मुख्यमन्त्रीले गरिन् क्षतिग्रस्त अलिपुरद्वार १ नम्बर क्षेत्रको निरीक्षण

कालचिनीः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी सोमवार दिउँसो लगभग ३ बजी आँधी (काल वैसाखी) ले क्षतिग्रस्त जलपाइगढीको भ्रमण गरेर अलिपुरद्वार पुगेकी थिइन्। सोमवार अलिपुरद्वार १ नम्बर ब्लकको तोपसीखाता बीएफ प्राइमरी स्कूलको मैदानमा हेलिकप्टरमा अवतरण गरेपछि मुख्यमन्त्रीले स्थानीय बिधान रायको घर लगायत क्षतिग्रस्त गाउँलेहरूको घर र परिवारको निरीक्षण गर्दै आवश्यकमन्द गाउँलेहरूसँग कुराकानी गरेकी थिईन्। मुख्यमन्त्रीले जिल्ला प्रशासनलाई सक्दो सहयोग गर्न निर्देशन दिएकी थिइन् भने चुनाउ आचार संहिता लागु रहेता प्राकृतिक प्रकोपको बेला प्रशासनले मानिसहरूको मदत गर्नु जरुरी रहेको बताइन्। उनले आफूसित रहेको मन्त्री अरुप विश्वासलाई भोलि अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लकको आँधी प्रभावित क्षेत्रहरूको भ्रमण गर्न निर्देशन पनि दिएकी छन्।

स्मरण गराइन्छ, आइतवार अपरान्ह समय २ बजीदेखि अचानक चलेको हुरी बतासले जलपाइगढी क्षेत्र लगायत अलिपुरद्वार जिल्लाको तोपसीखाता क्षेत्रको ६ माइल र कामसिंह क्षेत्रमा व्यापक क्षति पुऱ्याएको थियो भने जलपाइगढी क्षेत्रमा उक्त आँधीको चपेटमा प्रायः ५ जनाको ज्यान गएको बताइएको छ। यता अलिपुरद्वार एक नम्बर अञ्चलको गाउँमा मानिसहरूको घर-द्वार सबै क्षतिग्रस्त बनाएकोले त्यहाँका बासिन्दाहरू बिल्लीबाँठ बनेको थियो। ठीक यतिखेर मुख्यमन्त्री स्वयंले जलपाइगढी र अलिपुरद्वार जिल्लाको क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरेपछि सम्बन्धित जिल्ला प्रशासनलाई द्रुत पुनर्वास र सहयोगको जोगाड गर्ने निर्देश दिएकी छन्।

आइतवारको उक्त आँधी तुफानको असर कालचिनी खण्डमा नदेखिएता पनि मुसलधारे वर्षाले कालचिनी खण्डको खडेरी लाग्न थालेको चियाकमानलाई भने सिञ्चित गरेको छ। यद्यपि प्रायः तीन घन्टा भन्दा अधिक परेको पानीले कालचिनी र हेमिल्टनगञ्जको बजारहरूलाई प्रभावित बनाएको थियो।

Leave a comment