पाेस्टर र लात भाग-१२

प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – ११

प्रदीप गुरूङ
प्रदीप गुरूङ

१११. रक्सी-माफिया

अर्को खुद्रे माफिया।
रक्सी-माफिया।
उसले कराएरै घोषणा गर्यो – ‘हामीले यहाँ उत्पादन गरेको रक्सी राष्ट्रीय स्तरको कम्पनीले बनाएको रक्सीभन्दा कम छैन ।’
पुलिससँग उसको हेमखेम।
नेतासँग उस्तै साँठगाँठ ।
घाम डुबेपछि रक्सी खोज्ने दुनियाँदारीमा उसको पकड गजबकै थियो। रक्सीको गुणस्तर चाख्ने विशेषज्ञ स्वयं थियो। परीक्षण प्रक्रिया बिहानदेखि चल्थ्यो ।
रक्सीको लत्ले उसलाई पनि पुर्याइ रह्यो त्यहाँ।
तर अस्थायी नोकरीको कमाइले पछि उसलाई रक्सी खान पुगेन । त्यो अभावग्रस्तता उसको निम्ति यस अर्थमा वरदान भई दियो कि उसले एक वर्षपछि सुन्यो – रक्सी माफियाको असमायिक मृत्यु। मृत्युको कारण लिभर ब्रस्ट !

११२. आदिम-गाउँ

ठाउँ मात्र थियो र ठाउँमा गाउँ थिएन। कति शताब्दी पछि उसले फेरि त्यही ठाउँमा जन्म ग्रहण गरेको थियो। तर ठाउँसँग जन्मकुण्डलीको लगन मिलेको भन्ने मान्यताको कल्पना गर्ने युग पनि थिएन। तर यस स्थानमा पुनर्जन्म पाएपछि कम्प्यूटर सञ्चालित उसको रोबोट पद्धतीय मस्तिष्कमा कति शताब्दी पूर्वको धुलो, जङ्गल, माटो र गोबर, गोरेटोको आदिम गाउँ गन्धयुक्त युगमा उसलाई फेरि धकेल्यो ।

पाेस्टर रलात
पाेस्टर र लात

अहिले गाउँ थियो पराले झुप्रोमा हाँसिरहेको।

गाउँ गोरेटोमा हिँडि रहेको, गाउँ खले गह्रामा दाइँ गरिरहेको, हरियो पाखामा बादलू छिमलसँग हातेमालो गरिरहेको। अन्ततः गाउँ सद्दे गाउँ भइरहेको। गाउँ पाएर ऊ रमायो। रमाएर उन्मुक्त हाँस्न थाल्यो।

तर उसको हाँसोको कम्पन-घनत्व बढ्दै गएपछि अचानक सञ्चालित भयो एउटा रोबोट। त्यो आएर थिच्यो उसको हेलमेटमाथिको बटन।

गाउँ गायब भयो कति शताब्दीसँगै ।

विद्युतीय तरङ्गहरू एकैसाथ सञ्चालित रोबोट हाँस्यो। नकारात्मक विद्युतीय तरङ्गजडानमा रून थाल्यो ऊ। आदिम गाउँ ह्याङ ओभर पीडित सम्झी रोबोटले उसलाई देखायो स्क्रीनमा नयाँ गाउँ। तर गाउँ सुपर सिन्थेटिक गाउँ। जङ्गल पाखा हरियो सिन्थेटिक । झरना, बादल विद्युतीय सृजनामा बहिरहेको, उडिरहेको। पाँच पूर्खा अघिको पूर्खा-प्रेत आएर बोल्यो – ‘यो पाखामा हामी ऐसेलु खान्थ्यौं। निङ्‌गुरो, ज्यामुना र कटुस टिप्थ्यौ।’

रोबोट रिसायो र अर्को विद्युत सञ्चार प्रणालीको बटन थिच्न थाल्यो। पूर्खा-प्रेत धुँवामा परिणत भए। उसले आदिम गाउँको प्रारूप हेर्ने इच्छा प्रकट गर्दा विद्युतमार्फत उसको मस्तिष्कीय चाहना रोबोटमा साभार भयो। एकाएक आदिम गाउँ वायु तरङ्गित पर्दामा देखा पर्यो। उसलाई फेरि आदिम गाउँको माया लागेर आयो। पर्दामा गाउँ उसलाई देखेर रून लाग्यो। गाउँसँगै रूँदै उसले वर्तमान शताब्दीको अङ्क निर्धारण गर्न खोज्यो।

वायु तरङ्गित विद्युतीय पर्दामा देखियो – ३००२ खीष्टाब्द !

११३. सीमाङ्कित क्षेत्र

सीमाङ्कित क्षेत्र।

क्षेत्रभित्र साँढ।

साँढले आफ्नो बिधानअनुसार डुङ्ग्रिएर करायो -‘स्थानीयता हाम्रो मुद्दा हो। बाहिरकाहरूले हाम्रो रोटी खोस्न पाउँदैन ।’

स्थानीय रोटी पाकिरह्यो। साँढ सीमाङ्कित क्षेत्र नाघेर निस्कियो। बाहिरी रेखाले एकाएक साँढलाई बिरालोमा परिणत पार्यो। बिरालो करायो – म्याऊँ म्याऊँ…!

तर यो आवाज उसलाई अनौठो लाग्यो। बिरालोलाई उसले मुसार्यो। बाहिर पनि माया पाइँदो रहेछ सम्झेर बिरालो उसको खुट्टामै लुटुपुटु गर्न लाग्यो। साँढ हुँदा त कति चोटि यसले उसलाई हान्न खोजेको थियो। आफ्नो योग्यता प्रमाणित गर्न निस्केको साँढ बिरालोको असफलतामा जाँकियो। असफल बिरालो असफल, अचल। जहाँ थियो त्यहाँ नै रह्यो।

सीमाङ्कित क्षेत्रभित्र रोटी पाक्दै थियो फेरि अर्कै। रोटी खान अन्य साँढहरू फेरि जुझ्ने तरखरमा थिए। एउटा बाँदर आयो न्यायाधिशस्वरूप – हातमा तराजु लिएर। रोटी तराजुमा सन्तुलित भएपछि खाने प्रतीक्षामा साँढहरू डुड्ङ्ग्रिरहे। असन्तुलित प्रयोगमा बाँदरले रोटी खाएको खाएकै भयो। प्रतिक्रियाहीन साँढहरू ।

सन्तुलनको अपेक्षामा साँढहरू निदाए। तराजुसँगै बाँदर पलायन भयो। ब्यूँझेर बाँदरको खोजीमा साँढहरू सीमाङ्कित क्षेत्र नाघेर जान खोजे। तर उसको खुट्टामा लुटुपुटु गरिरहेको बिरालोले साँढहरूलाई सतर्क पार्यो – ‘खबरदार! सीमाङ्कित क्षेत्र नाघेर आउने कोशिश नगर्नू। नत्र मेरै हालत होला।’

११४. आइवरी टावर

अहो आइवरी टावरको स्वर्णीम क्षण !

ऊ त्यहाँ।

त्यहाँ मतलब – आइवरी टावरमा।

सम्बृद्धिको शिखर चुमेर उसको पाइला

संसार होइन, स्वर्ग टेकेको।

झोपडीको मुटु-मयल धुलो नटेकिएको सुकोमल भएर आफैलाई सोध्यो- ‘तँ कहाँ छस्?’

आफैले आफैलाई उत्तर दियो-

‘तँ दोस्रो स्वर्गमा छस् ।’

‘जीवितावस्थाको स्वर्ग के हो?’

प्रश्न-ऊदेखि ऊसम्म !

फेरि उत्तर,

ऊदेखि ऊसम्मै।

‘अहो यही आइवरी टावर !’

मुनि नर्क टेकिएको

नर्क कस्तो होला ए मनुवा ?

कसैले उसलाई सोध्यो ।

र उसले तल हेर्यो – आइवरी टावरमुनि।

दोस्रो नर्क सुतेर, भोक भोक

नग्न, नग्नता खापिएर मानिस

रोग रोगमाथि सुतेर मानिस युगौदेखि ब्युँझिएकै छैन ।

‘तल प्रदुषण छ हजुर !

यसर्थ, बोतलबन्द शुद्ध हावा उपलब्ध छ हजुरलाई।’

आइवरी प्रस्तुति ।

रूमानी मखमली सपनामा ऊ हिँडेको हिँडेकै गर्यो।

XXX

‘छिटो उठ्नु नि, ज्वरोले नानी सुतेकै छैन ।’

स्वास्नीले वासी विपना बोली।

पापी सपना। थुक्क !

उठ्यो।

११५. अस्वस्थ्यता

मध्य रातमा आफन्त रोगीलाई सिकिस्त अवस्थामा लिएर ऊ अस्पताल पुग्यो। तर अस्पताल रातको शून्यतालाई छिया छिया पारेर रुँदै थियो। अस्पताल रोएको घटनालाई पनि उसले संसारको महत्त्वपूर्ण घटना मान्यो। रोएको कारण उसले सोध्यो। रोएरै अस्पतालले पनि उत्तर दियो – ‘म आफै रोगग्रस्त छु। मेरो उपचारका लागि कोही अघि आउँदैनन् ।’

‘पर्ख, म तिम्रो उपचारको लागि उपाय निकाल्छु।’

यति भनेर ऊ आफन्त रोगीलाई त्यही अवस्थामा छाडी अन्धाकारमा निस्कियो।

सोझै ऊ सम्बन्धित नेताको भव्य भवनमा पुग्यो। दिनभरि झुटो भाषण दिएर निदाएका नेता रातमा पनि धताएरै भाषण दिइरहेका थिए। उपायहीन ऊ फेरि आयो।

त्यतिञ्जेलसम्म आफन्त रोगीको मृत्यु भइसकेको थियो।

११६. दुरूपयोग

सधैँको अभावग्रस्ततामा जीवन त्यसै सामान्य भएको बेला अचानक एक दिन उसको खल्तीभरि केही बढी रुपियाँ पर्दा ऊ एकाएक असामान्य बन्यो। यसर्थ, रुपियाँको वैकल्पिक प्रयोगबारे उसले सोच्यो।

सबैभन्दा सजिलो उपाय सम्झेर उसले बाटामा उभिरहेको भिखारीलाई सय रुपियाँको नोट दियो।

भिखारी – ‘रुपियाँको यसरी दुरुपयोग गर्नु हुन्छ?’

ऊ – ‘तिमीले यसलाई सदुपयोग गरे त भइ हाल्यो नि।’

भिखारी – ‘एक छाक भात देऊ। त्यो उत्तम। तर मलाई तिम्रो रुपियाँ स्वीकार छैन।’

ऊ – ‘किन?’

भिखारी – ‘तिमीले जस्तो पैसाको दुरुपयोग गर्दा आज म भिखारी छु।’

ऊ सदुपयोगबारे गम्भीर बन्न थाल्यो।

११७. भट्टी – पसल

ऊ पस्यो भट्टी पसलमा ।

समाज समाज जस्तो भट्टी पसल अथवा भट्टी पसल जस्तो जस्तो समाज। तल् तल्को रग् रगी त्यहाँ। पिउनेहरू आ-आफ्ना पेवा तल् तल् पालेर बसेका। सङ्क्रमण अनि तल् तल् ।

‘हाम्रो सामाजिकता बिथोलिँदा म प्युउँछु ।’

एउटा करायो।

‘हाम्रो राजनैतिक टुङ्गो बेटुङ्गो हुँदा पिएको ।’

अर्कोले त टेबलै ठोक्यो ।

‘मेरी स्वास्नी हिजै पोइल गई। पोइल पीडितहरूको पक्षमा म पिउन आए‌को ।’

हिर्दोकले स्वाट्टै पार्यो।

‘बाहिर माटो-मुद्दाको लागि बन्द छ। रक्सीले अदृश्य साङ्लो खोल्न आएको ।’ बन्द सहनै नसक्नेले पनि स्वाट्टै पार्यो।

अनि रक्सीले बूइँ चढ्‌यो सबैमाथि। चूर भएर बाहिर निस्कँदा सबैको समूहबाट बाटो पलायन भयो। रातलाई दिन सम्झेर हिँडेको भ्रम हौसियो। रक्सीको नकरात्मक उर्जामा तिनीहरू एकार्कालाई दोषारोपण गर्न लागे। बाटो निर्गमनको निहुँमा ती जुझिरहे। समाज पूर्णतः भट्टी पसल बन्न थाल्यो ।

११८. अधिकारको खोजी

‘स्वतन्त्रता दिवस समारोह’ – को भीडभित्र पसेर उसले मुट्ठी हावामा देखिने गरी उज्यायो र कराउन थाल्यो – ‘स्वतन्त्रता होइन, तिम्रो अधिकार खोई ए हुतिहारा सन्तान? कहाँ छ तिम्रो अधिकार?’

अधिकार मेनियामा ऊ। उसको अवस्था यतिखेर एकजना बिक्षिप्त व्यक्तिको भन्दा कम थिएन। असामान्य ठानियो ऊ भीडभित्र। एकजना कवि जस्ता सम्बेदनशील व्यक्ति आएर उसको कानमा भन्यो – ‘यहाँ होइन, अधिकार खोज्नु संविधानभित्र पस्नु पर्छ।’

संविधान खोज्न ऊ निस्कियो। बाटामा एक दुईपटक त संविधानको नाम काडेर करायो पनि। बटुवाहरूले संविधानलाई व्यक्तिपरक ठाने। अन्तमा ऊ निर्जन स्थान आई पुगेपछि फेरि संविधानलाई पुकारेर करायो। उसको लाचार अवस्था देख्दा संविधान नामको बस्तुले टाढैबाट करायो – ‘तिमीलाई के चाहियो?’

‘अधिकार चाहियो अधिकार। यो देशमा धिक्कार होइन अधिकार चाहियो।’ ऊ।

‘मभित्र समाहित बन। तिमी अधिकार पाउने छौ।’ संविधान। ऊ दौडियो। भेटिएको एउटा जङ्गल थियो अक्षरै अक्षरपूर्ण। गठित उप-वाक्य, पूर्ण वाक्य, अर्ध-बिराम, पूर्ण-बिराम व्याकरणका सन्तानहरू बिस्मयादिवोधक बनिरहे ऊतिर। अक्षरको जङ्गल संविधान। जङ्गल केलाउन थाल्यो ऊ। तर अक्षरहरूको घनत्वमा अधिकार नामको बस्तु खोज्दा खोज्दा ऊ थाक्दै गयो। एउटै उद्देश्यमा उद्दत रात दिन लाग्दा शनैः शनैः बेहोशिदै अन्तमा बेहोशीको चुलीमै पुग्यो।

शुभ चिन्तकहरूले खोजेर उसलाई घर ल्याई पुर्याएपछि एकजना स्वास्थ्य विशेषज्ञले भने – ‘यथाशीघ्र यिनलाई राम्रो साइक्रियास्ट्रिस कहाँ लिएर जानु होस् ।’

११९. भोक हडताल

कार्बन कविको कविताले उसको भोक मेटिएन। परिवार पनि केही दिनदेखि भोकै थियो। त्यो सामुहिक भोकको दोष पनि ऊमाथि नै थोपियो। तर भोको हुनुलाई उसले ठूलो भूल ठानेन। किनकि उसको सिद्धान्त अनुसार भोक एक प्राकृतिक प्रक्रिया हो। विपन्नताले नै सही त्यो प्रक्रियालाई पालन गर्नु मानव कर्तव्य पनि हो। तर भोक उसको सामू नैसर्गिक अभावग्रस्तता भएर उभिरह्यो ।

भोकको विरुद्ध उसले विरोध कतै जनाउन नसक्दा भोक स्वयं उ बिरूद्ध क्रुद बनेको थियो। रित्तो पेट लिएर ऊ भोकलाई मनाउने उपायमा लाग्यो। तर भोक मान्दै मानेन।

एक दिनपछि भोक उसको बिरुद्ध भोक हडतालमा बस्यो ।

१२०. अक्षरको खेती र अन्धाको देश

अक्षरको खेतीमा लाग्यो ऊ। नाफाखोरहरू पनि सरकारी टेण्डर सिद्धाएर अक्षर स्थलमा लगानी लगाउन आए। कडोरौंको सरकारी टेण्डरहरू रातारात पास गराएर फाइलमै पूल, सडक बनाउनेहरूलाई जाबो अक्षरको खेतीमा टेण्डर हाल्न वाँया हातको खेल भयो।

टेण्डरवालाहरूले सर्वप्रथम माऊ अक्षरहरू न्यूनतम टेण्डरमा पारी उच्चत्तम भाउमा बाहिर पैठारी गरिसके। अक्षरहरू अन्त भए।

रित्तो अक्षर-खेतबाट ऊ कुद्दै गयो। दिशाहीन कुदाइले उसलाई अन्धै अन्धाको देशमा पुर्यायो। त्यहाँ मार्ग-दर्शक देखिए दुई खुट्टे होइन डेढू खुट्टे छुट्टै प्रजाति। अन्धाहरूलाई भेला गरी विशेष प्रजातिका मार्गदर्शकहरू एउटा सभा गर्न व्यस्त थिए। सभाको विषय थियो – नेत्रदान ! अन्धाहरूलाई तिनीहरू नेत्रदानको महत्त्व बुझाइ रहेका थिए र ताली बजाउनमा अन्धाहरू चुकिरहेका थिएनन् ।

सभापछि डेढ खुट्टे प्रजातिहरूले पुल्टो बालेर अन्याहरूलाई जुलूसमा लिएर गए। तर ऊ अन्धाहरूको शुभचिन्तक भएर बाहिर दुनियाँदारीतिर बेग्लै ब्रेलको खोजीमा निस्कियो। एउटा शङ्का चाहिँ रहिरह्यो- त्यहाँ पनि बेलको टेण्डर हाल्न टेण्डरवालाहरू पो आइपुग्लान् कि?

याे पनि हेर्नुस्


Leave a comment