सेन्ट्रल डुवर्स चियाबारीमा पिउने पानीको हाहाकार

सेन्ट्रल डुवर्स चियाबारीमा पिउने पानीको हाहाकार, प्रबन्धनपक्षले लगायो गुहार


कालचिनी : मानसूनको आरम्भसँगै अविरल वर्षाले हाल भोटाङबाट बगेर आउने बासरा, पाना, तोर्षा नदीमा उफान देखिन थालेको छ।
पासाखा भोटाङको काखमा अवस्थित सेन्ट्रल डुवर्स चियाबारीको प्रायः ७० हेक्टेयर भन्दा अधिक चियापत्ती सेक्सनहरू बासरा नदीको बगरमा परिणत भईसकेको सेन्ट्रल डुवर्स चियाबारीको प्रबन्धनपक्ष बताउँछन्।
बासरा नदीको भङ्गालो बासरा डिभिजन र यहाँको सेक्सनमा पसेकोले सेक्सन बर्बादीसितै श्रमिकहरूको घरबारी पनि बाढको चपेटमा आइरहेको कमानको सिनियर म्यानेजर सान्तानु वसुले अवगत गराएका छन्।
बासरा र पाना नदी पार गर्न नसक्नाले हाल कमानमा चाहिने रासन, औषधि केही ल्याउन गाह्रो परिरहेको र सबैभन्दा ठूलो समस्या पिउने पानीको परेको सिनियर म्यानेजर सान्तानु वसुले थप जनाएका छन्।
सेन्ट्रल डुवर्स चियाबारीको प्रायः २५ हजार बासिन्दाले पिउने पानीको एकमात्र श्रोत पासाखा भोटाङ सीमान्तमा अवस्थित सिङ्गी झोडाको पानी पम्प बाढको पानीले क्षतिग्रस्त बनाएकोले हाल पिउने पानीको सर्वराह बन्द भएको पनि बताइएको छ।
शनिबार कमानको सिनियर म्यानेजर सान्तानु वसुको निवेदनमा सिँचाई विभागको अधिकारीहरूले नदीको बाँधको अवस्था निरीक्षण गरेर गएको पनि बताइएको छ।


सेन्ट्रल डुवर्स चियाकमानले भोग्दै आइरहेको समस्याबारे सिनियर म्यानेजर सान्तानु वसुले कमानको यो समस्या वर्षेनी हो र कमानको अवस्था यसै पनि ठीक नभएको त्यसमाथि चियापत्ती उत्पादन हुने अधिकांश सेक्सनहरू यसरी बासरा, पाना र कालीझोडा नदीले क्षय गर्दै लगेकोले चियापत्ती उत्पादनको अनुपात ह्वास भएको र पिउने पानीको ठूलो श्रोत सिङ्गीझोडाको पानी पम्प बासरा नदीले क्षतिग्रस्त बनेकोले रहल कमानको अन्य दुईवटा पानी पम्पमा यत्रो २५ हजार जनसंख्या रहेको सेन्ट्रल डुवर्स चियाबारीका जनतालाई पिउने पानीको सर्वराह गर्न असमर्थ रहेको बताएका छन्।
आफूले कमानको सिनियर म्यानेजरको भार सम्हालेपछि नै जिल्ला औ सम्बन्धित प्रशासन समक्ष कमानको पिउने पानी र नदीमा सुरक्षा बाँधको विषय राख्दै आएको तर पनि समयमा केही काम नहुँदा अहिले वर्षाकालमा कमानले ठूलो क्षति थेग्न पर्ने स्थितिको सृजना भएको पनि सिनियर म्यानेजर सान्तानु वसुले जनाएका छन्।
तिनले प्रशासनले हरसम्भव मदत गर्नु पर्ने गुहार लगाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment