माघे मि-लन उ-त्सव भव्य रूपमा समापन
कालचिनी : गोर्खा जातीय एकता र पहिचानलाई कायम राख्न अनि माघे सङ्क्रान्तिको महिनालाई रमाइलो गर्न गत २४ जनवरीको दिनदेखि कालचिनीस्थित बक्सा क्लब मैदानमा शुरु भएको दोस्रो गोर्खा माघे मिलन उत्सव २०२५ को समापन भव्यताको साथ गरिएको जानकारी सो उत्सव कमिटीको अध्यक्ष क्याप्टेन गौतम गुरुङ र सचिव चन्दन भट्टराईले दिएका छन्।
पहिलो दिन भव्य शोभायात्रादेखि सम्पन्न भएको कार्यक्रममा गोर्खा जातगोष्ठीका विभिन्न नृत्य अनि गीत सङ्गीतसितै समाजका विशिष्ट समाजसेवी अनि व्यक्तित्वहरूलाई सम्मान पनि प्रदान गरिएको थियो।
दोस्रो दिन कालचिनी भेगका एमबीबीएस पढाई सकेर उत्तरबंगाल मेडिकल कलेजमा गाइनोकोलोजिस्ट अब्सटेट्रिक्स डा. सुसाङ लामा थोकर, जुनियर डा. अस्मिता लाम र सिक्किम विश्वविद्यालयबाट नेपालीमा विद्यावारिधी गरेका डा. रुद्र छेत्रीलाई विशेष सम्वर्द्धना प्रदान गरिएको थियो। यसरी नै कार्यक्रममा असमबाट आएकी भोइस अफ नेपालमा सहभागी बनेकी गायिका उपाशना रिजाल, नेपाली सङ्गीत संसारका लिजेन्ड्री गायक इन्द्रजीत मिजार र हिमाली राज्य सिक्किमबाट आएका चर्चित गायक सीबी गुरुङ र दोहोरो स्वरका धनी गायक फौदा सिंह गुरुङले साँझ रमाइलो बनाएको थियो भने गोरुबथान खण्डको परेङटारबाट आएकी चर्चित भ्लगर मिस ओकेको सञ्चालनले कार्यक्रमको रौनकता बढाएको थियो। मञ्चमा स्थानीय अनहद् ब्याण्डका युवा कलाकारहरूले पनि नेपाली आधुनिक गीतहरू गाएर दर्शकहरूलाई मनोरञ्जन दिलाएको थियो।
यस अवसरमा कालचिनीका विशिष्ट समाजसेवी पासाङ लामा, विशिष्ट समाजसेवी असिम पाख्रिन, नगरकट्टाका युवा समाजसेवी गोबिन्द लामा, मदारीहाट खण्डका युवा समाजसेवी जुगेश राई, अलिपुरद्वार जिल्ला परिषदका कर्माध्याक्ष तथा युवा समाजसेवी विशाल गुरुङ, कालचिनी जयगाउँका युवा समाजसेवी नवीन छेत्री, कालचिनी पञ्चायत समितिका भाइस चेयरम्यान नितु राणा तामाङ, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपती स्निग्धा साइबा, जिल्ला परिषदका कर्माध्याक्ष भारती कुजूर महली, एवम् अन्यान्यको उपस्थिति रहेको थियो। यसै अवसरमा भागोपका वरिष्ठ सदस्य तथा हेमिल्टनगञ्ज शहीद मेजर दुर्गा मल्ल सालिक निर्माण अनि संरक्षण कमिटीका वरिष्ठ सदस्यहरू क्रमैले आसबहादुर लिम्बु, लाक्पा योञ्जन, मणि लामा, अनिल थापा, मोहन विश्व, कुमार गोले, विनोद सुब्बा र अन्यान्यलाई स्मृति चिन्ह भेट गर्दै सम्मान जनाइएको थियो। उक्त दुई दिवसीय गोर्खा माघे मिलन उत्सवमा सिलगढी गोर्खे हाटको स्टलहरूले सबैलाई विशेष आकर्षण गरेको थियो भने गोर्खे खाना परिकारको सबैले नै उपभोग गरेको थियो।
रमाइलो साथै बैद्धिक अनि साहित्यिक समागमलाई पनि ध्यानमा राखेर कविता सत्रको आयोजना गरिएको थियो भने सो सत्रमा कवि अबीर खालिङ, दुर्गा राई चामलिङ, उमेश परियार, उमेश प्रधान, राजेश प्रधान, किरण उपाध्याय, कवियत्री मनिका लामा, पद्मा शर्मा आँचल, अभिषेक दर्नाल र दिलीप शर्मा घिमिरे आदिले कविता वाचन गरेका थिए। अबेर साँझ हिमालयन म्यूजिकल अर्केष्ट्राले सबैलाई रमाइलो गराएको थियो। दुई दिवसीय गोर्खा माघे मिलन उत्सव २०२५ भव्यताकोसाथ सम्पन्न भएको बताउँदै यसलाई सफल बनाउन सहयोग पुऱ्याउने सम्पूर्ण गोर्खा जातिप्रेमी, भाषाप्रेमी, संस्कृति अनि साहित्यप्रेमी तथा समाजसेवीहरूलाई साधुवाद रहेको आयोजक कमिटीको पक्षबाट संयोजक पवन योल्मो र अध्यक्ष क्याप्टेन गौतम गुरुङले जनाएका छन्। आगामी वर्षमा पनि अझै वृहत ढङ्गमा गोर्खा माघे मिलन उत्सव पालन गरिने आयोजक कमिटीको पक्षबाट रञ्जित प्रधान, बाबलु सापकोटा, अमित सापकोटा, अभिषेक शर्मा, ओम शर्मा, सुदाम लामा, पूजा राई एवम् अन्यान्य सदस्यहरूले जनाएका छन्।