जुद्धवीर गुरुङ सालिक निर्माण समितिको आमसभा सम्पन्न

जुद्धवीर गुरुङको अलिखित इतिहासलाई दस्तावेजीकरण गरिने पहल ।


गोरुबथान : गोरुबथान खण्ड पञ्चायत समिति सभापति सूर्यमणि राईको अध्यक्षतामा जुद्धवीर गुरुङ सालिक निर्माण समितिको आम सभा सम्पन्न भयो। ४ दिसम्बर २०२४ को दिन जुद्धवीर गुरुङको सालिक अनावरण, जुद्धवीर गुरुङ पथ नामाकरणसितै जुद्धवीर गुरुङको अलिखित इतिहासलाई दस्तावेजीकरण गर्नार्थ शोधपरक स्मारिका तयार गरिने विषयमाथि सभामा चर्चा गरियो। सालिक निर्माण समिति (अस्थायी) का सभापति पुरण राईले गत मार्च महिनामा गठन भएदेखि अहिलेसम्म अस्थायी कमिटीले सालिक, पथ नामाकरण अनि स्मारिकाबारे के कस्ता कार्यहरू गरे भन्ने विषयबारे सभालाई सविस्तार जानकारी दिए। कमिटीले गोरुबथान र कालेबुङका परिवार पक्षसित यस विषयमा बैठक गरिसकेको तथा मूर्तिकारसित भेट गरेर बातचीत भइसकेको बताए।


सभालाई सम्बोधन गर्दै सभापति सूर्यमणि राईले गोरुबथान सकारात्मक दिशातर्फ बढिरहेको बताए। गोरुबथानको निम्ति योगदान दिने पूर्खाहरूलाई कदर गर्ने समितिले जुन निर्णय लिएको छ त्यसको सराहना गर्दै यस्ता निर्माणात्मक कार्यलाई निरन्तरता दिनुपर्ने सुझाव राखे। आफु पञ्चायत समिति सभापतिको चौकीमा बसेपछि कसरी आफ्नो कार्यकालमा गोरुबथानको निम्ति केही उपलब्धिमूलक कार्य गर्न सकिन्छ भन्ने कुरामा लागिपरेको बताए। गोरुबथानको समग्र विकासका निम्ति हुने हरेक उपलब्धिको निम्ति आफु सबैलाई सहयोग गर्न तत्पर रहेको जनाए। जिल्ला शासकसित पनि बैठक हुँदा गोरुबथानको हितको निम्ति के गर्न सकिन्छ भन्ने कुरा उठान गर्दै आइरहेको सभापति राईले अवगत गराए।


महेश्वर प्रधान र सुरज राईद्वारा सञ्चालित सभालाई सम्बोधन गर्दै मेघनाथ राई, निशानदास राई, विजय ब्लोन, शिशिर चन्द्र राई, देवराज सुन्दास, सञ्जय प्रधान आदिले महत्त्वपूर्ण सुझावहरू राखे। सुझावको क्रममा विजय ब्लोनले जुद्धवीर गुरुङ सालिक निर्माण समितिद्वारा निकालिने स्मारिकामा जुद्धवीर विद्यालयसित आवद्ध धेरै व्यक्तिहरू गोरुबथानमा रहेकोले उहाँहरूबाट पनि जानकारी लिन सकिने बताए। स्मारिका एकैपल्ट निस्किने भएकोले यसमा जुद्धवीर गुरुङका समग्र पक्षलाई समेट्न सकिए राम्रो हुने जनाए। त्यसरी नै सञ्जय प्रधानले आफ्नो सुझावमा जुद्धवीरसितै गोरुबथान निर्माण गर्ने अन्य व्यक्तिहरूको पनि मूल्याङ्कन गर्दै लानुपर्ने बताए।


कार्यक्रममा समितिका कार्यकारी सदस्य पुरण मगरले सालिक निर्माणको निम्ति मूर्तिकारसित भएको बातचीत, सुरज राईले सालिक, बाटो नामाकरण, स्मारिकामा लाग्ने खर्च, कार्यक्रममा आउने खर्च बारे बताए। त्यसरी नै सचिव सौराज राईले स्मारिका पूर्णरूपले शोधपरक हुने बताउँदै यसमा जुद्धवीर गुरुङसित जोडिएका जति पनि जानकारी, अलिखित इतिहासहरू छन् सबैलाई लेख र अन्तर्वार्ताको रूपमा तयार गरिने बताए। प्रणय गुरुङको स्वागत सम्बोधनबाट शुरु भएको कार्यक्रममा बबिता थापा, ज्ञानेन्द्र राई, असिम राई आदिको विशेष उपस्थिति रहेको थियो। सभामा उपस्थित सबैप्रति आभार प्रकट गर्दै सभापति पुरण राईले आगामी सभाहरूमा पनि कुनै व्यक्तिगत चिट्ठी नकाटी सार्वजनिक रूपमा सभाको जानकारी गराउने अवगत गराउँदै सबैलाई जुद्धवीर गुरुङ सालिक निर्माण समितिको आगामी सभाहरूमा उपस्थित भइदिन अनुरोध गरे।

याे पनि हेर्नुस्


Leave a comment