चियाकमानमा खडेरीको स्थितीबोध गराउँदै एनबीटीपीइयूद्वारा पत्राचार

कालचिनीः डुवर्सको सम्पूर्ण चियाकमानले वर्तमान सुखा अर्थात खडेरीको चुनौती झेल्न परिरहेकोले चियाकमानमा श्रमिकहरूलाई ६ दिन कामको सट्टा ४ दिन वा ५ दिन मात्र काम लगाउने समस्या उत्पन्न भइरहेको र यसले श्रमिकहरूको जीविकापार्जनमा गम्भीर धक्का पुग्ने भएकोले टी बोर्ड इन्डियाले यसप्रति गम्भीर बनेर चिया उद्योग बचाउन ध्यान दिनुपर्ने सम्बन्धमा एसयूसीआई समर्थित नर्थ बेङ्गल टी प्लान्टेशन इम्प्लोइज यूनियनको पक्षबाट टीबीआई सिलगढी रिजन र जलपाइगढी डिभिजनल कमिश्नर समक्ष ज्ञापन पत्र सुम्पिएको जानकारी एनबीटीवीइयूका महासचिव अभीजित रोयले दिएका छन्।
वर्तमान समयमा डुवर्सको प्रत्येक चियाकमानमा सुखा अर्थात खडेरी लागेको स्थिति देखिएको छ भने पानी र सिँचाइको अभावमा चियागाँछ सुक्न थालेकोले काँचो चियापत्तीको उत्पादनमा ह्वास आएको देखिएको छ। कमान प्रबन्धनपक्षले स्थितिलाई मध्यनजर गर्दै कमानको ६ दिने कामलाई ५ वा ४ दिन गराउन खोजेकोले यस्तो भए श्रमिकहरूको दैनिक रोजमा फरक पर्ने र यसले चिया श्रमिकहरूको अवस्था राम्रो नहुने भएकोले यसमा वर्तमान समयमा टी बोर्ड इन्डिया र डिभिजनल कमिश्नरले सकारात्मक पहल गर्दै चिया उद्योग र यसमा भर पर्ने श्रमिकहरूलाई बचाउन अघि आउने ज्ञापनमा उल्लेख गरिएको अभीजित रोयले जनाएका छन्। एनबीटीपीइयूको प्रतिनिधि टोलीमा कमल उराँव, मोहम्मद नासिरुद्दिन, देवाशीष शर्मा, मृणाल रोय, जीवन सरकार र अभीजित रोय रहेको थियो भने उनीहरूले टीबीआई र जलपाइगढी डिभिजनल कमिश्नर समक्ष उक्त ज्ञापन पत्र सुम्पिएको बताइएको छ।

याे पनि हेर्नुस्

Leave a comment