स्थानान्तरणको अन्तिम चरणमा दुई बनबस्ती

बनबस्तीबाट स्थान्तर भएर बनछाया बस्ती आए

कालचिनीः बक्सा ब्याघ्र प्रकल्पको पहल र नेशनल टाइगर कन्जर्भेशन अथोरिटी (एनटीसीए) को सहयोगिता औ पश्चिम बंगाल राज्य सरकारको देखरेखमा अलिपुरद्वार जिल्लाको बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ कोर अनि दुर्गम जङ्गल क्षेत्रमा रहेको दुईवटा बनबस्ती क्रमैले गङ्गुटिया बनबस्ती र भोटे बस्तीलाई बाघ संरक्षणको निम्ति अन्ततः १५ लाख प्रति परिवारको चुक्तिमा स्थानान्तरण गर्ने प्रक्रियाको लगभग अन्तिम चरण देखा परेको छ। शिकार आधार क्षेत्र अन्तर्गत रोयल बङ्गाल बाघको उपस्थिति अनि यसको संरक्षण सुनिश्चित गर्न बक्सा ब्याघ्र प्रकल्प अन्तर्गत रहेको धेरै बनबस्तीहरूलाई सार्ने योजना पहिलादेखि रहेको छ भने यसै क्रममा जयन्ती नदीको धारमा कोर क्षेत्रमा पर्ने भोटे बस्ती अनि यता कालचिनी थाना अन्तर्गत पर्ने डिमा नदीको पारी कोर क्षेत्रमा रहेको गङ्गुटिया बनबस्तीका बासिन्दाहरूले आफै स्वेच्छाले यदि उचित क्षतिपूर्ति पाए बस्ती छाडी जाने आवेदन बन विभाग समक्ष राखेपछि गत २०२३ सालदेखि यी दुईवटा बनबस्तीलाई सरुवा गर्ने प्रक्रिया अघि बढेको थियो।

बनबस्तीबाट स्थान्तर भएर नयाँ ठाउँमा स्थापित भइरहेकाे बस्ती
बनबस्तीबाट स्थान्तर भएर नयाँ ठाउँमा स्थापित भइरहेकाे बस्ती


विगत २०२३ सालको दिसम्बर महीनामा भोटे बस्तीका ५१ जना लाभार्थीहरू अनि गङ्गुटिया बनबस्तीका १९१ जना लाभार्थीहरूले १५ लाखको पहिलो किस्त रकम साँढे सात लाख (७.५) गरी आ-आफ्नो ब्याङ्क खातामा पाएका थिए। ठीक यसरी नै बन विभागले ६ महीनाको समयसीमाभित्र बस्ती उठेर स्थानान्तरण गर्ने सूचना पनि गाउँलेहरूलाई दिएको छ। हाल भोटे बस्तीका ५१ जना लाभार्थीहरूले रहल ७.५ लाख रुपियाँ पनि पाएको बताइएको छ भने भोटे बस्ती अहिले घरबारविहीन बनेको देखिएको छ।
अहिले भोटे बस्तीका जम्मै परिवारहरू यता कालचिनी खण्डको भाटपाडा चियाबारी संलग्न सरकारी जमीनमा राज्य सरकारले उपलब्ध गराएको बनछाया बस्तीमा करिब करिब स्थानान्तारित भइसकेका छन्।

बनबस्तीबाट स्थान्तर भएर नयाँ ठाउँमा स्थापित भइरहेकाे बस्ती
बनबस्तीबाट स्थान्तर भएर नयाँ ठाउँमा स्थापित भइरहेकाे बनछाया बस्ती


अर्कोतिर गङ्गुटिया बनबस्तीका धेरै परिवार रहेकोले जम्मै एकैचोटी सरुवा हुन समय लागिरहेको यद्यपि यो महीनाको अन्तिम सप्ताहसम्म उनीहरू पनि बनछाया बस्तीमा स्थानान्तरण भइसक्ने बताइएको छ। पुरानो बालापन हुर्किएको ठाउँ, आँगन, तोरीबारी, मकैबारी, जङ्गल छहारी कान्ला, गोठहरूको याद नमेटने भएता पनि यहाँ बस्दाको कष्ट बर्षाकालमा डिमा नदीको कटाउले घरबारी ढिस्कना भत्काएको त्रास नदीले बगाउने भय जोखिम लिएर यातायात गर्नु पर्ने दुखबाट कम्तीमा स्थानान्तरणले राहत दिएको गङ्गुटिया बनबस्तीका बासिन्दाहरूले जनाएका छन्। उता भोटे बस्तीका बासिन्दाहरूले पनि जन्मेर हुर्केको ठाउँ, घरबारी जङ्गल, घाँस दाउरा जयन्ती नदीको शत्रु र मित्रु रूपको भोगाइ सबैको याद बिर्सन नसकेता पनि कष्टपूर्ण जीवनयापनबाट बनछाया बस्तीमा आएर राहत पाउँला भन्ने विश्वास रहेको जनाएका छन्। बनछाया बस्तीमा स्थानान्तरण हुँदै आइरहेकाहरूलाई अहिले प्रारम्भिक असुविधाले पनि सताउन थालेको देखिन्छन्। पिउने पानीको सङ्कट र धुलोको प्रदुषणले हाल सताइरहेको सम्बन्धमा कालचिनी ब्लक प्रशासनिक सुत्रले बासिन्दाहरूलाई अतिशीघ्र बिजुली परिसेवा दिन बिजुलीको काम र पक्का सडक निर्माणको काम चलिरहेको र चाँडै पिउने पानीको व्यवस्था पनि उपलब्ध गराइने जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment