अनिश्चितकालीन कार्य स्थगनको नोटिस मेचपाडा चियाकमानमा
कालचिनीः डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको ए श्रेणीमा पर्ने मेचपाडा चियाकमानमा सङ्कटको कालो बादल छाएको छ। मेचपाडा चियाकमानको ७८ वर्षको इतिहासमा नै कहिले कार्य स्थगन तथा बन्दको घटना नरहेको तर अहिले आएर कमानमा कुनै ठोस कारण बिना कमानमा कार्य स्थगनको नोटिस लगाएर कमान प्रबन्धनपक्ष टाप कसेको घटनाले श्रमिक माहौलमा अन्यौलता छाएको छ। कमानको काममा ढिल्याई र प्रबन्धनपक्षलाई अवज्ञा गरेको साधारण कतिपय खोटहरूलाई अघि सारेर कमानमा कार्य स्थगनको नोटिस टाँसेर प्रबन्धनपक्ष यसकी अचानक कमान छोडेर गएको घटनाले श्रमिकहरूमा आक्रोस छाएको स्थिति देखा परेको छ। कमानका अपरेटिङ ट्रेड यूनियनका नेता अनि केन्द्रिय ट्रेड यूनियन नेताहरूले मेचपाडा चियाकमान जस्तो ए वन कमानलाई यसरी प्रबन्धनपक्षले कार्य स्थगनको नोटिस जारी गरेर जानु अनैतिक रहेको बताउँदै कमानलाई चाँडै सामान्य स्थितिमा फर्काई ल्याउन चेष्टा गरिने यूनियन नेताहरूले जनाएका छन्।
रातारात कमान प्रबन्धनपक्षले कमान कार्यालय र सम्बन्धित ठाउँमा कार्य स्थगनको नोटिस जारी गरेर गएको बिहान मात्र काममा निस्किएका श्रमिकहरूले थाह पाउँदा श्रमिकहरूमा हतासा छाएको थियो। प्रायः १४०० श्रमिकहरू आश्रित रहेको मेचपाडा चियाकमान हठात कार्य स्थगन भएको समाचारले अन्य वरपरका सबै कमानका मानिसहरू दङ्ग परेको छ भने कमानमा सबै कुरा सामान्य रहँदा रहँदै जबरजस्ती कमानलाई सङ्कटको खाडलमा जाँक्न खोजेको श्रमिक अनि यूनियन नेताहरूले कमान प्रबन्धनपक्षमाथि आरोप कसेका छन्। न कुनै श्रमिकहरूले अनुशासन बिगारेका छन् न त प्रबन्धनपक्षलाई हातपात नै गरेका छन् तर पनि यसरी कमानलाई जबरजस्ती बन्दको चक्रव्यूहमा फसाउन निर्मित षडयन्त्र कमान कर्तृपक्षले गर्न खोजेको श्रमिकहरूको आरोप रहेको छ। श्रमिकहरूको एक पाक्षिक वेतन र स्टाफ अनि सबस्टाफहरूको मासिक वेतन पाउने बेलामा यसरी प्रबन्धनपक्षले कार्य स्थगनको नोटिस जारी गर्नु राम्रो कमानलाई रुग्ण बनाउने चाल मालिकवर्गको रहेको हुनसक्ने आशङ्का श्रमिकहरूले गरेका छन्।
वर्तमान सुखा सीजन चलिरहेको र साल छुट्टी हुने बेला यसरी कमानलाई जबरजस्ती सङ्कटमा पार्ने प्रबन्धनपक्ष विरुद्ध श्रम आयुक्त अनि प्रशासन समक्ष ज्ञापन गरिने र यथाशीघ्र त्रिपक्षीय बैठक मार्फत कमानलाई पुनः सञ्चालनमा ल्याउने प्रयास शुरु भएको तृणमूल र भाजपा समर्थित ट्रेड यूनियन औ वाममोर्चा नेताहरूले जनाएका छन्। हतास भएर कमानमा कुनै प्रकारको आइन श्रृंखला भङ्ग नहोस् भन्ने हेतुले जम्मै ट्रेड यूनियनको पक्षबाट कालचिनी थानामा उजुरी पनि दिएको यूनियन नेताहरूले जनाएका छन्।