सागा दावा उपासक उपासिकाहरूद्वारा प्राण दान

कालचिनीः गत ९ मईदेखि शुरु भएको सागा दावाको व्रतसहित पूजा मोलम बौद्ध गुम्बाहरूमा चलिरहेकोबिच आइतवार मेचपाडा ८ नम्बरस्थित पेमा छ्योई फेलिङ मोनास्ट्रीका उपासक उपासिकाहरूद्वारा तोर्सा नदीमा पुगेर प्राणदान स्वरूप माछा छोडेको जानकारी पेमा छोई फेलिङ मोनास्ट्रीका सचिव राजमान बम्जनले दिएका छन्।
आइतवार डोल्मा दशमीको अवसरमा डोल्मा मन्त्र जपसहित म्हाणी मोलम सकेपछि गुम्बा परिसरबाट प्राय सयौँको संख्यामा उपासक उपासिकाहरूद्वारा महुवा दलसिंहपाड़ा संलग्न तोर्षा नदीमा पुगेर लामा गुरु उमेश गुरुङको मन्त्रोच्चारणसितै नदीको भङ्गालोमा जीवित माछाहरू छोडिएको थियो। छेत्तर अर्थात आयु पूजाको रिती रिवाज अनुरूप सो माछाहरू छोडिएको र आगामी सप्ताह ९ जुनको दिन गुम्बामा बौद्ध धर्मगुरु ख्येन रिन्पोर्चे आचार्य साङ्ग्ये लोडोको पावन उपस्थितिमा वाङ वितरण एवम् सागा दावाको एक महीनाव्यापी व्रतको समापन हुने पनि पेमा छोई फेलिङ मोनास्ट्रीका सचिव राजमान बम्जनले थप जनाएका छन्।

Leave a comment