बौद्ध धर्मगुरु ख्येन रिन्पोर्चे आचार्य साङ्ग्ये लोडोको जन्मदिन पालन

कालचिनीः अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघको अध्यक्ष तथा धर्मगुरु ख्येन रिन्पोर्चे आचार्य साङ्ग्ये लोडोको ७३औँ जन्म जयन्ती शनिबार कालचिनी खण्डको राइमाटाङ चियाबारीस्थित टाँशी छेवाङ ढुप्सी गुम्बामा बौद्ध श्रद्धालुहरूको बाक्लो उपस्थितिमा सम्पन्न भयो। अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघ राइमाटाङ शाखाको आयोजनामा रिन्पोर्चेको जन्मदिन पालन गरिने पुर्व घोषित कार्यक्रम अनुरूप राइमाटाङ चियाबारीस्थित टाँशी छेवाङ ढुप्सी गुम्बाको प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा डुवर्सको विभिन्न शाखा लगायत असम, मनीपुर, दार्जीलिङ, सिक्किम, सिलगढी र कालेबुङबाट बौद्ध श्रद्धालुहरूको बाक्लो भीड जमेको थियो।
ख्येन रिन्पोर्चे आचार्य साङ्ग्ये लोडोलाई कालचिनी बासरा सेतुबाट भव्य स्वागत जनाउँदै कार्यक्रम स्थलमा ल्याइएको थियो।
रिन्पोर्चेको आउँदो ७४औँ जन्म जयन्ती गंगुटिया शाखाले पालन गर्ने घोषणा पनि भएको संघको महासचिव आचार्य साङ्ग्ये छोफेल र टाँशी छेवाङ ढुप्सी गुम्बाको अध्यक्ष शरण लामाले जनाएका छन्।


शनिबार साँझ यसै क्रममा ख्येन रिन्पोर्चे आचार्य साङ्ग्ये लोडोको जन्मदिन मेचपाडा ८ नम्बरस्थित पेमा छ्योई फेलिङ मोनास्ट्रीमा पनि म्हाणी मोलम पाठसितै अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघको महासचिव आचार्य साङ्ग्ये छोफेलको मुख्य उपस्थितिमा केक काटेर सम्पन्न भएको पेमा छ्योई फेलिङ मोनास्ट्रीका सचिव राजमान बम्जनले जनाएका छन्। सागा दावाको नित्य व्रत एवम् मेन्डल मोलम चलिरहेकोबीच महागुरुको जन्मदिन पालन गर्न पाउँदा मेचपाडा ८ नम्बरका बौद्ध श्रद्धालुहरू हर्षित बनेको पनि सचिव राजमान बम्जनले थप जनाएका छन्।

यो पनि हेर्नुहोस्

Leave a comment