१६ मार्च कफी खेतीमाथि गोरुबथानमा कार्यशाला

वैकल्पिक खेती अब कफीले लिने

कार्यशालामा उपस्थित हुनेलाई सित्तैमा बिरुवा उपलब्ध गराइने

गोरुबथानः अदुवा, सुन्तला हुँदै सुपारी (गुवा) मा आएर अडकिएको गोरुबथानमा नगदी खेतीको विकल्प खेतीको खोजी शुरु भएको छ। गोरुबथानमा अब कफीलाई नगदी खेतीको विकल्पको रूपमा प्रयोगमा ल्याइनेछ। गोरुबथानको मौसममा गुणस्तरीय एरोबिका कफी खेती हुने प्रमाणित भएपछि अब यसलाई व्यवसायिक तरिकाले गर्न परिकल्पना तयार गरिएको छ। यसको निम्ति गोरुबथान फ्यूचर भिजन, गोरुबथान पञ्चायत समिति, गोरुबथान खण्ड विकाश कार्यालयको संयुक्त तत्वावधानमा आगामी १६ मार्च शनिवारको दिन खण्ड विकास कार्यालयस्थित बीएडीपी हलमा कफी खेती अनि यसको बजार व्यवस्थापनबारे कार्यशाला भइरहेको छ। कार्यशालामा कफी खेती र यसको बजार व्यवस्थापनबारे जानकारी गराउन विशेषज्ञहरूको एक टोली उपस्थित रहनेछन्। विशेषज्ञहरूले कार्यशालामा कफी रोप्ने, स्याहार सुसार गर्ने, टिप्ने तरिकादेखि लिएर यसको बजार व्यवस्थापनबारे उपस्थित कृषकहरूलाई सम्पूर्ण रुपमा जानकारी गराउनेछन्।

कफी खेती
कफी खेती


प्राप्त जानकारीअनुसार गोरुबथान खण्डका ११ वटा ग्राम पञ्चायत (जीपी)-मा कफी खेती गर्न सकिन्छ (केही चिसो ठाउँ छोडेर)। यति मात्र होइन, कफी खेती गुवा बारीभित्र पनि गर्न सकिने हुनाले यसको खेतीको निम्ति खुल्ला बारी अथवा जमिन हुनुपर्ने कुनै अनिवार्य छैन। कफी खेतीबारे कृषकहरूलाई कार्यशालामा जानकारी गराएपछि कफी रोप्ने मौसममा बिरुवा पनि सित्थैमा उपलब्ध गराइनेछ।

उक्त विरुवा रोपेको तीन वर्षदेखि कफी फल्न शुरु हुनेछ अर्थात् तीन वर्षदेखिनै आम्दानी पनि शुरु हुनेछ। शुरुमा केही कम्ति आम्दानी भए पनि बोट जति ठूलो हुँदै जान्छ त्यति नै यसको उत्पादन पनि बढ्दै जानेछ। परिपक्व भएको एउटा बोटमा २५ देखि ३५ किलोसम्म कफी फल्ने जानकारहरू बताउँछन्। यति मात्र होइन कफी र सुपारीको आम्दानी बराबर रहेको पनि जानकारहरू थप बताउँछन्। यस कार्यशालामा गोरुबथान खण्डका इच्छुक कृषकहरू (बस्ती, वनबस्ती, चियाबारी, सिन्कोनाबारी)-लाई उपस्थित भइ कफी खेतीबारे जानकारीसितै कफी खेती गरेर आफ्नो आम्दानी बढाउन आयोजक पक्षबाट आह्वान गरिएको छ।

याे पनि हेर्नुस्

Leave a comment