । समकालीन महिला लेखनमा देखापरिरहेको यो खाले विरोधाभाषबाट सुमिनाका कविताहरू पूर्णत मुक्त छन् । उनका कविताहरुको वैचारिक स्पष्टता नै सबैभन्दा सबल पक्ष हो ।”
सरस्वती प्रतीक्षाको छोटो तर जिज्ञासा बढाउने केही वाक्यांशले झनै मनमस्तिष्कमा खलबली मच्यायो । किनभने सरस्वती प्रतीक्षाका साक्षात्कार र अभिव्यक्तिहरू अर्थबोधक र बेजोड हुन्छन् । उनको लेखाइमा साचोपना बाँचेको हुन्छ । सत्य स्वीकार्ने सत्साहस उनीमा छ र नै उनका लेखाइले विश्वास, भरोसा र भविष्य बोकेर हिँडेको भेटिन्छ ।
नेपाली मिडिया.कममा स्वयम् कवि सुमिनाको साक्षात्कार पढेँ । आफूले भोगेका, समाजमा देखिएका र नदेखिइकन घटेका अनेकौं घटना प्रवाहले ‘बागी स्त्रीको आत्मकथा’ जन्माएको लाग्यो । ‘बागी स्त्रीको आत्मकथा’की स्रष्टाको अभिप्राय स्वस्थ समाज निर्माण नै उदेश्य हो भन्ने लाग्यो । किनभने पठनप्रिय भाइ पनि त्यस्तै जुझारु प्रवृतिका योद्धा हुन । उनी आफू अप्ठ्यारोमा गुजारा गरे तापनि उनको समाजप्रतिको दायित्वबोध उपल्लो दर्जाको छ । जुन समाजमा छुवाछूत या दोहोरो व्यवहारिक नीति प्रायः नै छैन भन्दा अत्युक्ति नहोला ।
दार्जिलिङ डुवर्समा मानवीय मूल्यबोध उच्चभएको एउटा जिउँदो, भरभराउँदो समाज बाँचेको छ । बिहे पनि सगर्वले सबैसित सबैको चलेको भेटिन्छ । अर्को कुरा घरको कामधन्धा कसले गर्ने खाले प्रश्नको औचित्य दार्जिलिङ डुवर्समा छँदै छैन । पाककला होस्, सफाइकला होस्, बजारसमार, नानीलाई स्कूल लानेल्याउने किन नहोस्, सबैतिर दार्जिलिङ डुवर्सका पुरुषहरू उत्तिकै निपुण छन् । जो घरमा अघि पुग्यो, त्यो पुरुष होस् या नारी-पहिले पुग्नेले सबै काम सहर्ष गर्दछन् । घरको हरेक काम गर्नुमा विभेद नभएको भारतीय परिप्रेक्ष्यमा दार्जिलिङ डुवर्स नै अघिल्लो पङ्तिमा छ होला । जब कि मेघालय नारीप्रधान राज्य हो र पनि त्यहाँ पुरुषहरू दार्जिलिङ डुवर्ससरि घरेलु कामप्रति दायित्वशील भएको पाइदैन ।
हाम्रो घर गुवाहाटी, असममा हो । हाम्रोमा पाहुना बनेर आउने दार्जिलिङ डुवर्सका अतिथिहरू आफै पाकशाला पसेर विभिन्न परिकार बनाउनु हुन्छ । म लाजले भुतुक्क हुन्छु किनभने आफू परियो लाठसाहेब । यहाँतक कि आदरणीय सी के श्रेष्ठसरजस्तो महानहस्ती पनि पाककलामा निपुण हुनुहुन्छ र धेरै रेसिपी सिकाएर जानुभएको छ । सी के श्रेष्ठ सरको गुरुमा बाबू डम्बरसिंह गुरुङको नातिनी हुनुहुन्थ्यो । बागी स्त्रीको आत्मकथा पुस्तक हातपार्न मरिहत्ते गर्ने पठनप्रिय भाइ अजय खड्काको मिहिनेती बुहारी ज्योति तामाङ खड्का समाजप्रिय गोपाल योन्जनसरको छोरी हुन । प्रिय भाइ ज्ञानेन्द्र अर्यालको सुयोग्य बुहारी छेत्रीकी छोरी हुन। NBU को रिटायर्ड प्रोफेसर मोहन पी. दाहालको सहधर्मिनीले मोक्तान थरलाई प्रतिनिधित्व गर्नुहुन्छ । नामी लेखक अनमोल प्रसादज्यूको सहधर्मिनी बद्रीनारायण प्रधानसरको छोरी हुनुहुन्छ । प्यारो भाइ एवम् प्रख्यात नेपाली अङ्ग्रेजी कवि राजा पुनियानीको आदरणीय आमा लिम्बू धरानबाट हुनुहुन्छ । प्रख्यात समाचार विश्लेषक एवं साहित्यकार बबिता मादेन प्रतिष्ठित छेत्री घरानकी आदर्श बुहारी हुनुहुन्छ । यस्ता लाखौं उदाहरणहरू दार्जिलिङ डुवर्सको समाजमा अनुकरणीय अध्याय भएर उभिएको छन्, जसका अगाडि जातीय विभेद, घरेलु द्वन्द या समाज अस्वस्थ बनाउने षड्यन्त्रहरू धरासायी भएको पाइन्छ । राजनैतिक अध्याय छोडेर, त्यो पनि विस्तारै सही गोरेटोमा हिँड्ने छ भन्ने विश्वास अझै जिउँदो छ ।
डुवर्समा अनेकौं पुरस्कार वर्षेनी अलङ्करण गरिन्छ । त्यसमध्ये साहित्य विधाको उच्च पुरस्कार बद्रीनारायण प्रधान स्मृति पुरस्कार हो । साहित्यक्षेत्रमा अविरल योगदान दिएर पनि ओझेलमा परेका साहित्यिकलाई ज्यूरीले छनौट गर्छन् । बद्रीनारायण प्रधान स्मृति पुरस्कार प्राप्त गरेपछि साहित्य अकाडेमी पाउने पनि धेरै छन् । डुवर्स नेपाली साहित्य विकास समितिले वर्षेनी विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिने हस्तीहरूलाई पुरस्कृत गर्छन् । त्यहाँ पनि ओझेलमा परेका व्यक्तित्वको खोजीले प्राथमिकता पाउँछ। त्यस्तै डुवर्स नेपाली साहित्य सभाको पनि निरन्तरता रहेको छ । त्यस्तो उम्दा समाजलाई प्रतिनिधित्व गर्ने पठनप्रिय सर्जक भाइ अजय खड्का हुन । उनको उत्कृष्ट छनौटमा परेको पुस्तक ‘बागी स्त्रीको आत्मकथा’ राम्ररी पढ्नुबाहेक मसँग विकल्प नै कहाँ रह्यो र ?
‘बागी स्त्रीको आत्मकथा’ आवरण पृष्ठ कलामय दृष्टिकोणमा अति आकर्षक छ ।
“बागी स्त्रीको आत्मकथा “
शीर्षकको पङ्तिहरू क्रमशः सानोबाट ठूलो आकार छ, जुन बुद्धिदिप्त प्रस्तुतिले देख्नेबित्तिकै पाठकीय नजर आफूतिर तान्दछ । कलात्मक तैलचित्रमा महासङ्ग्रामको नेतृत्व लिँदै अघिबढेकी नारी प्रतिनिधिले जिज्ञासु चेतनालाई सोचमग्न बनाउन सफल भएकी छिन् । कविको नाममा दोहोरो आकर्षणबोध पाइन्छ । एक त झट्ट देख्दा सुम्निमा जस्तो लाग्छ, जसको ऐतिहासिक महत्त्व भिन्दैछ । अर्को सुमिना शब्द नै आफैंमा अलौकिक छ । सु=सुबाट सुन्दर बन्छ, त्यो त बौद्धिक या गुणात्मक सुन्दरता कविमाझ छ र त यत्तिको प्रशंसा बटुल्न सफल छन् । मिना= सुनसरि चमक भएको पिताम्बरीको लेखाइबाट नै पत्तो लाग्छ, गोल्डी कलमले लोहासरि कडा विद्रोह पस्कनु लरोतरो कुरा होइन । अर्कोतिर व्यक्तित्व या व्यवहारिक सौन्दर्य त दिघो समयसम्म सहकार्य या मित्रता निभाउँदा पत्तो लाग्ने विषयमा पर्छ र पनि लामो समय समाजका तितोमिठो अनुभवसँगै अघिबढनेहरू अव्वल दर्जामा पर्छन्, त्यसमा द्विमत छैन । सौन्दर्यात्मक अर्थबोध बोक्ने सुमिनाको बागीपना कस्तो होला भन्ने जिज्ञासा पाठकीय मनमा स्वत: भित्रिन्छ ।
कविको वर्जित भूगोल तोड्ने आह्वान भनेर अघिसारेको प्रस्तावनामा नै समग्रता छिचोल्नु सकिन्छ भन्दा अत्युक्ति नहोला । प्रस्तावना पढ्दा नै ज्यानभरि तेजिलो प्रवाह बग्न थाल्छ । आँखैअगाडि घटेका घटनाक्रम, जसलाई खास महत्त्व दिदैन । सबै एकातिरबाट झल्झलि चेतनामा उत्रिनु थाल्छन् । शारीरिक शोषण त छँदैछ, त्योभन्दा बढी मानसिक शोषणबाट छिट्टै मुक्त हुने आह्वानप्रति सहर्ष अन्तर्ह्रदयबाट सम्मान बाहिरियो । मोहलाग्दो लेखनशैलीमा विद्रोहले पनि सद्भाव पस्किँदै मनमस्तिष्कतिर गति दिन्छ । यति उच्चकोटीको सोचाइहरू समाजमाझ जनजनको चेतनामा कसरी भित्र्याउन भन्ने प्रश्नले अहिले घडी सताएको अवस्था मेरो छ। उत्कृष्ट लेखन, सामाजिक विद्रोह, परिवर्तनशील अग्रदृष्टिहरू यदी पुस्तक मार्फत एउटा सम्भ्रान्तवर्गमाझ नै सीमित रहेर सामाजिक न्यायको धरातल नै छुन सकेन भने लक्ष्यमा कसरी उपस्थित हुन्छौँ होला भन्ने औडाहा लागेको अवस्था छ ।
प्रत्येक घरको नारीचेतना कक्षमा प्रयोगवादी यथार्थ चिन्तन नपसेको अवस्था छ । पुरुषहरू पनि त्योभन्दा भिन्न छैनन् र पनि गुजारा बन्दोबस्त नगरे नहुने अवस्थाले गर्दा उनीहरूमा फुर्सद कम छ । जो फुर्सदमा छ कि त नशामा चुर छ कि त भोगविलासमा लीन छ । जहिलेसम्म सामाजिक व्यवस्था सञ्चालनको लागि स्वस्थ, सबल समाज निर्माणको व्याकरण लेखिदैन, तबसम्म जति नै भिन्दाभिन्दै प्रयास गरे तापनि सीमित रहनेछ । एकमुष्ठ प्रयास भन्नाले सबैले वैचारिक आन्दोलन गर्नुपर्छ भनेको होइन । प्रत्येक गृहमा मौलिक आत्मबोध जगाउने सामाजिक व्याकरण लेख्नु जरुरी छ । संसारको नै महान दृष्टिदाता नेपालमा नै छन्, आदरणीय ड. सन्दुक रुईत, उहाँले प्रकृति देख्ने आँखा खोलिदिनुभयो । यहाँनिर बलियो समाज उभ्याउने चेतनाको दृष्टि खोल्नुपर्ने चुनौती उभिएको छ ।
महाभारत र रामायण पनि साहित्य नै हो । जसबाट जे चाहिन्छ, त्यहीँ लिन सकिन्छ । वेदव्यास र बाल्मिकीजस्ता स्रष्टा अझै चेतनामा छन् र सदैव रहन्छन् । उनीहरू मान्छे नै थिए । अविरल साधनामा लीन रहनु उहाँहरूको उपलब्धिको कारक हो । उनीहरूलाई श्रद्धाले स्मरण गर्न जन्मदिन मनाउन पर्दैन । उनीहरूले लेखेर रूपान्तर गरेका पात्रहरूलाई देवतुल्य बनाएर मन्दिरमा स्थापित गर्ने पनि मान्छे नै हो नि त ! यहाँनिर प्रश्न उठ्छ, हजारौं वर्षअघि लेखिएको साहित्य कृतिले कोठाभित्र मात्र हैन, मनमन्दिरमा श्रद्धास्थान ओगटेका छन् भने वर्तमान हाम्रो लेखाइ किन विफल छ, यो प्रश्न एकदमै नाजायज छैन । आजको लेखाइले हजार वर्ष ताकेको हुँदैन र नै दोबाटोमा लड्खडाउँछ भनेर खोतल्दा कसले के भेट्नुहुन्छ जान्दिनँ तर मैले भने निरपेक्षताको मात्रा नभएको महसुस गर्छु ।
सबैभन्दा ठूलो समस्या व्यक्ति सत्ताको स्वतन्त्र स्वरूपको सही प्रयोग नहुनु हो । त्यसको लागि कसैलाई दोष्याएर, गुनासो पोखेर त हुँदै हुँदैन । जसले दायित्वको मुल्य बुझ्दछ, उसलाई कुनै बैशाखीको खाँचो पर्दैन । जो असमर्थ छ, उसका हजारौं बहाना, गुनासो, दोषारोप सम्पत्ति हुन्छन् । व्यक्ति सत्ताको सद्व्यवहारका लागि फेदैदेखि काम गर्न जरुरी छ । भिन्न भिन्न प्रकारका जीवनशैली रहे तापनि उत्कृष्ट समाज दर्शनको नीव बहुत जरुरी छ । त्यसको लागि विश्व ब्रमाण्ड चहार्नु पर्दैन । बरु विश्व ब्रमाण्डका विभिन्न सूत्र भित्र्याएर परिवेश धुमिल बनेको चै पक्का हो । मलाई पनि गोडामी पटक्कै मन पर्दैन तर जानीजानी आफ्नो मौलिकता छोड्नेहरूलाई देखेर दु:ख लाग्छ र मनमा सद्भाव जाग्दैन । त्यो आध्यात्मिक होस्, वैचारिक होस् या सामाजिक किन नहोस् । प्रकृतिले दिल खोलेर वरदान दिएको गोर्खालीलाई कसैसँग केही उधारो लिनुपर्ने छैन । चाहिएको यति मात्र छ कि समाज निर्माणको बलिष्ठ नीव खडा गर्ने मौलिक व्याकरण लेखिनु छ र व्यवहारमा ल्याउनु छ ।
“मैले त साईबाबाको खुट्टा नै छुएकी । मलाई त ऋतुम्भराले आशिर्वाद दिईन् ।” सिलगढीमा डिसेम्बर ३१ र जनवरी १ मा आउनुहोस् त ! सतपालजी महाराज भन्नेको दर्शन गर्दै सर्वस्व चढाउन आँखा भएर पनि अन्धो बनेका लाखौंलाख भीडका अंशियार भेटिन्छन् । त्यीमध्ये अधिकसङ्ख्यक नेपालबाट नै हुन्छन् । कति छन् कति, यस्ता मान्छे रूपी ईश्वर र तिनलाई समृद्ध पार्ने प्रायःजसो नेपालका नै अनुयायी छन् । ठूलो चिन्ता त्यहाँ छ, उल्लेखित खाले अन्धा अनुयायी डेढ दुई करोड होलान् । जसलाई व्यक्ति स्वाधीनताको न महत्त्व छ, न त स्वतन्त्र चिन्तनको छ कुनै वास्ता नै । यो वर्गको जबसम्म चेतनामा मौलिकता भित्र्याउन सकिन्न तबसम्म समाज उभो लाग्छजस्तो लाग्दैन ।
कोही किन बागी बन्नपुग्छ ? एउटा शिशु भोकमा रुन्छ कि चोट लागेर, त्यो बुझ्ने एकमात्र जन्मदात्री आमा हुन । त्यहाँ बाउलाई सरापेर केही हुनेवाला छैन । कलिलो उमेरमा नै युवाहरू बागी बनिन्छन्, उनीहरूको विशेष विद्रोह एकै उमेरकाले बुझ्दछन् । त्यतिबेला आमाबुबाले अनुमान मात्रले विद्रोह जोख्न सक्छन्, त्यो संवेदनशील अवस्थामा धेरै अभिभावक दोधारे स्थितिबाट गुज्रिनुपर्छ । त्यतिखेर विषयलाई मनोवैज्ञानिक तरीकाले निपटारा गर्नुपर्छ । एउटा परिपक्व समूह जब बागी बनिन्छ भने त्यो जटिल अवस्थाको सङ्केत हो ?
‘बागी स्त्रीको आत्मकथा’ कविता मात्र रहेन । यसले समाजिक विद्रोहलाई प्रतिनिधित्व गर्दछ भन्ने जानीजानी केवल प्रशंसा, पुरस्कार र उत्साह पस्किदा निवारण हुँदै होइन । हाम्रो समाजमा लागेको धमिरो कोट्याउने प्रयास मात्र होइन, यो सामाजिक धरातल सफा पार्ने आह्वान हो । स्रष्टाको प्रशंसा या सृष्टिको विश्लेषण मात्र मागेको छैन ‘बागी स्त्रीको आत्मकथा’ले ?
बागी स्त्रीको आत्मकथाको ज्वालालाई हामीले निभ्नु दिनु हुँदैन । यसको प्रवल धारले समाजका कुरीति, कुप्रथा, कुसंस्कार, विसङ्गति, विशृङ्खलता सबै मास्नुपर्छ ।
“बदलिइसक्यो
बालापनमै देखाएको राजकुमारी बन्ने सपना
फेरिइसक्यो
अप्सराहरू जस्तो महल सजाउने उदेश्य
अब त बदलिइसके
उसका आदर्श र गुरुहरू
स्वप्न यात्रा र गन्तव्यहरू
भत्किइसके निजी जिन्दगीका स्वार्थहरू”
समयसित सबै बदलिनु स्वाभाविक हो । सपना, उदेश्य, आदर्श, गुरु, स्वार्थ समय सँगसँगै फेरिन्छन् तर यात्रा सक्किदैन र टुङ्गिदैन गन्तव्य पनि । उमेरसँगसँगै यात्राहरू स्वप्निल हुँदैनन्, ती बनिन्छन् यथार्थका माइलखुट्टी । गन्तव्यमा पुग्नलाई त बागीपनाले आफ्नै चोला किन छान्यो ? किनभने उद्भव विचारले अहिले पुस्तकमा विद्रोह गर्दैछ भने भोलि जनजनमा परिवर्तन लहर फैलाउने दायित्व पनि स्रष्टालाई नै दिएको हुन्छ । किनभने जसले जन्मायो, उसले जति राम्ररी हुर्काउने विधि संसारमा अरूसँग हुँदैन । विद्रोही विचारलाई तरल बनाएर जनमानसमा नपुर्याएसम्म समाजले काँचुली फेर्न गाह्रो पर्छ । राजकुमारी बन्ने सपनामा दायित्व हुँदैन । राजकुमारी जब परिपक्व रानी बनिन्छिन्, तब उनी न्याय सराबरी बाँड्ने क्षमता राख्दछिन् । विचारले जब सामूहिकता बोक्दछ, त्यहाँ निजी भन्ने केही रहँदैन ।
“खै के देख्छन् देख्नेहरू
छुट्ट्याउँछन् कि छुट्ट्याउँदैनन्
रुप र सारबीचको तात्विक भिन्नता
देखेभन्दा पृथक
भोगेभन्दा जटिल
झनै भयानक, अकल्पनीय विद्रोही हुँदोरहेछ
एक बागी स्त्रीको आत्मकथा ।”
आँखाको देखाइमा सबै कहाँ देखिन्छ र ? आफ्नो भोगाइ र अर्काको भोगाइमाझको मात्रा जोख्ने त ल्याकत मान्छेलाई ईश्वरले दिएनन् । त्यसैले त संसारमा आफ्नो भोगाइ नै कठिन लाग्छ, ठूलो लाग्छ र लाग्छ सबैभन्दा बढी । तरैपनि निरपेक्ष चस्माले जसले हेर्नसक्छ, उसले अर्काको पीडा अनुभव गर्नसक्छ । चेतनाको दृष्टिभन्दा तेजिलो र दूरदर्शी के छ संसारमा ? वैचारिक दृष्टिकोणभन्दा सुन्दर अनुभूति के हुनसक्ला ? थोरैले त्यसको महत्त्व बुझ्दछन् र जसले बुझ्दछन् उनीहरू नै अग्रद्रष्टा हुन । ‘बागी स्त्रीको आत्मकथा’लाई म भयानक मान्दिनँ किनभने मैले यहाँ अलग्गै संशोधनका गोरेटो भेटेँ, भेटेँ मैले ज्वालामुखीबाट निस्केको लाभासरह बहुमूल्य सामग्रीहरू । जसबाट बागी नबनिने सूत्र जन्मिनु सक्छ, सह्रदयी मनोभावना जगाउने सूत्र जाग्नसक्छ, बिसम्वाद निभाउने मन्त्रहरू उच्चारित हुन सक्छन्, वैचारिक सयपत्री फुल्न सक्छन्, दायित्वशील बन्ने निरपेक्ष अध्यायहरू प्रष्ट देखिनु सक्छन् ।
‘बागी स्त्रीको आत्मकथा’मा समाज रोएको छ । समाज भन्ने शब्द सबैको मुखमा त हुन्छ तर त्यसको शब्दार्थ प्रयोगमा नहुनु आजको सबैभन्दा दु:खदायक यथार्थ हो । एउटा घर जसरी विभिन्न सदस्यको बसेरा बन्छ, अडेसो बन्छ, आधार बन्छ तर त्यो घरको पिरमर्का कतिजनाले लिन्छौँ, सोच्नुहोस् त ! हो नि, तपाईलाई सदैव सहारा दिने घरप्रति कति दायित्वशील हुनुहन्छ ! त्यहीँ नै आफूलाई चिन्ने सबैभन्दा साचो ऐना हो । ठिक त्यसरी नै समाज पनि हो । समाजको परिधि अलिक ठूलो हुन्छ । जसलाई स्वच्छ, सुन्दर र आदर्शमय बनाउन सबैभन्दा ठूलो मन्त्र मेलमिलाप नै हो । मेलमिलाप कही कतै उत्कृष्टता उम्रिदैन न त फुल्छ सयपत्री नै ।
मेलमिलाप बाहेक प्रेम कही जन्मिन्छ त ?
असम्भव, अपत्यारिलो र अप्राकृतिक होइन त प्रेम मेलमिलाप बाहेक पलाउँछ भन्नु । ‘बागी स्त्रीको आत्मकथा’मा पछिल्तिर प्रेम शीर्षकको एउटा कविता पनि छ । जसले समाजबाट कुरीति, कुसंस्कार, कुव्यवस्था हटाउन ब्रमास्त्रको काम गर्नसक्छ । डेढ दुई करोडको चेतनाशील अन्धोपना हटाउन प्रेम बाहेक कहिल्यै सम्भव नै हुँदैन । प्रेमको शक्ति सबैले बुझ्न नसके पनि प्रेममा नै अडिएको छ संसार । विद्रोह, प्रतिवाद, आन्दोलनहरू त रुघाखोकीजस्तै सिजनल आभिर्भाव मात्र हुन । मूलभूत कुरा भनेको नै प्रेम हो । नरनारीमाझ हुने प्राकृतिक खाँचोलाई प्रेम भनेर सोच्नेले यस्ता कुरा बुझ्न गाह्रो पर्छ । प्रकृतिसित प्रेम, प्राणीहरूसँग प्रेम, उद्भिदहरूसँग प्रेम र विवेकशील भएको नाताले समाजसँग प्रेम रहनु प्राथमिकता हो ।
“तिम्रो चाहनाको खातिर
म आफूलाई समर्पण गर्न तैयार भएँ भने
तिम्रो परिस्थितिलाई मध्येनजर गर्दै
म तिमीलाई त्याग गर्ने भएँ भने
सम्झनू
त्यो प्रेम हो ।”
यही चाहिएको थियो-‘बागी स्त्रीको आत्मकथा’ अब उसो जन्मिनु नपरोस् भन्ने अभिप्रायलाई । स्वार्थ या मोहबाट बाहिरिएर जब तपाईं असल प्रेममा छिर्नु हुन्छ, कल्पना नगरेको अलौकिक अनुभूतिले तपाईंलाई डोह्राउँछ । जसको परिधिभित्र सेवाभावना मात्र हुन्छ, त्यो स्वर्णिम क्षणलाई शक्ति बनाएर समाजमा पस्नुहोस् । विभिन्न बेथिति, कुप्रथा, विभेद, कुरीति, कुसंस्कार, शोषण, अत्याचार, उत्पीडन समाजबाट खत्तम पार्ने असरदार सूत्र लिएर काम गर्न सक्नुहुन्छ । मैले पनि एकजना परममित्रलाई त्यसको व्याकरण लेखिदिने आग्रह पस्केको छु, सहयोगी बनेर दिशानिर्देश स्वयम् गर्नेछु । यही अन्तिम र महत्त्वपूर्ण अभिलाषा लिएर अबको जीवन अगाडि बढाउने कठिन उदेश्य लिएको छु । यस अभियानलाई चाहिने थप उर्जा ‘बागी स्त्रीको आत्मकथा’ले बेजोड पाराले दिएको छ ।