अलिपुरद्वारमा तृणमूल महासचिव अभिषेक ब्यानर्जीको भव्य रोड सो

कालचिनीः चुनाउ प्रचारको लगभग अन्तिम दिन मङ्गलवार अपरान्ह समय तृणमूल सांसद तथा सर्वभारतीय महासचिव अभिषेक ब्यानर्जीको भव्य रोड सो अलिपुरद्वारमा सम्पन्न भयो। कोचबिहारमा चुनावी प्रचार सकेर हेलिकप्टरमा अलिपुरद्वार परेड मैदानमा ओर्लिएको तृणमूल महासचिव अभिषेक ब्यानर्जीलाई तृणमूल नेता अनि समर्थकहरूले भव्य स्वागत जनाएको थियो भने कलेज हल्टदेखि जनगर्जनको वाहनमा चढेर अभिषेक ब्यानर्जीले उपस्थित जनसमूहलाई हात हल्लाएर अभिवादन प्रकट गरेको थियो भने सो क्रममा महासचिव अभिषेक ब्यानर्जीसँग तृणमूल अलिपुरद्वार लोकसभा केन्द्रको प्रार्थी प्रकास चीक बडाइक लगायत तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान गंगाप्रसाद शर्मा, मृदुल गोस्वामी, अलिपुरद्वार विधायक सुमन काञ्जीलाल पनि साथमा रहेको थियो।
अलिपुरद्वार सहरको मूल सडक बक्सा फीडर रोडमा तृणमूल समर्थकहरूको लहर ओर्लिएको थियो भने अभिषेक ब्यानर्जीको रोड सो ले सम्पूर्ण वाहनहरूको जाम लागेको थियो। रोड सो अलिपुरद्वार चौपतिमा पुगेपछि जनगर्जनको वाहनबाटै तृणमूल महासचिव अभिषेक ब्यानर्जीले भाजपाले फेरि अलिपुरद्वारवासीलाई मुर्ख बनाउन खोजेको सम्बोधित गर्दै रक्सी उही केवल बोतलको लेभल मात्र परिवर्तित भएको बताए।


तिनले पहिला जोन बारला नामको लेभल थियो त्यसले केही काम त गरेन अहिले फेरि मनोज तिग्गा नामको लेभल टाँसेर सित्तैमा भोट हत्याउने कोशिश भाजपाले गरेको बताए। अलिपुरद्वार जिल्लाको ५ वटा विधायक साथै लोकसभा सांसद समेत जितेका भाजपाले एक पैसाको उन्नयन काम नगरेको बरु उल्टा सयदिने कामको वेतन अडकाउने, आवास योजना अडकाउने र ग्यासको, पेट्रोल डीजल र किरोसीनको मूल्य डबल गराएको कटाक्ष हाने। ५ वर्षसम्म सांसद केन्द्रिय मन्त्री रहेको जोन बारलाले अलिपुरद्वारको जनताको लागि एक पैसाको काम नगरेको फेरि अब त्यसै फोकटमा सांसद बनाउन मनोज तिग्गालाई उभ्याएको बताउँदै अब अलिपुरद्वारवासीले चेत्ने समय आएको र भाजपालाई यसको जवाफ यहाँको जनताले दिने आह्वान गरे।

तृणमूल महासचिव अभिषेक ब्यानर्जीले गोर्खा ११ जनजाति स्टेटसमाथि बोल्दै जुन प्रधानमन्त्रीले मदारीहाटमा आएर यसको समाधान गर्ने वाचा गरेको थियो त्यो खोई कहाँ पुरा गऱ्यो भन्दै ढाँटनुको पनि सीमा हुन्छ तर तृणमूल सरकारले २०१४ सालमा मनमोहन सिंह प्रधानमन्त्री हुने बेला ११ गोर्खा जातिको सिफारिश पठाएको र पुनः २०१८ सालमा ट्राइबल मन्त्री जोयल उराँवसमक्ष राज्यको मन्त्रीसभाले सिफारिस पठाएको दाबी गरे। तर गोर्खा दाजु भाइहरूलाई आजसम्म यिनीहरूले अन्धकारमा राखेको र भोट लिएर फेरि चुपचाप बस्ने युक्ति खोजी निकालेको तीव्र आलोचना गरे।

भाजपाले केवल बंगाल र बंगालको संस्कृति, जाति र यहाँको परम्परालाई होच्याउने काम गरेको बालुरघाटलाई बेलुरघाट भनेको र सोमबार मात्र भाजपाको एकजना नेतृले कोचबिहारको जनसभामा लक्ष्मी भण्डार सरकार गठन भएको ३ महीनाभित्र बन्द गर्ने भनिएको रेकर्डिङ पनि सुनाउँदै यस्तो जनता विरोधी पार्टीलाई के फेरि जिताउने प्रश्न पनि तृणमूल महासचिव अभिषेक ब्यानर्जीले गरेका छन्।

याे पनि हेर्नुस्

Leave a comment