पाेस्टर र लात भाग-११

प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – ११

प्रदीप गुरूङ
प्रदीप गुरूङ

१०१. रोटी-जून

रक्सी पिएर उसले जीवनलाई रिवाइण्ड गर्यो।

जीवन फर्केर पुग्यो पन्द्रह वर्षको समय विन्दुमा।

जुनेली रात थियो र रोमाण्टिक रातमा उसकी तिनै प्रेमिकाको साथ थियो। प्रेमिका उसको काँधमा झुलिरहेकी थिई र संसारिक धरातललाई छाडेर उन्मादी आकाशमा ऊसँगै उडिरहेकी थिई।

उसले भन्यो- ‘तिमी मेरी जून हौ।’

प्रेमिकाले भनी- ‘होइन, जूनभित्रको दाग म हुँ।’

‘तर म तिमीलाई निष्कलङ्क ठान्छु।’ उसले भन्यो।

‘तर दाग र जूनको सम्झौता हाम्रो जीवन हो।’ प्रेमिकाले अति भावुक भएर भनी। रक्सीको अन्तिम घुट पिएर उसले जीवनलाई फरवर्ड गर्यो। …घरमा राशन, सब्जी, केही थिएन। राजनैतिक अनिश्चितकालीन बन्द चलिरहेको थियो। भोकको कमी थिएन। भोकाएरै जून जस्तो गोलो रोटीको कल्पनामा छोरा छोरी निदाएका थिए।

रक्सीले छोडेपछि उसले स्वास्नीलाई भन्यो- ‘पूर्णेको गोलो जून हाम्रो एक छाकको रोटी बन्न सके हाम्रो जीवन सार्थक बन्ने थियो।’

पाेस्टर रलात
पाेस्टर र लात

१०२. मातृत्वको सम्झना

‘अस्पतालमा कसलाई भर्ना गरियो?’

‘एउटी स्त्री।’

‘एउटी स्त्री मतलब?’

‘एउटी आमा।’

‘के भएछ त…?’

‘छोराद्वारा प्रहार। छोरा रक्सीले चुर थियो।’

‘कुन उत्सवमा छोरा मातेको थियो त्यस्तो?’

‘मदर्स् डे मनाउन।’

‘मदर्स् डे चाहिँ के हो?’

वार्ताकारहरूको माझमा अहिले उसले नै सोध्यो।

‘आमाको महानतालाई सम्झना गर्ने दिन ।’

सोझो उत्तर। तर उत्तरले विचलित बन्यो ऊ। घर पुगेर उसले स्वर्गीय माताको पुरानो तस्वीर निकाल्यो।

‘मैले पनि मातेको अवस्थामा एक दिन… तिमीलाई आमा…।’ वाक्य पूर्ण नगरी ऊ तस्वीरलाई छात्तीमा टसाई रून लाग्यो।

१०३. अनशन

‘तिमी कति रोइ रहन्छौ? म तिम्रो साथमा छु।’ आँसुले उसलाई भन्यो। ‘कति दिनसम्म तिमी दुःखी बनिरहने ? म तिम्रो साथमा छु।’ दुःखले उसलाई भन्यो। आँसु र दुःखले सताउँदा सत्ताउँदा उ खप्पिस भइसकेको थियो। यसर्थ, आँसु र दुःखले उसको जीवनमा हस्तक्षेप गरेको आरोपविरुद्ध ऊ आमरण अनशनमा बस्न थाल्यो।

१०४. गाउँ- रोदनमा ऊ !

गल्लीबाटै उसले गाउँ रोए‌को सुन्यो। गाउँ एउटा मात्र रोइरहेको थिएन। सामुहिक रोदन थियो गाउँहरूको। अरूले झैँ गाउँ छाडेपछि ऊ गाउँमै थिएन। एकाएक उसलाई गाउँको माया लागेर आयो। गाउँको रोदन हुर्किएर शहरतिर पनि आउला भनी उसले एउटा टोलीको सभा राख्यो। टोलीमा सामेल हुनेहरू- बुद्धिजीवी, साहित्यकार, कलाकार, विभागीय अभियन्ता, पर्यावरणविद् । भालेको डाकदेखि नै गाउँ रूने रोदन रोगको लक्षण बुझ्न टोलीको नाइके भएर ऊ अघि बढ्‌यो ।

त्यहाँ पुग्दा गाउँ छात्ती पिटी पिटी रोइरहेथ्यो।

बुद्धिजीवीको पक्षबाट उसले सोध्यो – ‘किन रोइरहेछौँ गाउँ तिमी ?’

गाउँ बोल्यो – ‘बुद्धिजीवीहरू सबै शहर केन्द्रित भए। हाम्रो बौद्धिक विकास खोई?’ फेरि साहित्यकारको प्रतिनिधिको रूपमा ऊ गाउँ सामू अर्को प्रश्नवाचक चिन्ह बन्यो – ‘तिमीहरूको वास्तविक पीडा के हो? बुझ्न यहाँ साहित्यकार आउनु भएको छ।’ हिक्कासँगै गाउँ बिस्मयादिबोधक चिन्हहरू ओकल्न लाग्यो – ‘काश, लेखक र कविहरूको कलमले हामीलाई पनि माया गर्दा हुन् त ! काश, कवितामा गाउँले माटोको महक हुँदो हो त! नि नि लै लै ! कथाबाट हाम्रा गोरेटो, देउराली, डाँडा-काँडा सबै सबै पलायन भइसके।

साइबर क्याफे र कफी हाउससँग मात्र कथाहरू हातेमालो गर्छन। चर्कियो रोदन गाउँको।

‘पर्यावरणविदसँग केही छ दुखेसो ?’

प्रश्न चिन्हमा परिणत ऊ।

शहरमा रूख काटिन्छ र? पहाडका बिरप्पनहरूले हामीलाई नाङ्गो झार पारे। तर पर्यावरण सेमिनारको रङ्गीचङ्गी शहरमा मात्रै?’

प्रश्नभित्र गाउँ अनि गाउँ।

कलाकार टोलीलाई अघि सारेर फेरि उसले अनुरोध गर्यो- ‘यहाँ कलाकार टोलीबाट केही तथ्य बुझ्नु होस्।’

‘पर्दैन, पर्दैन…।’ नकारात्मक गाउँ।

‘गीतमा मादल, मर्चुङ्गा बिनायो खोई? शहरकै गीत मात्र गाउने? गीत र नृत्यहरू नाङ्गै गल्ली गल्ली कुद्दै छ। काश, कसैले हाम्रो पनि गीत गाउँदा हुन् त।’

फेरि गाउँको गुनासो ।

अन्तमा उसले समाज सेवक र विभागीय अभियन्ताहरूलाई अघि सारेर प्रश्न गर्यो – ‘यहाँहरूबाट कस्तो सेवाको आशा राख्नु हुन्छ?’

‘अत्यन्त न्युनतम।’ गाउँको हिक्का बढ्यो ‘हाम्रो नाममा कडोरौंको बजेट खाने यिनीहरू नै हुन्। वषौंदेखि सरकारी आँकडाले हाम्रो हुर्मत लुट्छ। पर्यावरण र ग्रामीण विकास भनेर गैर सरकारी संस्थाहरूले पनि हाम्रो नाममा विदेशी डलर खान्छ। अब केही रह्यो सोध्ने ?’

गाउँको प्रश्नले पूर्ण बिराम ठोक्यो उसको मुखमा।

टोलीसँग फर्केर ऊ फेरि शहर आयो।

बजेटको थैला समाएर शहर मस्त थियो। रक्सीले शहर जड्याहा बनेको थियो। फेशनले नाङ्गिएको शहर लागु पदार्थ सेवन गरी पागल जस्तो हाँसेको हाँसेकै थियो।

उता गाउँ रोएको रोए‌कै !

अनि ऊ – पूर्ण बिराम !

….. …….. ……

१०५. बोध

एक पटक उसले मृत्युलाई चुनौती दिएको थियो। तर ऊ हारेर अस्पताल पुगेको थियो। त्यो हार पछि उसले मृत्युको सामू आत्म-समर्पण गरेकै थियो। तर मृत्युले हराएर पनि उसलाई स्वीकार गरेन। फेरि जीवनको क्रम चल्यो। तर त्यो क्रममा उसलाई सधै मृत्युकै बोध भइरह्यो। जीवनको अन्तिम क्षण मृत्युको सादृश्यता अन्तिम आँखामा राख्ने उत्कण्ठा रहिराह्यो।

जीवनको अन्तिम आत्मसमपर्ण हो मृत्यु !

उसले आफैलाई भन्यो। जीवन र मृत्युको रेखा कहाँबाट छुट्टिन्छ र जीवनले सन्तुलन गुमाएपछि मृत्युले त्यसलाई कसरी स्वीकार्छ? उ प्रहेलिकामा अल्झिएको अल्झिएकै छ ।

यसर्थ, आजकल ऊ मृत्युको साक्षात् रूप खोजिरहेछ। त्यो साक्षात् रूप अरू थोकमा होइन आफैमा विद्यमान रहेको ठानी प्रत्येक बिहान ऐनाको प्रतिबिम्बमा आफ्नै अनुहारभित्र मृत्युको खोजी गर्न लागेको छ।

तर ऐना ऊप्रति यति सम्वेदनशील बनि दियो कि त्यसले उसलाई हरेक बिहान उसके प्रतिविम्ब प्रतिबिम्बित गर्नमा प्रतिबन्ध लगायो।

१०६. चुरोट

पारिजातका कृतिहरू पढ्‌दै जाँदा प्रत्येक पटक उसलाई पनि चुरोट्‌को तल् तल् लाग्छ। शब्दमा यस्तो चमत्कार हुन्छ कि ऊ झाट्टै पारिजात कै एक पात्र भएर चुरोट पिउन खोज्छ।

स्वस्थ्य विषय चुरोटमा छापिएको चेतावनी।

चुरोट पिउँदैन ऊ।

तर मृत्युबोधको निरन्तरता टुट्‌दैन। मृत्युबोधले तर तिर्खा बढ्छ जीवनको। उसलाई त्यही भएको, अझै भई रहेको। फेरि पारिजात, फेरि चुरोटको तल् तल् । खै त, उसले अझसम्म चुरोट पिएको ?

ज्या है। आफन्तसँग उसकोबारे चिकित्सकको शब्द-साउती ऊसम्म पनि उम्किएर आइ त हाल्यो।

ब्लड क्यान्सर!

आमेन !

१०७. अवस्थान्तर

भोको छोरोले उसलाई भन्यो – ‘मलाई हाम्रो देशको एउटा मानचित्र बनाइ दिनुहोस् ।’

‘पहिला भोक मार्ने कुरो गर् अनि अरू काम होला।’

भोकाएर उसले भन्यो – ‘होइन मलाई देश चिन्नु छ। नबनाई भएन। भोक टारूँला।’

ऊभन्दा बढी बुझकी बन्यो उसको छोरो ।

यसर्थ, लाज लागेपछि भोक- भाव आफै आफ् ऊबाट गायब भयो। देश चिन्ने ध्याउन्नमा छोरो पनि भोक मारेर बसिरह्यो ।

अर्ध सफल चित्रकारमा उसको पनि नाम दर्ता थियो र ऊ देशको मानचित्र बनाउन लाग्यो ।

ऊद्वारा रेखाङ्कनाधिन मानचित्र हेर्दा हेर्दै छोरोको अनुहारबाट भोकको छायाँ हराउँदै गयो। मानचित्र बनाउनमा तल्लीन ऊ घरि घरि छोरोको अनुहार नै हेर्थ्यो। तर छोरोलाई होइन उसलाई नै भोकले च्याप्दै ल्यायो।

मानचित्र पूर्ण हुँदा नहुँदा छोरो उठेर करायो- ‘हाम्रो देशको मानचित्र यस्तै छ? यो त देश होइन एउटा भिखारी हो।’

‘देशको नक्शा होइन मैले देशको अवस्था देखाएको छोरो।’

‘त्यसो भए अर्को पटक भोककै नक्शा बनाइ दिनुहोस् ।’

भोकको मार्बाट बेहोश हुँदै ऊ लड्यो।

१०८. समय – प्रयोग

न त दिनसँग सन्तुष्ट ऊ,

न त रातसँग खुशी।

दिनको उज्यालो दुःखको वास्तविकता बनि दियो। रात आइरह्यो अन्धकारको खास्टोले उसकै सपना छोप्न।

दिनले उसलाई सोध्यो – ‘मेरो काल-खण्डमा तिमी कसरी खुशी बन्न सक्छौ?’

‘सायद जीवनको सङ्घर्षमा तिम्रो उज्यालोले उर्जा थपी परिचालित नगरि दिए‌को भए…।’

हुनसम्मको अकर्मण्यता लतार्यो उसले दिनकै मुखमा ।

रातले उसलाई सुझाउ दियो -‘त्यसो भए तिमी रात र दिन मिलाएर यस्तो काल-खण्डको निर्माण गर जुन चाहिँ समयको नयाँ प्रजाति बनी तिमीलाई नौलो आनन्द दिइरहोस् ।’

‘जीवनमा म मानिस बन्न त सकिरहेको छैन भने त्यो त परम ब्रह्मको पहुँचभित्रको विषय हो।’

फेरि समयको सामू उसले पुनः आत्मसमर्पण नगरी भएन।

१०. रात !

रात, अहो रमणीयता?

रातलाई अँगाल्छ ऊ।

दिनको पीडा भोगेर रातको शरणागत पुग्छ।

शून्यताका निनादमा बजेर रात मुटुमा बास बस्छ उसको ।

कम से कम उसलाई धिक्कार्ने र लट्याउने दुनियाँदारीबाट

त मुक्ति मिल्छ यति खेर।

जिन्दगी रातमय बनि रहोस् ।

तर रातमा समयको पूर्णता रहेन।

रात झुक्छ समयसामू ।

फेरि दिनको उज्यालोले धकेलेर पुर्याउँछ उसलाई

दुनियाँदारीमाझ ।

ऊ फेरि दिनको पीडाग्रस्तताभित्र पस्छ।

अन्ततः स्वीकार्छ-

यसकै नाम जिन्दगी !

११०. नागरिकता

नागरिकताको क्राइसिस छ।

दुई देशको सीमाना छ।

सीमानामा पुल छ।

पुलमुनि बग्दो पानी छ

तर नागरिकताको क्राइसिस छ।

पुलमुनि बग्ने अनि बग्दा बग्दै मुलुक फेर्ने पानीलाई उसले सोध्यो – ‘तिम्रो नागरिकता खोई?’

पानीले भन्यो- ‘म प्रकृति हुँ र म तिम्रो नागरिकता बुझ्दिन। मलाई बग्नु छ र बग्नु नै मेरो नागरिकता हो।’

फेरि गुनासो पोख्यो उसले ‘तथाकथित राष्ट्रमा म कट्मेरो नागरिक भएर बाँचेको छु। त्यसैले बहुसङ्ख्यकहरू मेरो नागरिकतामाथि शङ्का गर्छन् ।’ फेरि नदी! नदीको पानी बगेर… बोलेर…।

‘मेरो नैसर्गिक स्वरूपलाई भूगोलहरूले छेक्दैन। बहुसङ्ख्यकमाझ अल्पसङ्ख्यकमा जन्मनु तिम्रो दुर्भाग्य हो। तर तिमी खोज। खोजेर आफ्नो नागरिकता प्रमाण गर।’

नागरिकता खोज्न फेरि बाहिर निस्कियो ऊ। तर आफ्नो अभियान पूरा गरेर अझसम्म फर्कन सकेको छैन ऊ। के ऊ फर्कला?

क्रमशः

याे पनि हेर्नुस्


Leave a comment