लगातार वर्षाले अलिपुरद्वार जिल्लाभरी सतर्कता जारी

लगातार वर्षाले अलिपुरद्वार जिल्लाभरी सतर्कता जारी।


कालचिनी : आसार लाग्ने बित्तिकै मनसूनी वर्षा आरम्भ भएको छ उत्तरबङ्गालको विभिन्न जिल्लाहरूमा। यतिखेर अलिपुरद्वार जिल्लाको भारत भोटाङ सीमान्त क्षेत्रका गाउँ ठाउँहरूमा अलिपुरद्वार जिल्ला प्रशासनले उच्च सतर्कता जारी गर्दै परिस्थितिको सामना गर्न एनडीआरएफको टोलीलाई निर्देश दिएको छ।
बिहीबार रातिदेखि नै मुसलधारे वर्षाले भोटाङबाट बगेर आउने कुमारग्राम खण्डको सुनकोश, रायडक, शील तोर्षा, कालचिनी खण्डको जयन्ती, डिमा, पाना, बासरा, कालजनी, तोर्षा, नदीको जलस्तर बढने सम्भावनालाई प्रशासनले मध्यनजर गरेको छ।
भोटाङको छुका हाइड्रल प्रोजेक्टले कुनै पनि समय अत्यधिक वर्षा भए पानी छोडने भएकोले अलिपपुरद्वार जिल्ला प्रशासनले तोर्षा, बासरा, पाना र यसको शाखा नदीहरू संलग्न रहेको गाउँहरूलाई सतर्कता जारी गरेको छ।
असारे झरीले उतप्त गर्मीबाट राहत मिलेता पनि वर्षासितै आकाशको गड्यागुडुङले बिजुली परिसेवा बन्द भएकोले गाउँहरूमा पिउने पानीको समस्या बढेर गएको देखिएको छ।
यता पानी पर्ने बित्तिकै बिजुली बत्ती जाने र रातभरी बिजुली नआउने समस्याले गाउँलेहरू बिजुली विभागप्रति विक्षुब्ध बन्न थालेका छन्।
बिजुली नहुनाले गत दुई दिनदेखि मेचपाडा ८ नम्बरका बासिन्दाहरु पिउने पानीको सङ्कटमा परेका छन् भने यदि बिजुली परिसेवा ठीक नगरे आइताबार बिजुली कार्यालय घेराउ गर्ने गाउँलेहरुले चेताउनी दिएका छन्।

याे पनि हेर्नुस्


Leave a comment