माध्यमिक परिणाममा शंकर नेपाली स्कूलको ९९.९ प्रतिशत उत्तीर्ण

कालचिनीः यस वर्षको विगत २ फरवरीदेखि १२ फरवरीसम्म सम्पन्न भएको माध्यमिक परीक्षाको परिणाम बिहीवार प्रकाशित भएपछि माध्यमिक परीक्षार्थीहरूमा उत्साह देखियो। यस क्रममा कालचिनी खण्डको एकमात्र नेपाली माध्यमको उच्चमाध्यमिक विद्यालय शंकर नेपाली उच्चमाध्यमिक स्कूलको परिणाम प्रतिशत अब्बल रहेको छ। स्कूलका जम्मा १३६ जनाले माध्यमिक परीक्षा दिएको थियो भने त्यसमध्ये १३५ जनाले उत्तीर्ण गरेका स्कूलका सहशिक्षक दीप लामाले जनाएका छन्। पाँचजना विद्यार्थीहरू प्रथम भएका छन् भने नीमा डोल्मा लामाले ५७६ अङ्क हासिल गरेर स्कूल टपर बन्न सफल भएकी छन्। यता कालचिनी हिन्दी स्कूलका १६९ परीक्षार्थीमा ७४ जनाले पास गरेका छन् भने स्कूल टपरमा दिलनाज खातुन ६८% रहेकी स्कूल सुत्रले जनाएका छन्। अर्कोतिर हाँसीमारा बाङ्गला स्कूलका छात्रा सौम्यदीप मित्रले ६१५ अङ्क हासिल गरेर स्कूल टपर बनेका छन् भने सम्भवत: कालचिनी खण्डमा पनि तिनी ब्लक टपरमा परेका बताइएको छ।
यसैगरी कालचिनी यूनियन एकाडेमीका रुद्रनील घोषले ४८४ अङ्क हासिल गरेर स्कूल टपर बनेका छन्। समग्रमा कालचिनी खण्डको स्कूलहरूले सन्तोषजनक माध्यमिक परीक्षाफल प्राप्त गरेको भएता पनि सम्पूर्ण अलिपुरद्वार जिल्लाले दशौँ स्थान पनि प्राप्त गर्न नसकेको जान्नमा आएको छ। तुलनात्मक अध्ययन गर्दा कालचिनी ब्लक टपरमा दोस्रो स्थान शंकर नेपाली स्कूलको नीमा डोल्मा लामा रहेकी छन् जसले ५७६ अङ्क हासिल गरेर स्कूलका शिक्षक अनि अभिभावकको मन जितेकी छन्। शंकर नेपाली स्कूलको परिणाम राम्रो भएकोमा स्कूलका शिक्षकहरु सबै हर्षित बनेका छन्। सहशिक्षक दीप लामाले स्कूलमा विज्ञानको शिक्षक नरहेको र पर्याप्त शिक्षक नभए तापनि यतिको परिणाम आउनु स्कूलका जम्मै शिक्षकहरूको लागि हर्षको कुरा भएको बताएका छन्।
तिनले शायद जिल्लामा नै शंकर नेपाली उच्चमाध्यमिक विद्यालयको पास प्रतिशत ९९.९ प्रतिशत जति कुनै स्कूलको नहुन सक्ने अनुमान गरेका छन्।

याे पनि हेर्नुस्

Leave a comment