विकास समितिले स्वर्ण जयन्तीलाई राष्ट्रिय स्वरूप दिने


बाग्राकोट: डुवर्सको माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिले २८ र २९ दिसम्बर, २०२४ का दिन वीरपाड़ामा भव्यताका साथ स्वर्ण जयन्ती पालन गर्ने भएको छ। वर्षभरि आयोजन हुने विभिन्न कार्यक्रमहरूलाई पनि स्वर्ण जयन्ती वर्षकै गतिविधिका रूपमा पालन गर्ने निर्णय समितिले लिएको छ। शनिवार वीरपाड़ामा बसेको स्वर्ण जयन्ती आयोजन समितिको बैठकले कार्यक्रमको खाका प्रस्तुत गरी त्यसमा विस्तृत छलफल गरेको हो। बैठकलाई विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले अध्यक्षता गरेका थिए भने महासचिव रविन खवास, कार्यकारी अध्यक्ष अबीर खालिङलगायत स्वर्ण जयन्ती आयोजन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
विकास समितिले आफ्नो दुई दिवसीय स्वर्ण जयन्तीलाई राष्ट्रिय स्वरूप दिने भएको छ। असम, मणिपुर, मेघालयलगायत पूर्वोत्तर राज्यहरू, दिल्ली, देहरादून, भाग्सु, कोलकाता, सिक्किम, दार्जीलिङ, कालेबुङ, खरसाङ, सिलगढ़ी अनि नेपाल र भूटानबाट पनि बाक्लै सङ्ख्यामा अतिथिहरूलाई आमन्त्रित गर्ने बैठकले निर्णय गरेको छ। बैठकमा एउटा अनुमानित बजेटको पनि खाका प्रस्तुत गरी सोही लक्ष्य लिएर सबैतिर अर्थ सहयोग अभियान परिचालनलाई गति दिने निर्णय गरिएको छ। डुवर्समा सामाजिक चेतनाको नवजागरणकालमा यो संस्थाको ऐतिहासिक भूमिकालाई समेत रेखाङ्कित गर्दै डुवर्सभरिका सङ्घ-संस्थाहरूलाई कार्यक्रममा सहभागी बनाउने निर्णय गरिएको छ।


स्वर्ण जयन्तीको महत्त्व र गरिमालाई ध्यानमा राख्दै कार्ययोजनालाई ठोस रूप दिन विभिन्न उप-समितिहरू बनाइने भएको छ। विकास समितिको पचास वर्षको इतिहास, उतार-चढाउ र उपलब्धिहरूलाई समेटेर संस्थाको मुखपत्र ‘अवलोकन’-को स्वर्ण जयन्ती विशेषाङ्क प्रकाशित गरिनेछ। यसको निम्ति समालोचक रूपेश शर्मा र निबन्धकार अजय खड्कालाई सम्पादनको कार्यभार सुम्पिएको छ। यसैगरी, केही वर्षदेखि थाँतीमा रहेको अर्को परियोजना ‘डुवर्सका कवि र कविता’-लाई दिसम्बरमै विमोचन गर्ने लक्ष्य लिएर काम गर्न सम्पादनमण्डलीमा सामान्य फेरबदल गरिएको छ, जसमा कवि/कथाकार अबीर खालिङलाई प्रधान सम्पादक, युवा सम्पादक एवम् लेखक दुर्गा राई चामलिङलाई सम्पादक अनि कवि उमेश प्रधान र प्रा. विक्रम राईलाई सम्पादन सहयोगीको कार्यभार जिम्मा दिई कामलाई नयाँ ढङ्गले समायोजन गर्न बैठकले निर्देशन दिएको छ। विभिन्न ठाउँका केही विशिष्ट व्यक्तिहरूलाई विकास समितिको संरक्षकका रूपमा राख्ने पनि बैठकले प्रस्ताव ग्रहण गरेको छ। बैठकको सार खिँच्दै अध्यक्ष कृष्ण श्रेष्ठले वीरपाड़ाले ऐतिहासिक जिम्मेवारी लिन गइरहेकोले दिनरात एक गराएर आजैदेखि कम्मर कस्न सबै पदाधिकारीहरूलाई प्रेरित गरे।
बैठकमा विकास समितिका उपाध्यक्ष रूपेश शर्मा, सांस्कृतिक प्रकोष्ठ प्रमुख अजय खड्का, शिक्षा प्रकोष्ठ प्रमुख सागर शर्मासहित स्वर्ण जयन्ती आयोजन समितिका अध्यक्ष हर्कु तामाङ, महासचिव बुद्धिमान लामा, कोषाध्यक्ष विनोद मोक्तान अनि दुर्गा राई चामलिङ, अमीर सुब्बासहितका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

यो पनि हेर्नुहोस्

https://matokuri.com/agnibir/

Leave a comment