ब्रेभ हार्ट स्कूलका विद्यार्थीहरूद्वारा बनछाया बस्तीको स्थलगत निरीक्षण

कालचिनीः बक्सा ब्याघ्र प्रकल्पको कोर क्षेत्रमा रहेको दुईवटा बनबस्ती गंगुटिया बनबस्ती र भोटे बस्तीका जम्मा १९१ परिवार अहिले राज्य सरकारद्वारा प्रदत्त बनछाया बस्तीमा स्थानान्तरण भइरहेको छ। बन विभाग र उक्त दुई बनबस्तीका बासिन्दाहरूसँगको चुक्ति अनुरूप १५ लाखको रकममा यो स्थानान्तरण भएको हो भने दुवै बनबस्तीका बासिन्दाहरू प्रायः आफ्नो पुरानो गाउँ छोडेर यता कालचिनी खण्डको भाटपाडा चियाबारी संलग्न बनछाया बस्तीमा पुनर्वास मिलाउन युद्धस्तरमा लागिपरेका छन्। बनछाया बस्तीमा शुन्यबाट जीवन यापन शुरु गर्न लागिपरेका गाउँलेहरूको अवस्था र दिनर्चयाको स्थलगत निरीक्षण गर्न भाटपाडा चियाबारीको एउटा निजी अङ्ग्रेजी माध्यमका स्कूल ब्रेभ हार्ट स्कूलका कक्षा ६, ७ र ८ का विद्यार्थीहरूले तयार पारेको रिपोर्ट अनुसार बनछाया बस्तीमा बसाई सरेका गाउँलेहरू अब सुगम ठाउँमा खुसी देखिएता पनि त्यहाँ हाल बिजुली, पानी र बाटोको प्रबल खाँचोमा रहेको देखिएको छ।
त्यति मात्र नभई अहिले त्यहाँ आएका विद्यार्थीहरूको निम्ति एउटा स्कूलको नितान्त आवश्यकता रहेको देखिएको छ। स्कूल नै ती विद्यार्थीहरूको भविष्य र वर्तमान भएकोले सरकारबाट यसको पुनर्संरचनाको निर्माण जरुरी रहेको अध्यनले बताएको ब्रेभ हार्ट स्कूलका शिक्षक अभिराज सार्कीले जनाएका छन्। बन विभागले दिएको स्थानान्तरणको एक्सग्रेसियाले मात्र गाउँलेहरूको जीवन यापनमा गाह्रो नपरोस् भन्दै राज्य सरकारले सरकारी खास जमीनलाई बनछाया बस्तीको नाम दिएर पुनर्वासको व्यवस्था मिलाउनु स्थानान्तारित गाउँलेहरूको लागि ठूलो गुण भएको तर बनछाया बस्तीमा तत्कालै पिउने पानी, बिजुली र बाटो अनि स्कूलको टड्कारो आवश्यकता देखा परेको ब्रेभ हार्ट स्कूलका विद्यार्थीहरू र शिक्षकगणले जनाएका छन्।

Leave a comment