सन्दर्भ: आउँदो लोकसभा चुनाउ


भाजपा र तृणमूलको वार, कसको लाग्ला पार…

कालचिनीः लोकसभा चुनाउको मिति घोषणा हुन लागेको छ। निर्वाचन आयोगले सम्पूर्ण तयारी युद्धस्तरमा गरिसकेको र निर्वाचनको दिशानिर्देश अनि चुनाउ आचार संहिता सबैको तयारी गरिसकेको देखिन्छ भने अर्कोतिर सबै राजनैतिक दलहरूमा कुन कुन संसदीय क्षेत्रबाट कसलाई प्रार्थी बनाउने यसको मथिङ्गल मन्थन चलिरहेकोबीच भाजपाले भने हठात आफ्नो प्रार्थी तथा उम्मेदवारको नामहरू घोषित गर्नाले राज्यको सत्तारूढ़ दल तृणमूल लगायत अन्य राजनैतिक दलहरूलाई पनि चटारो उत्पन्न गरिदिएको भान हुन्छ। यद्यपि तृणमूलले अहिले पनि आफ्नो प्रार्थी कहाँबाट कसलाई गर्ने यसबारे कुनै सङ्केत दिएका छैनन्। यता भाजपाको अलिपुरद्वार लोकसभा आसनमा भाजपाका अलिपुरद्वार जिल्ला सभापति तथा मदारीहाट बीरपाड़ाका विधायक मनोज तिग्गाको नाम जारी गरेपछि डुवर्सको राजनैतिक तापमान ह्वात्तै वृद्धि भएको देखिन्छ। भाजपाभित्रै सांसद तथा केन्द्रिय अल्पसङ्ख्यक मन्त्री जोन बारलाले केही विधायकहरूले गुटबाजी गर्दै आफ्नो टिकट काट्न षडयन्त्र गरेको भन्दै मनोज तिग्गा विरुद्ध सञ्चारकर्मीहरूसमक्ष ‌कटाक्ष बोल्दै आइरहेकोले भाजपाभित्रको अन्तर्कलह झल्किएको देखिन्छ।

जोन बारला (अलिपुरद्वार सांसद)
जोन बारला (अलिपुरद्वार सांसद)

टिकट पाएर पनि यसको जानकारी फोनमा पनि आफूलाई नदिएको भन्दै सांसद तथा केन्द्रिय मन्त्री जोन बारलाले विधायक मनोज तिग्गा विरुद्ध बयानबाजी गर्न थालेका छन्‌ भने तिनी समर्थित ट्रेड यूनियनका प्रतिनिधिहरूले असन्तोष जाहेर गरेको बारलाको भनाई पनि रहेको छ। बुधबार यसै क्रममा सांसद बारलालाई भेट्न तिनको लक्खीपाडास्थित निजी वासगृहमा पुगेका विधायक मनोज तिग्गा र फालाकाटा विधायक दीपक बर्मनसँग मन्त्री जोन बारलाले जानीजानी भेट नगरेको अडकल काटिएको छ। कारण जतिखेर विधायक मनोज तिग्गा र दीपक बर्मन लक्खीपाडा पुगेका थिए त्यतिखेर मन्त्री बारलाले बानरहाटमा पत्रकार सम्मेलन गर्दै विधायक मनोज तिग्गा विरुद्ध बयान दिएको खबर सुत्रले बताएको छ। सांसद टिकटको निम्ति नै वर्तमान मन्त्री तथा सांसद जोन बारलाले के दलविरुद्ध काम गर्न थालेको हो भन्ने प्रश्न पनि उठ्न थालेका छन्। विगत लोकसभा चुनाउको जस्तो मोदी हावा के यसपालीको लोकसभा चुनाउमा पनि पर्ला यसको पनि संशय देखिन थालेको छ। भाजपा विरोधी हावा अहिले पहाडदेखि समतलमा पनि चल्न थालेकोले भाजपाले विगतको लोकसभा चुनाउमा जस्तो परिणाम ल्याउन सक्छ त भन्ने प्रश्नले पनि भाजपा हाइकमानलाई नसताको भन्न मिल्दैन। तृणमूलले बूथस्तरदेखि नै सङ्गठन जसरी दह्रो बनाएर लगिरहेको छ त्यसको तुलनामा भाजपाको सङ्गठन अञ्चल र बुथहरूमा मजबूत नरहेको राजनैतिक पर्यवेक्षकहरूको अडकल रहेको छ। तथापि मतदानमा नै जनताले खेल खेल्ने र त्यो खेलले भाजपाको विजय हुने भाजपाका नेताहरूको दाबी रहेका छन्।

याे पनि हेर्नुस्

Leave a comment