बाग्राकोटमा साहित्य परिक्रमाको १२२औँ प्रकरण सम्पन्न


बाग्राकोट: एउटा गरिमामय इतिहास बोकेको साहित्यिक मञ्च ‘साहित्य परिक्रमा’-ले आइतवार आफ्नो १२२औँ प्रकरण बाग्राकोटको डाँड़ा लाइनमा भव्यताका साथ सम्पन्न गऱ्यो। गणेश बस्नेत र गोपाल दुलालको संयुक्त संयोजनमा आयोजित १२२औँ प्रकरणलाई समाजसेवी एसके खड्काले अध्यक्षता गरेका थिए भने डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवास मुख्य अतिथिका रूपमा उपस्थिति थिए। यसैगरी, साहित्यकार शङ्कर प्रधान, समाजसेवी बेणु रोका, भाषासङ्ग्रामी जेबी छेत्री, अवकाशप्राप्त कप्तान खगेन्द्र शर्मा अतिथिका रूपमा मञ्चासीन थिए।
केही सिँयालको भरमा भतभती पोल्ने गर्मीलाई पनि बेवास्ता गर्दै उत्साहका साथ आयोजित साहित्य परिक्रमाको यस प्रकरणमा कवि रूपेश विश्व र खगेन्द्र शर्माले कविता अनि कथाकार मदन खड्काले रोचक कथा सुनाए। यसैगरी, विद्यार्थी रोजिका छेत्रीले हरिभक्त कटुवालको ‘रहर’ कविता पाठ गरिन्। कार्यक्रममा मसिना नानीहरूले नृत्य प्रस्तुत गरे भने लोकगायक गोकुलसिंह थापाले एउटा सुन्दर लोकगीत प्रस्तुत गरे। मुख्य अतिथिका रूपमा उपस्थित डुवर्स नेपाली साहित्य विकास समितिका मूल सचिव रविन खवासले विकास समितिले यस वर्ष भव्य रूपमा स्वर्ण जयन्ती पालन गरिरहेकोले त्यो सुखद् समाचार सुनाउन आफू उपस्थित भएको बताए। स्वर्ण जयन्तीलाई राष्ट्रिय स्तरको कार्यक्रम बनाउने लक्ष्य लिएको जनाउँदै सबैबाट सहयोग र सहभागिताका लागि उनले आह्वान गरे। यस अवसरमा उनले गत वर्षमात्र दिवङ्गत भएका यसै गाउँनिवासी विशिष्ट साहित्यकार नरेन्द्र खड्काको पनि स्मरण गरे।
पृथ्वीको उत्तप्त स्थिति र बद्लँदो परिवेशमाथि निबन्धकार अजय खड्काले गहन विचार राखे। छहारी र शीतल दिने अनि कार्बनडाइअक्साइड अवशोषण गर्ने बिरुवाहरू व्यापकमात्रामा रोप्ने अभियाननै चलाउनुपर्ने आवश्यकतामाथि खड्काले विशेष जोड़ दिए। मान्छे दिनदिनै संवेदनहीन बन्दै गएको अनि सबै कुरा देखेर/भोगेर पनि मूक बन्दै गएकोमा उनले गहिरो चिन्ता प्रकट गरे। शिक्षक विनोद प्रधानले एक संस्थाको रूपमा साहित्य परिक्रमाले गर्विलो इतिहास बोकेको जिकिर गरे। कार्यक्रममा आफ्नो अध्यक्षीय सम्बोधन राख्दै एसके खड्काले साहित्य परिक्रमाले निर्वाह गरेको भूमिकाको मुग्धकण्ठले प्रशंसा गरे। परिक्रमाका कर्मठ सदस्य भूपेश शर्माले सञ्चालन गरेको कार्यक्रममा अर्का कर्मठ सदस्य रूपनारायण प्रधानले स्वागत सम्बोधन राखेका थिए। यस अवसरमा साहित्यकारहरू रूपेश शर्मा, गङ्गाप्रसाद प्रधान, निर्मल शर्मा, परिक्रमाका कर्मठ सदस्य अजय श्रेष्ठ लगायत स्थानीय महिला तथा साहित्यानुरागीहरूको उल्लेखनीय उपस्थिति थियो। स्मरणीय छ, सन् २००० मा गठित साहित्य परिक्रमाले गत २४ वर्षदेखि लगातार आफ्नो प्रकरणहरू सक्रियतापूर्वक परिचालन गर्दै आइरहेको छ।

https://matokuri.com/vikash-samitylai-swarna-jayantilai-rastya-sarup-dinay/

यो पनि हेर्नुहोस्

Leave a comment