कालचिनी र राइमाटाङ चियाबारीमा फौलाइको प्रक्रिया शुरु

कालचिनीः गत ३ महीनादेखि बन्द रहेको कालचिनी र राइमाटाङ चियाबारीको श्रमिकहरूले अन्ततः फौलाइ अर्थात फिनान्सियल सहायता भत्ता पाउने भएको छ। गत १० दिसम्बरको दिन अलिपुरद्वार परेड मैदानमा प्रशासनिक कार्यक्रममा आइपुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले बन्द चियाबारीको श्रमिकहरूलाई बचाउन फौलाइ दिइने घोषणा गरेकी थिईन् भने त्यसै बमोजिम शनिबारदेखि बन्द कालचिनी र राइमाटाङ चियाबारीको प्रायः ३३०० श्रमिकहरूको खातामा महीनाको १५०० रुपियाँ फौलाइ भत्ता दिन फारम भर्ने काम जिल्ला श्रम अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको बताइएको छ।
जिल्ला श्रम कार्यालयबाट आएका अधिकारीगण अनि कमानको स्टाफ साथै यूनियनका प्रतिनिधिहरूले सहयोगिता गर्दै शनिबार कालचिनी र राइमाटाङ चियाबारीमा श्रमिकहरूको नाम, पीएफ नम्बर र ब्याङ्क खाताको विवरण फारममा जोडने काम गरिएको कमानको यूनियन नेता तथा तृणमूल कालचिनी ब्लक कमिटीको उपाध्यक्ष ओमदास लोहारले जानकारी गराएका छन्। राइमाटाङ चियाबारीको प्रायः १२०० भन्दा अधिक श्रमिकहरू र कालचिनी चियाबारीको २००३ जति श्रमिकहरूको फारम भर्ने काम सम्पन्न भएको र यो प्रक्रिया सफल भए आगामी मार्च महीनाभित्रै दुवै चियाकमानको प्रायः ३३०० भन्दा अधिक श्रमिकहरूले फौलाइ भत्ता प्राप्त गर्न सक्ने यूनियनका प्रतिनिधिहरूले जनाएका छन्। यता कालचिनी चियाकमानको एकजना श्रमिक महिलाले मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरे अनुसार फौलाइको प्रक्रिया शुरु भएकोले अलिकति ढुक्क लागेको यद्यपि महीनाको १५०० रुपियाँले घर परिवारको दुख टर्न हम्मे हुने बताएकी छन्।

याे पनि हेर्नुस्

Leave a comment