एसएसबी ५३ वाहिनीद्वारा जयगाउँमा साइकल ऱ्याली

कालचिनीः मेरो लाइफ अर्थात लाइफस्टाइल फर इनभाइरोमेन्ट जागरुकता अभियान अन्तर्गत आइतवार एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधिनस्थ जयगाउँ बीओपी क्षेत्रमा साइकल ऱ्याली सम्पन्न भएको जानकारी एसएसबी सुत्रले दिएका छन्। एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको द्वितीय कमान अधिकारी धीरज कुमारको नेतृत्वमा भोटाङ सीमान्त क्षेत्रमा नागरिक समाजलाई पर्यावरण संरक्षणको भावना जागृत गर्ने उद्देश्यले उक्त साइकल ऱ्यालीको आयोजना गरिएको बताइएको छ। जयगाउँ र फुन्छोलिङ भोटाङबिच भोटाङ प्रवेशद्वारबाट जयगाउँ सहर हुँदै एसएसबी सीमा चौकी रामगाउँसम्म उक्त साइकल ऱ्याली निकालिएको थियो।


भोटाङ गेटदेखि एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कार्यवाहक कमान्डेन्ट धीरज कुमारले हरियो झण्डा देखाएर ऱ्याली प्रस्थान गराएको थियो भने यस अवधि एसएसबी जवानहरूले पर्यावरण संरक्षण गर्न प्लास्टिकको प्रयोग गर्न छोड्न जनसाधारणलाई अपिल गरेको थियो। प्लास्टिकको सट्टा अन्य विकल्प सामग्री प्रयोगमा ध्यान दिने र पानी र जैविक विविधता संरक्षण, स्वास्थ्य जीवनशैली अप्नाउन बिजुलीको उपभोग गर्दा एलईडी बल्ब र ट्युबलाइटको प्रयोग, रेलवे लाइन क्रसिङमा वाहनको इन्जिन बन्द राख्ने, छोटो दूरीको काममा साइकलको प्रयोग गर्ने, पेट्रोल र डीजलको वाहनको जग्गा सीएनजी वा इलेक्ट्रोनिक वाहनको प्रयोगमा जोड दिनुपर्ने, घरको खानाको फोहोरलाई कम्पोस्ट बनाउन प्रयोग गर्नुपर्ने आदि विषयमा जनसाधारणलाई अपिल गरिएको थियो। यस ऱ्यालीलाई सफल बनाउन कार्यवाहक कमान्डेन्ट धीरज कुमारलगायत उपकमान्डेन्ट दिलीप कुमार, सहायक कमान्डेन्ट सन्दीप कुमार एवम् अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्

Leave a comment