डुवर्स र असमेली नेपाली साहित्यकारबीच सौहार्दपूर्ण भेटघाट

डुवर्स र असमेली नेपाली साहित्यकारबीच सौहार्दपूर्ण भेटघाट।


बीरपाडा : सोमबार बीरपाडास्थित पथेर साथीको प्रेक्षागृहमा डुवर्स नेपाली साहित्य विकास समितिको आयोजनामा असमबाट आएका नेपाली साहित्यकारहरूसँग सौहार्दपूर्ण भेटघाट सम्पन्न भएको जानकारी डुवर्स नेपाली साहित्य विकास समितिको मूलसचिव रबिन खवासले दिएका छन्।
असमको इन्द्रेणी साहित्यिक समूहबाट वरिष्ठ साहित्यकार रुद्र बरालको नेतृत्वमा आएको टोलीमा अर्जुन निरौला, नैना अधिकारी युवा पुरस्कार प्रापक, पूजा आचार्य, ज्योति हुमागाई, अमित अधिकारी र गोमा देवी प्रमुख रहेका थिए। असम र डुवर्सको नेपाली साहित्यिक कृतिहरूको साथै कृतिकार तथा साहित्यकारबीच कृति आदान प्रदान र अध्यन क्षेत्रलाई बढाएर लैजानलाई यो भेटघाट कार्यक्रम हठात आयोजना गरिएको रबिन खवासले जनाएका छन्।


उक्त भेटघाट सभा पश्चात डुवर्स नेपाली साहित्य विकास समितिको मूलसचिव रबिन खवासले साहित्यिक भ्रमणमा रहेका असमको इन्द्रेणी साहित्यिक समूहका साहित्यकारहरू नेपाल भ्रमणमा गएर आएपछि सोमबार डुवर्स नेपाली साहित्य विकास समितिको सौजन्यमा डुवर्सको बीरपाडास्थित पथेर साथीमा भेट भएको र उनीहरूको स्वागत साथै साहित्यिक चर्चा एवम् असम र डुवर्सको साहित्यिक कृति औ साहित्यकार परिचयको आदान प्रदान सम्पन्न भएको जनाएका छन्।
उक्त अवसरमा डुवर्स नेपाली साहित्य विकास समितिको अध्यक्ष कृष्णबहादुर श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेको थियो भने विशिष्ट अतिथिको रुपमा साहित्य एकाडेमी नयाँ दिल्लीबाट यसपाली बाल साहित्य पुरस्कारको निम्ति चयनित साहित्यकार तथा सङ्गीतकार वेगवसन्त थापाको प्रमुख उपस्थिति रहेको थियो।

यसरी नै डुनेसाविसको कार्यकारी अध्यक्ष कथाकार अबीर खालिङ, कोषाध्यक्ष राजेश प्रधान, वयोवृद्ध साहित्यकार आसबहादुर सुब्बा, कार्यक्रम सञ्चालक तथा समालोचक रुपेश शर्मा, मूलसचिव रबिन खवासलगायत सदस्यहरू कवि चन्दन भट्टराई, विनोद मोक्तान, कवि सुदर्शन तामाङ, गजलकार उमेश प्रधान, हर्कु तामाङ, बुद्धिमान लामा र किरण उपाध्याय एवम् अन्यान्यको उपस्थिति रहेको थियो। उक्त भेटघाट कार्यक्रममा असमेली साहित्य र डुवर्सेली साहित्यको गतिविधिबारे चर्चा चलेको र जहाँ जुनै क्षेत्रबाट पनि नेपाली साहित्यमा कलम चलाउनेहरूले अन्ततः नेपाली साहित्यको टेवा पुऱ्याएको वरिष्ठ साहित्यकार रुद्र बरालले बताएको थियो।

याे पनि हेर्नुस्


Leave a comment