अखिल भारतीय मगर संघको २२ औं प्रतिष्ठा (स्थापना) दिवस वीरपाडामा सम्पन्न

अखिल भारतीय मगर संघको २२ औं प्रतिष्ठा (स्थापना) दिवस वीरपाडामा सम्पन्न


वीरपाडा : (निस): अखिल भारतीय मगर संघ केन्द्रीय समितिको आयोजनामा अखिल भारतीय मगर संघको २२ औं प्रतिष्ठा (स्थापना) दिवस केन्द्रीय उपाध्यक्ष शरण थापाको अध्यक्षतामा आज मदारीहाट ब्लकको पथ साथी वीरपाडामा अती भव्यताका साथ सम्पन्न भयो ।


केन्द्रिय समितिका महासचिव अनिल पिठाकोटेको प्रमुख आथित्यमा सम्पन्न उक्त समारोहलाई केन्द्रीय समितिका सचिव स्वगन थापाद्वारा सञ्चालन गरिएको थियो भने कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि अनिल पिठाकोटे, उपाध्यक्ष शरण थापाले संघको झण्डा उत्तोलन अनि दीप प्रज्ज्वलन गरे । डुवर्सका मगर टोलीद्वारा हुर्रा नृत्य अनि मगर गीत प्रस्तुत गरियो। डुवर्स , दार्जिलिङ, कालेबुङका विभिन्न क्षेत्रबाट आएका संघका पदाधिकारीगण, विशिष्ट अतिथिहरूलाई खदामाला लाएर भव्य स्वागत जनाएपछि मगर संघलाई निस्वार्थ सेवा पुर्याएका पूर्व अग्रजहरूको आत्माशान्तिको कामना गर्दै एक मिनटको मौनधारण गरियो ।
संघका महासचिव अनिल पिठाकोटेले स्वागत साथै वार्षिक प्रतिवेदन अनि सांगठनिक विषयमाथि विचार राखे । युवा प्रकोष्ठको उपलब्धि अनि सांगठनिक गतिविधिमाथि मुख्य संयोजक प्रभात लाह्यो मगरले गहन वक्तव्य राखे भने युवाको उत्तरदायित्व अनि संगठनमा युवाको भुमिका माथि युवा प्रकोष्ठ अध्यक्ष योगेश ठाडा मगरले विचार राखे ।
छुट्टै भाषा, संस्कृति ,भेषभूषा रहेको मगर सम्प्रदायले मगर भाषा, जातिको संरक्षण गर्न प्रत्येक मगरको प्रमुख कर्तव्य रहेको शरण थापाले बताए ।
कार्यक्रममा यस वर्षको माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई अभिनन्दन पत्र वितरण गरियो। २२औं प्रतिष्ठा दिवसमा केन्द्रिय उपाध्यक्ष शरण थापा, महासचिव अनिल पिठाकोटे, मुख्य संयोजक प्रभात लाह्यो मगर, युवा प्रकोष्ठ अध्यक्ष योगेश ठाडा मगर, महासचिव विक्रम थापा,संयोजक गोपाल पुर्वछाने, अलिपुरद्वार जिल्ला समिति अध्यक्ष हिमाल थापा, सचिव धुर्व कुमार आले, जलपाइगुडी जिल्ला समिति अध्यक्ष उसम मगर, सचिव रतन थापा आदि उपस्थित थिए।

याे पनि हेर्नुस्

Leave a comment