पाेस्टर र लात भाग-५

प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – ५

४१. पति संस्करण

सूत्र उपन्यासकार प्रदीप गुरूङ
सूत्र उपन्यासकार प्रदीप गुरूङ

कार्यालयको मासिक सभामा एकजना तथाकथित झर्रो स्थानीय कहलाइएको कर्मचारीले टेबल ठोकेरै भन्यो- ‘अफिसको वातावरण ठीक छैन।’

उसले चाहिँ मन मनै भन्यो – लोकलको भोकल नै ठूलो।

त्यसपछि ‘यस्तो भएन’, ‘उस्तो भएन’- का नकारात्मक डङ्काहरू निकै सुनिए। त्यही कार्यालयमा आफ्ना कार्यरत लोग्नेको मृत्युपछि विधवा भएर अस्थायी नियुक्तिमा आएकी नयाँ कामकाजी महिला एउटा भरोसा मानेर त्यही क्रुद्ध कर्मचारीको मुख ताकी रही। यही दाउ र मौका ताकेर उक्त कर्मचारी सबै हिर्दोकहरूलाई मिचेर अझ बढी गर्जिरह्यो। वास्तवमा कर्मचारी विधवालाई आफ्नो मर्दाना प्रमाणित गर्न खोजिरहेको थियो। आजकै सभामा उक्त विधवालाई आफ्ना मृतः पतिको कार्यकालमा सङ्ग्रहित प्रायः चार लाख रुपियाँ प्राप्त हुने कुराको जानकारी पनि प्राप्त भएको थियो।

सभाको अन्तसम्म पनि गर्जिरहेको उक्त कर्मचारीको स्वरमा उसले अनुमानित चार लाख रुपियाँको अंशदारी स्वर सुनिरहेको थियो भने सभापछि त्यही कर्मचारीको पछि पछि गइरहेकी विधवाको अनुहारमा नयाँ पतिको संस्करण पनि उसले देख्यो ।

४२. कमाइ-क्रम

दिनले उसलाई दाल र भातको बहनामा यति बिघ्न भोग्छ कि दिनको अन्त हुँदा नहुँदा ऊ रातको शरण लिन पुग्छ। रातले टिठ्याएर उसका लागि सपनाहरू रोपिदिन्छ। रोपिएका और सपनाहरू चाँडै वैशाखी फूल भएर उसको निदरी सुम्सुम्याउन आइपुग्छ। फूलहरू उसका इच्छाहरू बन्छन् ।

प्रथम इच्छा – चर्चित धनाड्य सिने-नायक बन्ने।

सपना ब्रह्म भएर आउँछ र तथास्तु भन्छ। बलिउडमा उसका ठूला ठूला पोस्टरहरू टाँगिन्छन् ।

तेस्रो इच्छा – संसारका सबैभन्दा सुन्दरीसित रासलीला रच्ने।

पाेस्टर रलात
पाेस्टर र लात

सपना कृष्ण भई आएर सुदर्शन चक्कद्वारा नै मनोकामनाको पूर्णता ऊसम्म साभार गरिदिन्छ।

विश्व सुन्दरीसँग उसको रासलीला चरमोत्कर्षमा पुग्छ। रासलीलाको उपसंहारमा आईपुग्दा रात एकाएक ऊसँग क्रोधित बन्छ। उसले भोगेको तीनवटै इच्छाको चरम आनन्दलाई रात कुनै अपहरणकर्ता जस्तो आएर ऊबाट खोसेर लान्छ। अन्ततः अपहरणकर्ता रातसँग खुब क्रोधित भई ऊ बर्बराउँछ- ‘हरे प्रभो! यो कस्तो दिन आयो नि कस्तो दिन? प्राप्त भइसकेका आनन्दहरूलाई लुट्नेहरू कहाँ कहाँबाट आउँछन् ?’

उसको वाक्यमा दिनको प्रसङ्ग आउँदा दिन स्वयं प्रकट भई विरोध गर्न थाल्छ- हेर्नोस्, रातका दोषहरू ममाथि नथोपर्नु होस्। म आरोपहीन भई तपाईंलाई जिउँदो राख्दैछु।’

रात गायब भएछ। दिनको पर्दामा उसले आफ्नो खस्रो हत्केला छाम्छ र फेरि दाल भातको कमाइ गर्न दिनको कार्य शुरु गर्न थाल्छ।

४३. सन्तुलन

गाउँ बेंसीमा समेत मानिसको धपेडी देख्दा उसलाई लाग्छ मानिसहरू सबै सुखकै पछि दौडिरहेछन्। यसर्थ, उसले पनि दौड शुरु गर्यो- सुखकै पछि। सुख अघि अधि कुदिरहेछ। ऊ पछि पछि। तर ऊ जति कुद्छ सुख त्योभन्दा अझ दोब्बर कुदेर अघि पुगिरहेको हुन्छ। दुःख नामको अपरिवर्तनीय रूप उसकै पछि पो कुद्दै आइरहेको हुन्छ। दुःखदेखि भाग्न उसले दौडको गति अझ तीब्र पारिरहेको हुन्छ।

दौडको चापले बीच बाटामा अचेत् भएर लड्न लाग्दा ऊ थाहा पाइरहेको हुन्छ- दुःखले त उसैलाई थिचिरहेछ ।

धेरै बेरपछि होश फर्केर उठ्दा ऊ के देखिरहेको हुन्छ भने सुख र दुःख सहोदर भाइको अँगालो हालेर माथि देउराली डाँडामा पुगिरहेको हुन्छ।

४४. कर्णेलको घोड र वीर्य-कुण्ड

राति ऊ सपना-सदनमा पस्यो ।

कर्णेलको घोडा हिन्हिनाउँदै थियो।

‘मेन-पस’ भइसकेको उसकी स्वास्नी तर कर्णेलनी भएर चिल्लो चाक्लो जवान घोडामा सवार थिई। यौवनको नयाँ संस्करण पाएर लक्का जवान ऊ घोडा र कर्णेलनी स्वास्नीकै छेउ पुग्यो।

कर्णेलको भ्रममा घोडा अघिल्लो दुई खुट्टा उचाल्दै हिन्हिनाएर उभियो। कर्णेल जस्तै ऊ लडेपछि घोडामाथि सवार कर्णेलनी उसैलाई हेरेर खित्खिताई।

तर ऊ कर्णेल हुन मानिरहेको थिएन।

एकाएक ऊ बीस वर्षपूर्वको यौवनको छालभित्र पस्यो। त्यहाँ उन्मादको ज्वार-भाटा उर्लिरहेको थियो।

सपना-सदनको एक छेउमा उसले सानो कुण्डमा वीर्यको दह देख्यो। किशोरावस्थादेखि पछिल्लो अवस्थासम्म उबाट निश्रुतः वीर्य त्यहाँ जम्मा भएको थियो। फेरि उसले के पनि देख्यो भने उसकी कर्णेलनी स्वास्नी त्यही वीर्य-कुण्डमा स्नान गर्दै मुस्कुराइ रहेकी थिई। ऊ पनि उत्तेजना शान्त गर्न त्यही कुण्डमा जान खोज्यो। तर कर्णेलको घोडाले हिन्हिनाउँदै उसलाई वाधा दिई रह्यो। जसो तसो ऊ वीर्य-कुण्डको छेउमा त पुग्यो तर वीर्य पूर्णतः चिसो भइसकेको थियो ।

विहान ब्यूँझदा उसले थाहा पायो- ऊसँगै सुतेको छोरोले मूत्र त्याग गरेको रहेछ।

४५. बेलायक

बसन्तले फूलको ओंठ छुवाएर गाउँलाई म्वाइ खाने मौसमकै छेक गाउँमा एउटा प्रतियोगिताको आयोजना हुन लाग्यो। केही दिनलाई शहरदेखि वाक्क मानेर ऊ गाउँ आए‌को हो। तर नाउँको मात्र गाउँ रह्यो।

प्रतियोगितात्मक कार्यक्रमको आयोजनामा शहर नै पसेछ। उसले देख्यो- आयोजक वर्ग र प्रतियोगीवर्ग दुवैमा मूल औसत् अंशग्रहण शहरकै रह्यो। आयोजनाको मानसिकतामा पनि शहर नै प्रतिविम्बित रह्यो।

पहिलो प्रतियोगिता – हाइ जम्प

प्रतियोगीहरू – शहरका नामुद बाम् पुड्केहरू

दोस्रो प्रतियोगिता – चित्र प्रदर्शनी

निर्णायक मण्डली – कालो चश्मे अन्धाहरू ।

तेस्रो प्रतियोगिता – गायन र वाध्य वादन

निर्णायक मण्डली – कानमा इयरफोन लगाउने बैह्राहरू (उसको कानमै कवि भूपि कराए)

चौथो प्रतियोगिता – लामो दुरत्वको दौड

प्रतियोगीहरू – बैसाखी टेक्ने खोरण्डोहरू ।

अर्को छेउ गाउँले रोगीहरूलाई चिकित्सा सेवा पुर्याउन कोढग्रस्त झोला- छाप डाक्टरहरू लहरै बसेका थिए। गाउँ प्रतिक्रियाहीन सञ्चो मानि बसेको थियो।

उसले डाँडामा उभिएर योग्य र लायककाहरूको निरीक्षण गर्यो। तर बेलायकहरूको झुण्डमा उसले लायक कसैलाई पनि नदेख्दा बाटामा प्रार्थना गर्यो- अर्को जुनीमा प्रभु म पनि एक बेलायक नै भएर जन्मन पाउँ।

आयोजना स्थलमा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ फन्फन्ती घुमिरहेको थियो।

४६. गन्तव्य

जाँदा जाँदै बीच बाटोमा बाटोले नै उसलाई सोध्यो- ‘तिम्रो बाटो खोइ?’

उसले उत्तर दियो- ‘तिमीले मलाई जुन दिशा दिन्छौ त्यही नै मेरो बाटो हो।’

४७. जून र नून

दुनियाँदारीदेखि ऊ फेरि सपना सदन पस्यो।

फेरि बाहिर आयो।

बाहिर जून टह टह लागेको थियो।

छेउमै उसकी भूतपूर्व प्रेमिका बसेकी थिई। बैरागी काइँलाले एउटा कविता पढेर उनीहरूलाई नै सुनाइरहेका थिए- ‘मेरो मायाको नयाँ संस्करण…।’

उसले भन्यो- ‘तिमी जूनको नयाँ संस्करण हौ।’

भू-पू-ले केही भनिन !

बैरागी काइँलाले कविता पढिरहे।

उसले फेरि भू-पू-को कानमै भन्यो- ‘मेरो भोगमय भोकको उष्णतामा जून जस्तो तिम्रो शितलता आएर बस्छ।’

तर जूनबाट फ्रायड ओर्लिएर आए अनि उसको कानमै भने-‘प्रत्येक आइमाई एउट तल् तल् हो।’

उसलाई त्यो हस्तक्षेप मन परेन। ऊ रिसाउन लाग्दा फ्रायड गायब भइसकेको थियो उसले भू-पू-लाई अँगालो हालेर फेरि भन्यो- ‘तिमी मेरी जून हौ। सिर्फ मेरी जून!’ सपना सदनको ढोका बन्द भयो। जून होइन बाहिर घामको उज्यालो थियो। उसकी स्वास्नी विहानै नून पैंचो मागेर ढोकामै आइ सकेकी थिई।

४८. माफिया

हरेक क्षेत्रमा माफियाको रग्रगी छ।

यो समस्या उसको नभए पनि यसले उसको टाउकोमा ताल ठोकेको ठोकेकै छ। राजनीति, अर्थनीति, सामाजिक व्यवस्था छाडी शिक्षामा पनि माफियाहरू सङ्क्रमित भइसके। ऊ पनि जीवनमा एक माफिया हुन चाहन्थ्यो। तर संस्कारले उसलाई त्यो योग्यता नै दिएन। यद्यपि ऊ माफिया चिन्नमा निपुण छ। माऊ उर्जा र खुद्रे उर्जाका माफियालाई अझ राम्रो चिन्छ। खुद्रे उर्जाका माफियाद्वारा समाजको तल्लो तह बढी पीडित हुने गरेको तथ्य पनि उसले पत्तो लगाएको छ।

एउटा खुद्रे माफिया ऊकहाँ आयो। शिक्षक-शिक्षिकाबाट शिक्षा-माफिया हुन गएको मौलो प्रजातिलाई ऊ खुब खतरनाक ठान्छ।

तपाईको छोरोलाई हाम्रो प्राइवेट बोर्डिङमा हालि दिनु पर्यो ।…………!…………. ।

पाँचौं वेतन आयोगको पूर्ण तलब भत्ता ड्यूटी पूर्ण नगरी खाएर पनि नपुग्ने खुद्रे माफियाले भर्ना फारम झिकेर बेली विस्तार लगायो।

हेैन, म त तपाईं कार्यरत सरकारी विद्यालयमा नै छोरोलाई हालि दिने पक्षमा छु। त्यहाँ तपाईहरू जस्ता प्रशिक्षित, योग्य शिक्षकहरू हुँदा हुँदै अन्य कतातिर जाने ?’

छिः छिः त्यस्तो थोत्रो स्कूलमा पनि आफ्नो छोरोलाई लगाउने हो? योग्यता भन्ने थोक व्यक्तिगत हो, सार्वजनिक होइन। मेरो व्यक्तिगत योग्यता मेरो व्यक्तिगत बोर्डिङको लागि सुरक्षित राखेको छु।’

खुद्रे माफियाले टोक्यो।

उसले पनि उल्टो टोक्यो- ‘आफू कार्यरत् विद्यालयविरुद्ध त्यस्तो टिप्पणी गर्नु तपाईलाई लाज छैन?’ त्यसपछि उसले जुन अन्तिम वाक्य बोल्यो त्यो चाहिँ खुद्रे माफियाले सुन्यो सुनेन…।

‘धन्य धन्य राष्ट्रका स्तम्भहरू… जुन थालमा खायो…त्यही…!’

४९. अन्तबाट शुरु

उसले आफ्नै जीवनलाई सोध्यो – ‘तिम्रो परिभाषा के हो?’

तर उसको आफ्नै जीवन ऊसँग ठुस्किएको थियो।

‘तिम्रो मार्ग के हो?’

जीवन फेरि बोलेन ।

उसले जीवनसँगै छुट्टानाम गर्न खोज्यो। तर घरमा स्वास्नी छे। छोरा-छोरी छन् । एक मौन समर्थक भएर जीवन ऊसँग टाँसिरह्यो। तर जीवन कुन कारणले मौन छ- उसले बुझेन।

एक रात सपनाले जीवनसँग उसको छुट्टानाम गरायो। ऊसँग उन्मुक्त भएको जीवन मृत्युसँग बोलिरहेको थियो।

मृत्युले सोध्यो – ‘जीवन तिमी के हो?’

‘म मानिसको जीवन्त भोग मात्र हुँ। मृत्यु तिमी के हौ त?’ उसको जीवन यसरी बोले पछि मृत्यु फेरि बोल्यो- ‘म त्यही जीवन्त भोगको अन्त हुँ।

जीवन तर्कमा हार्न मानिरहेको थिएन। कम से कम उसको जीवनले मृत्युसँग त तर्क गरिरहेकै छ। जीवनलाई फेरि सुनियो ‘म शुरुआतको बिन्दु हुँ। म संसारको निर्माण है।

मृत्यु के कम? बोल्यो – ‘म अन्तको अन्तिम बिन्दु हुँ। मेरो अन्तबाट तिमी शुर हुन्छौ। तिमी सृजनाको पक्ष भए पनि अन्तको निर्णय म नै हुँ।’

सपनाबाट ऊ व्युझियो। तर विपनामा जीवनले उसलाई एक छेउबाट तानेको तानेकै भने अर्को छेउबाट मृत्युले पनि उत्तिकै तानेको तानेकै छ।

५०. अयोग्य साहसी

बेकारीपनले अर्ध-पागल बनेको एकजना बेकारी युवकले आफ्ना शैक्षिक प्रमाण पत्रहरू हल्लाउँदै भीडलाई भन्यो- ‘हेर्नोस्, यी प्रमाण-पत्रहरू हामीलाई आतङ्कित तुल्याउने आतङ्कवादका हतियारहरू हुन् ।’

भीडलाई ठेल्दै उसले सोध्यो- ‘कुन अर्थमा तिमी यसो भन्न लागेका छौ?”पहिला यो नोकरी खोज्ने भुत्ते

हतियार थियो। सरकारले यसलाई अस्वीकार गरिदियो। तर समयले मेरो बेकारीपनलाई घोट्दा घोट्दा यो हतियार आफै आफ हजामको छुराभन्दा लाग्ने बिच्छु भएको छ। यो विच्छ्रुले दिन रात मलाई डस्छ।

आहिल त यो छिप्पिएर आतङ्कवादीको हतियार भएको छ।’

त्यसपछि उक्त अर्ध-पागलले सार्वजनिक रूपमा आफ्ना सारा प्रमाण-पत्रहरू जलाएर बीडलाई हाँक दियो ‘अब म यो आतडुवादबाट मुक्त भएँ। कोही छ म जस्तो भीड निरूत्तर, प्रतिक्रियाहीन। उसको मनले यति नै भन्यो- ‘म पनि अर्ध आतङ्कबाटै पीडित छु।’

क्रमशः

याे पनि हेर्नुस्

Leave a comment