चट्याङको झड्कोले चिया श्रमिकहरू घाइते

चट्याङको झड्कोले चिया श्रमिकहरू घाइते

कालचिनी : यतिखेर डुवर्सको मौसम तथा जलवायु आफ्नो चरम अवस्थामा छ। एकैक्षणमा हुरी बतास र दर्के वर्षासितै चट्याङ पडकिने त फेरि केही क्षणमैँ चर्को टन्टलापुर घामको तापमानले क्लान्त बनाउने मौसम डुवर्सको रहेको छ। चट्याङ अर्थात बज्रपातले कहिले मानिस त‌ कहिले पशुप्राणीको ज्यान समेत जाने घटना डुवर्सको चियाबारी क्षेत्रमा घटनु सामान्य बन्दै गइरहेको देखिन्छ।
यसै घटनाक्रमबिच शनिबार बिहान ९ बजीको पत्ती ओजन दिन चुवापाडा चियाकमानको १८/११ नम्बर सेक्सनको मेलापातमा काम गरिरहेको महिला चिया श्रमिकहरू अचानक चट्याङको झड्काले घाइते बनेका थिए। कालो नीलो हुँदै वर्षासितै पडकिएको चट्याङको झड्काले एकैचोटी प्रायः १२ जना महिला श्रमिकहरू ढल्न पुगेको बताइएको छ। यद्यपि उक्त घटनामा कसैको ज्यान भने नगएको स्वयं स्वास्थ्य लाभ गरेका श्रमिकहरूले जनाएका छन्।
घाइते महिला श्रमिकहरू क्रमैले सुगी उराँव, सुरजमनि गोसाइ, जुलिना उराँव, महिमा किसान, भानुमती उराँव, पुतुल मुन्डा, चाँदनी महली, दिपाली महली,फूलमाया तामाङ, अनिता उराँव आदिले जमाए अनुसार, बिहान ९ बजीको ओजन दिन तयार बसेको बेला पानी पर्दा पर्दा अचानक चट्याङ पडकिन्दा ठाउँमै चट्याङको झड्काले सबै बिहोस बन्न पुगेको थियो।
घटनाले खैलाबैला हुँदा सबै घाइते महिला श्रमिकहरूलाई तत्कालै सबै मिलेर उद्धार गरेर कमानको अस्पतालमा पुऱ्याएको थियो।
दुईजना महिला श्रमिकहरू जोगिता लोहार र मलिना खातुनलाई भने अलिक गम्भीर देखिएकोले पहिला उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पुऱ्याएको र त्यसपश्चात फेरि अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिएको बताइएको छ। यता यसरी अचानक मौसम बिग्रिएर कहिले हावा हुन्डुरी त कहिले चट्याङको प्रहारबाट बाँच्ने र बचाउने कुनै व्यवस्था अनि विकल्प कमानमा नरहेको श्रमिकहरूले गुनासो गरेका छन्।

याे पनि हेर्नुस्

Leave a comment