भारतीय नेपाली कथा साहित्यका प्रतिष्ठित कथाकार विन्दया सुब्बाका चर्चित कथा देशलाई तिम्रो एकमुठी माया भए पुग्छ
विन्दया सुब्बा
दार्जीलिङ, भारत
मेरी सुनखरी, असाध्य चिसो छ जता हेर्यो त्यतै कारगिलका यी विकट डाँडै डाँडा, मात्र हिउँका सेता थुप्राहरू । तर अहिले कलिलो घामका किरणहरूमा सम्पूर्ण सेता पहाडहरू टल्किएर एउटा नैसर्गिक दृश्य दिएको छ । तर यसको आनत्द उठाउने बेला होइन यो । कहिले त लाग्छ पृथ्वीको कुन भागमा छौँ हामी, तिमीलाई समेत सम्झने फुर्सत छैन मसँग । धेरैदिनहरू बिते, तर अब पनि मेरो पत्र पाइनौ भने तिमी साहै आत्तिनेछौ भनेर अलिकति समय पाउनासाथ हतार गरी यो पत्र लेख्दैछु । कारण तिमी पनि जान्दछौ आजभोलि हाम्रो सम्पूर्ण मन, मानसिकता र समय देश तथा सीमा रक्षाको निम्ति व्यस्त छन्, केन्द्रीभूत छन् यसैमा ।
तिमीलाई मैले नै दिएको नाउँ यो सुनखरी, यसैकारण कि तिमी परजीवि झैँ सम्पूर्णरूपले ममाथि निर्भर र आरोपित थियौ, मानसिक रूपमा आज पनि छौँ । म बिना तिम्रो केही काम नचल्ने । त्यसैले कहिले रिसाएर पनि भन्ने गर्थे- ‘म तिमीभन्दा अघि केही भइहाले भने के अवस्था हुनेछ तिम्रो ।’
तर हाँसेर तिमीले सहजै भन्थ्यौ म त सुनखरी हूँ, त्यसो भए तिमी वटवृक्ष । तिमी केही भइहाल्यौ भने म एक्लै ज्यूँदो रहन्छु नै कसरी ?
फौजमा भर्ना हुने मेरो निश्चय र तयारी देखेर तिमी औधी रोएकी जस्ताको तस्तै थाह छ । हाम्रो बिहा भएको तीन वर्षपछिको कुरा यो । आज डराउँदैछु सुनु, जीवन र मृत्यु माझको कर्तव्यमा छु । तिमी आफ्नो जरा उखेल मबाट र तिमी एउटी आत्मानिर्भर स्वास्नीमान्छे मात्र भएर सिङ्गो, बलियो उभिने चेष्टा गर ।
जीवनसङ्गिनी, चिसोले हात कक्रिएर अक्षरहरू बाङ्गा र टेडा भइरहेछन्, भूलहरू सुधारी पढ्नु । लेख्न त लेख्दैछु तर थाह छैन यो पत्र टुङ्गिन पनि पाउँछ या पाउँदैन, तिमीसम्म आइपुग्छ या आइपुग्दैन । चारैतिर गोला बारूद र बोर्फोस तोपका आवाजहरू छन् । यी आवाजहरूमाझ देशको निम्ति हाम्रो न्यानो छाती छ । एउटा एकोहोरो मानसिकता छ मातृभूमिको निम्ति मर्छु या अन्तिम परिणतिसम्म युद्ध लडेर उसलाई विजयी बनाउँछु । अघि अघि तिमीलाई मैले यसो भन्थे हगि तिमी नै मेरो जीवनको सर्वोत्तम वरदान, तिम्रो निम्ति बाँच्छु सुनु, तिम्रै निम्ति मर्छु ।’
तर आज बुझ्दैछु (यो सुनेर मन सानो नगर है, यो त – गर्व गर्ने कुरा हो) कुनै-कुनै स्थितिमा देशभन्दा ठूलो अरू केही नहुँदो रहेछ । देशको सम्मान आफ्नो पनि आत्मसम्मान हुँदो रहेछ । देश विजयी भयो त हामी पनि विजयी भयौं, पराजित भयो त, हामीपनि पराजित भयौं । तर मलाई विश्वास छ सुनु, हामी यो अघोषित युद्ध जिन्ते नै छौ । जहाँ जहाँ गोर्खा सैनिकहरू छन् देशले कहिले त्यो युद्ध हारेको छैन । गोर्खाहरूले कहिले आफ्नो पनि युद्ध हारेको छैन, हारेको छ भने पनि त्यस युद्धको निम्ति उसको असीम चेष्टा, निष्टा, स्वाभिमान र बलिदान एउटा अनन्य इतिहास भएर, एउटा ज्वलन्त उदाहरण भएर रहेको छ ।
प्रेयसी सुनु, बितेको ठण्डा महिनामा म त्यहाँ थिएँ, दुई महिनाको बिदा लिएर आएको । फर्केर आएपछि मेरा एक दुई पत्रको जवाफमा तिम्रा कयौं पात्रहरू पाइसके । तर आजभोलि हामी युद्धमा होमिएका छौँ, देशको सीमाराज्य रक्षाको निम्ति निरन्तर चेष्टारत् छौँ । त्यसैले तिम्रो पछिल्लो खुशीभरी पत्रको जवाफ लेख्न पनि सकिन । बिहेको ६ वर्षपछि हामी आमा-बाबु हुन लागेका छौँ । कति भर्खरको उमेरका थियौँ हगि हामीले बिहा गर्दा । म बाबु हुने सुखबरको त्यस पत्र पढेर यही बारूदको गन्ध र तोपको आवाजहरूमाझ पनि मनमा कल्पना नआई छोडेन । तिम्रोजस्तो हुनेछ । मलाई कुनि किन छोरा नै हुन्छजस्तो लागेको छ । हामी दुवैको सपनाहरू बोकेर त्यसले बस्न सिक्छ, हिँड्न सिक्छ र समर्थ भएपछि ती सपनाहरू पूरा गर्नेछ ।
आज रातभरि हामी एउटा डाँडाबाट शत्रुहरूलाई लखेट्नको निम्ति संलग्न रह्यौँ । रातभरि त्यो डाँडामुनिको भित्तै भित्ता लुक्दै अनाधिकार प्रवेश गरी ओगटेर बस्ने लबस्तराहरूमाथि धावा बोल्यौ । त्यसै पनि रगत उम्लेर आउँदैन भन त ? धर्म र कर्तव्यको नाउँमा अर्जुनले पनि कुरूक्षेत्रको मैदानमा आफ्नो प्यारो तथा परमपूज्य पितामह भीष्मसँग युद्धको निम्ति आज्ञा र आशीर्वाद लिएर उही पूज्य पितामहसँगै युद्ध गरेका थिए । (फौजी हुने भाग्य थिएछ आफ्नो त्यसैले होला महाभारतमा मलाई सबभन्दा छुने दृश्य यही नै थियो) त्यसो त यी अनुप्रवेशकारीहरू हाम्रा अप्रेमका पात्र नै हुन् । हाम्रो आत्मसम्मान र देशभक्तिलाई चुनौति दिने हाम्रा शत्रुहरू । यिनीहरूसँग युद्ध गर्नु हाम्रो पनि धर्म, यही नै आजको समयको हाम्रो कर्तव्य । गोर्खा बटालियनका साथीहरू धेरै छन् मसँग देशका विभिन्न प्रान्तबाट आएका, कोही त मसँग नै कलेज पढेका । आफ्नो जन्मभूमिमाथि पाकिस्तानी अतिक्रमणमा औधी रिसाएका छन् र दिलोज्यानले युद्ध लडिरहेछन् साँच्चै हो रहेछ सुनु, हामी गोर्खाहरू युद्ध लड्नलाई नै जन्मेका रहेछौँ । धेरै युद्धहरू जित्यौ, अझै कति लड्नु छ। तिमी भन्ने गर्थ्यो एउटा कुरा जुन मलाई पनि थाह छ कुनै-कुनै समयको इतिहासमा हाम्रो बलिदानका कथाहरूलाई कुइरोले छोपिदिएको छ । तथापि सुनु मातृभूमि आफ्नो सन्तानको बलिदान बिना बाँच्न सक्दैन । तिमी कवि भूपि शेरचनका कविताहरू खुब मन पराउँछ्यौ होइन ? एउटा कवितामा यी दुई लहर पनि त छन्-
- हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
- बन्दैन मुलुक दुई चार सपूत मरेर नगए
देश बचाउँनलाई कैयौहरूले त आफ्नो बलिदान दिनै पर्नेरहेछ । त्यसैले आज जम्मू काश्मीर राज्यका यी कार्गील, द्रास, बटालिक आदि सीमा क्षेत्रमा छरिएर आफ्नो आफ्नो मोर्चा सम्हाल्दै हामीहरू लड्दैछौं । धेरैले प्राणाहूति दिइसके, तरवारको धारमा छौं हामी अहिलेसम्म बाँचिरहेकाहरू । सम्फे हिजो हामी भारतीय जवानहरूले यो पहाडको चोटि विजय गरेको कुरा तिमीले पनि खबरहरूमा पढ्यो, खबरहरूमा सुन र सुने होलान् सारा आफन्त र देशवासीले पनि ।
बी. ए. सम्म पढेर केही वर्ष बेरोजगार समस्याको चपेटमा परे र केही हुन नसकेको निराशा लिइ फौजमा भर्ना मह आएको थिएँ । मेरो कर्मक्षेत्रलाई यतिबिघ्न खाँचो थियो मेरो के थाहा मलाई ? यो विचार गर्दा आज छाती ठूलो हुन्छ, म देशको पर्खाल हुनलाई जन्मेको रहेछु, हामीले इतिहासमा पढेको ती देश-विदेशका पर्खालभन्दा पनि बलियो । आज पर्खालभन्दा पनि बलियो । आज सारा देशवासीको आशा र आस्था हामीमाथि छ । चौबिसै घण्टा हामी युद्धरत् छौ र चोबिसै घण्टा देशवासीका आँखाहरू हामीमाथि छन् । त्यो सोच्दा हाम्रो साहस अरु फराकिलो हुन्छ, हाम्रा उत्साहहरूले अरू आकाश छुन्छन् । तिमी आफै पनि त सोच न जीवनसाथी, नोकरी त सबैले गर्छन्, सबै प्रकारका जागीरहरू देशसेवा नै हुन् । तर हामी फौजीहरू सबभन्दा प्रत्यक्ष, सबभन्दा अगाडि, छाल भएर देशको, अंग र अस्त्र भएर देशको । त्यसैले म बेमतलब भइनँ छोरा हुनुको नातामा, भारतको भूमिपुत्र हुनुको नातामा हुनसके तिमी पनि गर्व गर्नु सुनु, माया गर्नु आफ्नो देशलाई । देशवासीको अलिकति भएपनि माया र निष्ठामा देश विजयी हुन्छ । त्यसैले देश बाँच्दो रहेछ ।
मेरो शहीद साथीहरू बढो सम्मानसाथ त्यहाँ दार्जीलिङ मेल वरिपरि आइपुगे । यहाँबाट पुर्याउन गएका फौजी भाइहरूले ल्याएको खबर केही केही सबैले सुन्यौं । थाह छैन तिमीमा कस्तो प्रतिक्रिया भयो यसको । मलाई सम्झेर साहै बिह्वल भयो, यति त म जसरी पनि भन्नसक्छु । तर ती बीर शहीदहरूले पाएको उच्च सम्मान र मूल्याङ्कनलाई देखेर तिमीलाई पनि यस्तो शहीदकी पत्नी हुने इच्छा लागेन ? उनीहरूको यस बलिदानमा देशका वरिष्ठ र शिखर आहोदाहरूले शिरनत् गरे, सलाम ठोके । राष्ट्रिय तिरंगा झण्डाले उनीहरूको शरीर ढाकिए र करोडौं देशवासीहरूका कृतज्ञ हृदय र भिजेका आँखाहरूले उनीहरूलाई श्रद्धाञ्जली दिए । सबैको आँखाका तारा भए ती सपूतहरू। सुनखरी, मृत्यु र जोखिम त जही पनि छन् । के दिनहुँ दुर्घटना मान्छेहरू मारिरहेका छैनन् र प्राकृतिक प्रकोपहरूमा हजारौ प्राणहरू गइरहेका छैनन् र तर त्यहाँ मर्नु र यहाँ मर्नुमा कति ठूला फरक छ । मलाई ती प्राणहरूको लोभ लाग्छ । काश ती सबै प्राणाहूतिहरू यही युद्धको निम्ति भए ।
म अब धेरै लेख्न पाउन्न । रातभरिको सङ्घर्षपछि केही सुस्ताएको थिएँ युद्धभूमिकै एक छेउमा बनेको सानो ठाउँमा । तर धावा बोलिरहेछन् शत्रुहरूले । म यस चुनौतिलाई कसरी बेवास्ता गरी बसिरहन सक्दछु ? सुनु, अब तिमी दरिलो र आत्मनिर्भर बन है। मलाई थाह छ पहिले त तिमी त्यस्ती थिइनौ तर बिहापछि तिमीलाई मैले नै आफूमाथि निर्भर गर्ने बनाएँ । यही मायाको गर्मीमा आफ्नो हतियार सुम्पेर तिमी पनि सानी पराश्रयी बालिका झै भयौ केही नजान्ने, केही गर्न नसक्ने । आज फेरि माफीसाथ भन्न कर लाग्दैछ, अब तिमी आफ्नो सम्पूर्ण समर्पित शक्तिहरू फेरि आफूमा समेटेर त्यस्तै दरिलो होऊ । कारण अब तिमी एउटी आमा पनि, अहिलेलाई त्यो शिशु साँच्चैको परजीवि, आश्रित तिमीमै । तिमीले आफ्नै रसबाट सिँच्नु छ त्यसलाई । बन्दुकको नालमा भएको हाम्रो जिन्दगी बढो बेठेकान छ । त्यसैले उखेलिनु तिमी मबाट । म नरहे पनि तिमीहरू दुई रहनुपर्छ । मरे भने एउटा उद्देश्यको निम्ति मर्छु, एउटा उद्देश्यकै निम्ति बाँच्नु तिमी पनि । त्यसरीक आफ्नो आफ्नो अर्थमा हामी दुवै सार्थक छौ । एउटा इच्छा छ सुनु, म रहें भने त त्यसै गर्छु, रहिनँ भने तिमीले हाम्रो छोरालाई पनि देशले गर्व गर्न सक्ने कुनै सैनिक नै बनाउनु । तर पहिले त्यसलाई खुब पढाउनु, लेखाउनु । तिमी आफै पनि पढेकी केटी, त्यसलाई जीवनको मूल्यबोध बुझाउनु । सिपाही नै भयो भने पनि युद्धको सही माग र उद्देश्य बुझोस् । आफ्नो युद्ध लड्नु र अर्काको युद्ध लड्नुको फरक बुझोस् । आफ्नो देश लिएर स्वाभिमानी र महत्वाकांक्षी हुन सिकाउनु । कमसेकम आफ्नो कर्मक्षेत्र र बचाईबाट अरूले अर्कै प्रकारले जीवनको मूल्याङ्कन गर्दो हो । म सही छु तर, यसरी नै आत्मसम्मान बुझे, गर्व गर्न सिकें । हाम्रो गर्भको सन्तानको पिता हुँ म, तिम्रो पति । आज छातीमा देश बोकेको छु र शरीरमा राष्ट्रियता ओडेको छु, उसलाई यसको महिमा बुझाउनु । कारण आज मातृभूमिको यो संकटकालीन घडीमा मात्र बुझ्दैछु सिपाहीभन्दा अर्को देश ?….?…?
(अचानक कुनै तातो गह्रौ एउटा ब्रह्माण्ड थाप्लोमा खस्छ, एउटा ठूलो आवाज, धुँवा र फेरि कालो अन्धकार…।
देशको निम्ति छातीमा उत्तिकै माया साँच्ने श्रद्देय पाठकगण । ती वीर सपूतले सोचेजस्तै त्यो पत्र दुगिन पाएन । उसलाई भूमिसात बनाउने शत्रुको बलमे त्यो पत्रलाई पनि कयौ टुक्राहरूमा छरिदियो । म ती छरिएका मायालु हरफहरू समेटेर गोर्खा शहीदकी ती प्रेयसीलाई भेट्न जाँदैछु । गएर पत्रका सन्देशहरू उसलाई र उसको गर्भमा भएको भविष्यको ती योग्य सपूतलाई सुनाउनु छ । अझै एउटा काम गर्नु छ पाठकगण, त्यो वटवृक्ष ढलेपछि सुनखरी त्यसै लत्रिएकी होला, ओइलाउन लागेकी होला । उसलाई त्यहींको माटोमा आरोपित गरी बलियोसँग उभ्याउनु छ । अब त्यो वृक्ष बिनै उसलाई बाँच्न सिकाउनु छ । – लेखिका)
रचनाकाल जुलाई १९९९
‘सुनचरी’ समाचारपत्रमा प्रकाशित
साभार –हस्पिस, कथासङ्ग्रह