घिस दोभानमा माघे मेला आरम्भ

घिस दोभानमा माघे मेला आरम्भ



निम्बोङ : हिजोदेखि कालेबुङको निम्बोङ घिस दोभानमा माघे मेला शुरु भएको छ। आगामी ३० जनवरीसम्म विभिन्न प्रस्तुतिहरूसितै चल्ने उक्त मेलाको उद्घाटन हिजो विधायक रुदेन सादा लेप्चाको बाहुलीबाट भएको थियो । गोरुबथानको पुबुङ र निम्बोङको ग्यासोकको सङ्गम स्थल घिस खोलाको दोभानमा प्रथमचोटि यस प्रकारको मेला आयोजनाको पहल गरिएको हो । हिजोको उद्घाटन कार्यक्रममा सहकारी सभापति अलगडा खण्ड पञ्चायत समिति अशोक लेप्चा ,पाब्रिङटार ग्राम पञ्चायत प्रधान रबिन सुब्बा , याङमाकुम ग्राम पञ्चायत सचिव रणवीर तामाङ , क्षेत्रीय पञ्चायत समिति सदस्य योगेन्द्र शर्मा आदि अतिथिका रूपमा आमन्त्रित थिए।

डुवर्सका चर्चित उद्घोषक अजय खड्काले सञ्चालन गरेका कार्यक्रममा साङ्गीतिक प्रस्तुतिका लागि भोइस अफ नेपाल सिजन -३ का प्रतियोगी मिरिककी सुरक्षा सिञ्चुरी उपस्थित थिइन्। क्षेत्रका विभिन्न टोली एवं प्रतिभाहरूद्वारा नृत्य लगायत सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरेका थिए। महोत्सवमा मेलाका विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरूसँगै जातीय खानपान स्थानीय जैविक परिकार आदि आकर्षण रहेको बताइएको छ। आयोजक पक्षमा प्रमुख पहलकर्ताद्वय शरण तामाङ र धञ्जीत तामाङले निम्बोङ क्षेत्रको र ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यलाई उजिल्याने अभिप्रायसँगै ईको टुरिन्ज्म-लाई प्रोत्साहन गर्न, निम्बोङ ग्रामपञ्चायत इलाकाका बस्तीहरूमा विकासको पूर्वाधार निर्माणप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन यो माघे मेला आयोजना गरिएको जनाएका छन्। हिजोको कार्यक्रममा अप्पर ग्यासोक, गैरीगाउँ, लोवर ग्यासोक, बाहुन गाउँ, पानतले, बरबोट, पाइलालाइन, घण्टीडाँडा, निम्बोङ, पेम्लिङ,दोस्रो दलपचन्द, डाब्लिङ, सुँगुरे,सालडाँड़ा,पुबुङ,माङजिङका मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्


Leave a comment