पाेस्टर र लात भाग-४

प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – ४

३१. फूलको अस्तित्व

विषय – कविता

सूत्र उपन्यासकार प्रदीप गुरूङ
सूत्र उपन्यासकार प्रदीप गुरूङ

शीर्षक – सुनाखरी फूल कस्तो होला ?

कवि – ईश्वर वल्लभ

स्थान – श्रेणी कक्ष

पात्र पात्रा – शिक्षक र विद्यार्थीहरू।

शिक्षक – सुनाखरी फूल कस्तो होला?

(प्रश्नवाचक उभिएर)

एक छात्र – मैले सुनाखरी फूल देखेकै छैन।

दोस्रो छात्र – मैले चाहिँ प्लास्टिकको सुनाखरी मात्र देखेको छु।

शिक्षक – सुनाखरी फूल कस्तो लाग्यो? त्यो कहाँ फुल्छ?

पाेस्टर र लात
पाेस्टर र लात

दोस्रो छात्र- प्लास्टिक जस्तै लाग्यो। त्यो त प्लास्टिककै कारखानामा फुल्छ होला।

(उसलाई प्वाक्कै भन्न मन लागेको थियो- अब हाम्रो अस्तित्वको निर्माण पनि कारखानामै

हुने रहेछ।)

३२. आँसुको भाउ

  • बजारमा एउटा बिज्ञापन आयो।
  • विज्ञापन अलि अपत्यारिलो थियो।

यद्यपि आफ्नो दाउ हाल्न निर्दिष्ट समयमा सम्बन्धित स्थान पुग्यो। बिज्ञापन यस्तो थियो- ‘आँसुको प्रजाति सङ्ग्रह खोलिएको छ। सम्बन्धित केन्द्रलाई विभिन्न प्रजातिको आँसु चाहिएको छ। विशेष प्रजातिको आँसु उपलब्ध हुनसके सो आँसुका सही दातालाई सङ्‌ग्रह केन्द्रका निर्देशकले रू० बीस हजारको रकम नगद पुरस्कारको रूपमा प्रदान गर्नेछ।’

सङ्ग्रह केन्द्रमा आँसुदाताहरूको भीड लागेको थियो। त्यहाँ रोदन प्रस्तुति मञ्च बनाइए‌को थियो जसको पार्श्व भागमा रोदन कलाको विभिन्न प्रस्तुतिका चित्रहरू कलात्मक ढङ्ग‌मा सजाइएका थिए।

उसले हिन्दी चलचित्र ‘रूदाली’ को स्मरण गर्यो र आफूलाई रूदालीको रूपमा प्रस्तुत गर्नका निम्ति तयार भयो।

प्रस्तुति मञ्चमा आँसु दाताहरू आ-आफ्नो पद्धतिमा रुँदै थिए। नोट बुक लिएर सामू गजक्क बसेका निर्णायकहरू विभिन्न रोदन प्रस्तुतिमा कहिले रून खोज्दै त कहिले हाँस्न खोज्दै के के लेखिरहेका थिए। उसले पनि विभिन्न रोदन कलाकारहरूको प्रस्तुति परख गर्न लाग्यो।

कोही गोहीको आँसु चुहाउँदै रुँदै थिए।
कोही चाप्लुसी आँसु खसाउँदै थिए।
कोही भिक्स दलेर रुँदै थिए।
कोही थुक लगाई लगाई रुँदै थिए।
अन्तमा उसको पालो आयो।

रोदन प्रस्तुति मञ्चमा चढेर उसले आँसु निकाल्ने कोशिश गयो। तर निकै बेरको कोशिशपछि पनि ऊ रून असमर्थ रह्यो ।

जीवनमा पहिल्यैबाट अपरिमित रूएर उसले आँसु रित्याइ सकेको थियो।

३३. नकरात्मक मूल्याङ्कन

एक पटक उसले एकजना नेतालाई मृत्युपछि पुनर्जीवित भएको देख्यो।

वास्तवमा मृत्युअघि स्वर्ग-लोक गमनका लागि नेताले कतिपय शर्तमूलक कुराहरू पूरा गर्नु पर्ने प्रक्रिया थियो। यसर्थ, सो प्रक्रियाबाट आफूलाई सफल प्रमाणित गर्न नेता तयार थियो।

जाँच-स्थलमा यमराज बसेका थिए। यमराजले नेतालाई सोधे- ‘तिमीले एक रातमा एक, एक कडोरको सार्वजनिक भवन र पुल खान सक्यौ?’

नेताको उत्तर थियो- ‘सकिएन महाराज! पञ्चवर्षीय योजनामा सो योजना परेको हुनाले सो सार्वजनिक भवन र सार्वजनिक पुलको रकम पचाउन मलाई पाँच वर्ष लाग्यो।’

यमराज- ‘अयोग्य, असफल। लौ भन, तिमीले एक पटकमा कति घुस खायौ ?’

नेता- ‘महाराज, एक पटकमा एक कडोर मात्र।’

यमराज – ‘अयोग्य, एकदम अयोग्य। लौ अन्तिम प्रश्न। तिमीले आफ्नो कार्यकालमा कतिजना नातेदारलाई नोकरी दिलायौ?’

नेता – ‘पाँच वर्षको कार्यकालमा पाँचजना नातेदारलाई मात्र नोकरी दिलाउन सकियो।

यमराज – ‘स्वर्ग जान तिमी बिल्कुल अयोग्यका रहेछौ। यसर्थ, तिमी फेरि पृथ्वी लोक फर्क। अर्को पटक आउँदा तिमी योग्यका भएर फर्कनू ।’

यमराज नकरात्मक मूल्याङ्कन स्थलमा बसेर हाँसिरहेका थिए।

३४. अनुहार र मखुण्डो

एकपटक ऊ यस दुनियाँदारीबाट हराएको हराएकै भयो। आफूलाई नै खोज उसले धेरै हण्डर खायो। तर अहिलेसम्म पनि आफूलाई पाउन नसकी रहेको अवस्थामा यसपटक तउसले आफ्नो अनुहार नै हराइ पठायो। यसर्थ, ऊ अनुहारको खोजीमा लागेर अखवारमा अनुहार हराएको बिज्ञापन मात्र दियो। तर उसको अनुहारको सूचना दिन कोही आएनन् र बिज्ञापनको रकम अखवारवालालाई चन्दा नै भयो।

परिवर्तित बिचारअनुसार उसले आफूलाई होइन अनुहार मात्र खोज्ने अठोटसम्म गर्यो। अनुहार खोज्ने अभियानमा ऊ एउटा रूमानी दुनियाँमा पुग्यो जहाँबाट संसारका वास्तविकताहरू निर्वासित भइसकेका थिए।

ऊ पुगेको ठाउँ एउटा बिराट् प्रयोगशालाको ढाँचाको प्रदर्शनी मञ्च थियो। रङ्गीन गुलुबहरूले जगमगाइरहेको स-साना कक्षहरूमा विभिन्न प्रजातिका अनुहारहरू थिए त्यहाँ ।

सामू एउटा ढोके उभिएको थियो र उसले त्यही ढोकेलाई सोध्यो- ‘यी अनुहारहरू कहाँबाट ल्याइएका हुन् ?’

ढोकेले शङ्कालू दृष्टि फिराएर उत्तर दियो- ‘यी अनुहारहरू सबै यहाँ तस्कर गरेर ल्याइएका हुन्। अहिले यस अनुहार-सङ्ग्रह केन्द्रका कायम मुकायम अधिकारी आउने बेला भयो। तपाई चाँडै गइ हाल्नोस्। तर तपाईं यस असुरक्षित क्षेत्रमा किन आउनु भयो ?’

उसले भन्यो- ‘आफ्नो हराएको अनुहार खोज्दै यहाँसम्म आएको।’

तपाईले आफ्नो अनुहार किन हराउनु भयो?’ ढोकेले उसैलाई सोध्यो।

‘आफ्नो इतिहास र भूगोलको सीमाङ्कन गर्ने काममा आफू लागियो। कल्ले कल्ले अनुहार नै अपहरण गरेर लग्यो।’

उसले यति भनिसक्दा ढोके ऊप्रति संवेदनशील बनिसकेको थियो। यसर्थ, ढोकेले उसलाई अनुहारका शोकेसहरू निरीक्षण गर्ने मौका दियो।

प्रथमतः प्रतिबिम्बित ऐनाको शोकेसमा उसले आफूलाई खोज्यो। तर त्यहाँ सबै अपरिचित अनुहार मात्र थिए। एकक्षण पश्चात् अचम्भ चाहिँ के भइ दियो भने लजालू भावमा अनुहारहरूले स्वतः मखुण्डो धारण गर्न लागे। तर अनुहारहरूले आ-आफ्नो मखुण्डोमा मार्का चाहिँ एउटै एउटै ठोक्न थाले। मार्काको एकरूपतामा ऊ अल्मलिएको अल्मलिएकै भयो। परिणाम- उसको अनुहार भेट्न सकिने सम्भावना पनि मखुण्डोको मार्कामा रूपान्तरित भइसकेको थियो।

अहिले मखुण्डोले अनुहारलाई अतिक्रमण गरेको घटना नै सम्झ्यो। ऊ यतिमा नै सन्तुष्ट भएर फर्कन लाग्दा अनुहार अपहरण गिरोहको नाइके आएर उसलाई पाता कसी अर्कै ठाउँ लग्यो। त्यो ठाउँ पनि त्यस्तै नजरवन्द वृहत् शोकेस थियो। त्यसभित्र उसलाई -ठेलेर हाल्दै गिरोहको नाइकेले घोषणा गयो- ‘हाम्रो शोकेसभित्र तिमी अनुहारहीन नयाँ प्रयोग भयौ।’

३५. चोर

गल्लीमा पक्रा परेको चोरलाई भीडका सबैले एक एक पटक गरी पिट्दै थिए। बूढादेखि बच्चासम्मकाहरू पिट्नमा कोही पनि छाडिएनन् । ऊ चाहिँ चोरले किन चोर्नु पर्यो त्यसको कैफियत खोजतिर लाग्यो। चोर दुई दिनदेखि भोको थियो। चोरलाई पिट्न अब कोही छाडियो कि भनेर भीडको नाइकेले सोध्यो । सबैले उसलाई नै देखाए। तर उसले चोरलाई एक थप्पड पनि लगाउन सकेन।

अस्थायी नोकरी पाउनअघि एक दिन उसको पनि यस्तै हालत भएको थियो।

३६. प्रतियोगिता

मानव संसाधन मन्त्रालयले एउटा कार्यक्रम राख्यो। कार्यक्रम ‘नेता कविता वाचन प्रतियोगिता’ थियो।

रातारात नेताहरू प्रोक्सी-पोएट भए। एकजना नेताले उसँग सम्पर्क गर्यो र एउट कविता लेखिदिए वापत् रू ५ हजार दिने वाचा गर्यो। यसर्थ, उसले कविता लेख थाल्यो-

भरजन्म घुसतिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर महल ठऱ्यायो,
म नेता घरको तर बुद्धि कस्तो
म नेता भइकन आज यस्तो,
भरजन्म घुसतिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर महल ठऱ्यायो,
म नेता घरको तर बुद्धि कस्तो
म नेता भइकन आज यस्तो,
मेरा न ता आफन्त कोही गरीब छन्
जे धन र चीजहरू छन् सब महलभित्र नै छन्… ।

लेख्दा लेख्दै ऊ रोकियो। कविता स्वीकृत हुने हुने कुरामा ऊ निश्चित बन्नै सकेन ।

३७. भेजाल बस्ती

स्थान – भेजाल बस्ती

सरकारी, गैर-सरकारी, खाद्य प्रणालीमा शुद्धिकरण

योजना – ८० प्रतिशत कार्यान्वित

परिणाम – भेजाल बस्तीका बासिन्दाहरू

एकाएक अस्वस्थ

प्रतिक्रिया- प्रस्तोता-भेजाल विशेषज्ञ

प्रतिक्रिया – ‘बिष पिउनेहरूलाई अमृत बिष बन्छ। शुद्ध खाद्य प्रणाली लागू हुँदा भेजाल बस्तीका बासिन्दाहरू एकाएक विरामी हुन पर्ने कारण खाद्य प्रणालीको शुद्धता हो।’

निर्णय – कार्यक्रम स्थगित।

३८. बाघ

शहरको कृत्रिम सुगन्धलाई परित्याग गरी पैत्रिक थलो गाउँ फर्कदा उसले सुन्यो – बढेमाको एउटा बाघ गाउँ पसेको छ। तर बाघ दृश्यमा होइन गाउँले हल्ला अनुसार गाउँ पस्यो। भोक सम्पूर्ण प्राणीको प्राकृतिक वाध्यता हो र वाध्य भएरै बाघ गाउँ पसेको होला भन्ने उसले ठान्यो ।

‘घुप धुवाँर गर, पानी पनेंरो र देउराली चोखो राख। बाघ देवीको घोडा हो। अपशकुन नपरोस् गाउँमा।’

एकजनाले गाउँ नै बोल्यो।

‘वस्तो धार्मिक भावनाले हाम्रो आफ्नै शोषण मात्र हुन्छ।’

उसको शहरीया आस्तिकता जुर्मुरायो।

बाघले गाउँका पशुहरू खान थाल्यो। बस्तुहरू फुकाएर खर्कतिर छाडी निर्धक्क बस्न नसक्ने भए गोठालाहरू। दुई जुवा घाम जाँदा फुकाइने बस्तुहरूको पछि पछि मुरली फुक्दै डाँडे डाँडा जाने दिन रहेन अब।

बाघ होइन तर उसलाई गाउँले माटोको महक गन्हाइ रह्यो। जङ्गलको विनाशले बाघको अतिक्रमण भए‌को तथ्य कतिले स्वीकारे। जङ्गल गाउँ भए पछि बाघ गाउँ नपसी कहाँ जान्छ भन्ने तर्क कतिले राखे। गाउँ मासेर फेरि जङ्गल हुर्काउन सकिन्न ? भन्ने तर्क पनि कतिले राखे। तर उसले यसलाई तर्कहीन तर्क मात्र ठान्यो। वास्तवमा अदृश्यात्मक बाघप्रति उसको विश्वास नै थिएन। कतिले भने- बाघ ज्यादै चलाक र धुर्त छ। रातको खास्टो ओडेर बाघ आउँछ र बस्तुहरू सखाप पार्छ। तर ऊ बाघको दृश्यात्मकताबाहेक अरू थोकसँग सम्झौता गर्ने पक्षमा कदापि छैन।

‘बाघ आयो, लौ बाघ आयो। सबै होशियार !’

बाधै नआई यसरी हल्ला गर्ने केही उदण्ड गोठालाहरू पनि थिए। तिनीहरू पनि रातकै खास्टो लगाएर कराउँथे। तर बाघै नआई यसरी उत्पात् मच्चाउने यस थरिका गोठालोहरूलाई केही सचेत् गाउँलेहरूले पाता कस्नसम्म कसे।

गाउँमा बस्तुहरू घट्‌दै गएको भ्रममा पर्ने गाउँलेहरूलाई उसले सोध्यो- ‘बाघ देख्ने आँखा खोई हाम्रो? अँध्यारोमा सुति बस्दा हाम्रा बस्तुहरू हराएको भ्रम झै हाम्रा आँखाहरू पनि हराउँदैछन्। के हाम्रा आँखाहरू अन्धाकारमा अनुवाद भइसके?’

तै पनि गाउँलेहरूको भ्रममा खर्कहरू शून्य भए। तर उसको गणितसँग यो तथ्य मिलिरहेको थिएन।

बितेर केही समय गएपछि मेला लाग्यो-गाउँमा।

परम्परागत आयाममा उसले यसलाई नयाँ थोक नै सम्झ्यो। तर मेलामा विशेष केही नयाँ थिएन। उसले के देख्यो भने रङ्गी चङ्गी कागजै कागजको मेला मात्र थियो त्यहाँ बिक्री बिनिमय सबै कागजको। तै पनि गाउँमा रौनकता आयो । सबैले केही समय बाघलाई भुले ।

ऊ मेलामा रङ्गहरू गन्न थाल्यो। हरियो एक, पहेंलो दुई, सेतो तीन, रातो चार नीलो – पाँच ! तर उसले थाहा पायो रङ्गहरूको आफ्नो अनुहार थिएन।

गन्ती गरि सकेर ऊ बीचैमा करायो ‘उः हेर बाघ ! गाउँहरूले हो बाघ आयो। रङ्गहरू मिसिएर आफ्नो रङ्ग चाहिँ हराइ पठाएको बाघ पो रहेछ यो त। आयो, आयो। लौ भाग बाघ आयो।’

कागजै कागजको मेला अव्यवस्थित भयो।

तर उसको चेतनाले भ्रमात्मक बाघमाथि चट्याङ्ग ठोक्यो। अचानक रङ्गी चङ्गी मेलाका रङ्गहरू उड्दै गए। एक पटक रङ्गः भ्रम बन्यो। भ्रम रङ्ग बन्यो। गाउँलेहरूले फेरि भ्रमात्मक हल्ला गरे- बाघ पनि मेलाभित्र पसि सक्यो ।

‘सबैजना कागजै कागजको मेलादेखि बाहिर निस्क।’

उसले कराएरै भन्यो। उसको हातमा एउटा पुल्ठो थियो। उसले मेलालाई पूर्णतः भ्रम मान्यो र त्यसको एक छेउमा पुल्ठो झोस्यो। चेतनाको ज्वालामा आगो दन्कियो। आगोको लप्का उड्दै गयो- आकाशमा। मेला सम्पूर्ण जल्यो। रङ्गहरू जले।

दावानलभित्र फेरि एउटा बिस्फोट भयो।

आगोको लप्काको गर्जनभित्र सबैले सुन्नेगरी ऊ करायो ‘यो कागजको बाघ । कागजको बाघ । कागजको मेलासँगै जल्दैछ यो। अब नडराओ ए, गाउँलेहरू हो। अब सबैले आ-आफ्ना कामनाका धेनूहरू दुहुनू, भविष्यका गोठहरू बसाल्नू ।’

उत्ता अझै कागजको अवशेष मेला जल्दै थियो। उसको हातको पूल्ठो निभेको थिएन। एकजना बालकको हातमा त्यो थमाई दिँदै उसले भन्यो- ‘पुल्ठो निभ्नु हुन्न है बाबू तिम्रो हातमा । यो आउँदो शताब्दीको लागि पनि चाहिन्छ।’

३६. शङ्का

शङ्काले लङ्का जलाउँछ ।

उसले आफैलाई भन्यो ।

रोग मृत्युको मित्र र जीवनको शत्रु हो।

नर यो पनि उसले आफैलाई भन्यो।

रात्रि शौच क्रियापछि किरायवाला घरको थोत्रो वाथरूमको कमोटमा कमिलाहरू थुप्रन्छन्। यसर्थ, उसले आफैलाई मधुमेयको रोगी सम्झन थालेको छ। एउटा उपाय सुल्झियो। त्यसपछि ऊ रात्रि शौच क्रिया भित्री कमोटमा होइन बाहिरी ढलको खुला ठाउँमा गर्न थाल्यो।

ऊ लङ्का जलाउन चाहँदैन।

४०. उमेर

आफ्नै उमेरले उसलाई सोध्यो- ‘तिमी कति पुग्यौ ?’ ‘मलाई थाहा छैन।’ उसले भन्यो- ‘म कति पुगें त्यो तिमीलाई नै थाहा छ।’

‘खै स्मरण शक्ति नै घटेछ। के कारणले हो?’

उमेरले भन्यो।

याे पनि हेर्नुस्

Amazon

Lava Storm 5G

Lava Storm 5G(Gale Green,8GB RAM,128GB ROM)-Powered by MediaTek Dimensity 6080 Processor|120Hz FHD+ Display|50MP+8MP Ultrawide Camera|16MP FrontCamera|33W Fast Charging|Upto 16GB ExpandableRAM

Buy Now

Leave a comment