गरीब दुखीलाई बन विभागले कमाई खान नदिएको आरोप

कालचिनीः डुवर्सको अलिपुरद्वार जिल्लाको कालचिनी, कुमारग्राम र मदारीहाट-बीरपाडा ब्लक प्रायः जसो चियाकमान र बनबस्तीले घेरिएको ठाउँ हो। प्रायः ७१ प्रतिशत भन्दा अधिक क्षेत्रफलमा संरक्षित जङ्गल अनि धेरै बनबस्तीहरू पर्दछन्। चियाकमान र बनबस्तीका प्रायः बासिन्दाहरूले आफ्नो जीविकापार्जन गर्न सानो तिनो दोकान तथा पसल चलाउँदै आइरहेको र यसले नै उनीहरूको परिवारको भरन पोषण चल्दै आएको छ भन्दा अत्युक्ति नहोला। तर बन विभागले अचेल सबै कुरामा लगाम लगाउन थालेकोबिच कालचिनी खण्ड अधीनस्थ बक्सा ब्याघ्र प्रकल्प पश्चिमको हेमिल्टनगञ्ज रेन्ज अन्तर्गत पर्ने बुथुरी बनबस्तीका एकजना गरीब गाउँले शारीरिक रुपले केही दिव्याङ्ग रहेको विकास छेत्री र तिनको पत्नी शीलु छेत्रीलाई बुथुरी गाउँ पस्ने बाटोको कुइनेटोमा एउटा प्लास्टिकको छाप्रोमा चिया, घुगुनी, दही, महीको दोकान चलाउँदै आएकोमा बन विभागले खोँचे थापेको घटना प्रकासमा आएको छ। करीब ३ वर्ष भन्दा अधिक समयदेखि राङ्गामाटी रोड संलग्न बुथुरी बनबस्ती पस्ने बाटोको कुइनेटोमा यी लोग्ने स्वास्नीले यो सानो दिनभरी चल्ने चिया दोकान चलाउँदै आइरहेको तर अहिले आएर बन विभागले उक्त ठाउँबाट दोकान हटाउने नत्र फरेस्ट एक्ट अन्तर्गत मुद्दा दर्ता गरिने चेताउनी पाएकोले बुथुरी बनबस्तीका बासिन्दाहरूले क्षोभ व्यक्त गर्न थालेका छन्। यस सम्बन्धमा बन विभागले पक्का संरचनाको दोकान निर्माण गरेको मिथ्या अभियोग लगाएको गाउँले पञ्चायत अनि पीडित दोकाने लोग्ने स्वास्नीको आरोप रहेको छ। यसै क्रममा घटना सुनेर फ्याक्ट फाइन्डिङ गर्न सो स्थलमा उत्तरबंगाल बन जन श्रमजीवी मञ्चका कन्भेनर लालसिंह भुजेल र सहकन्भेनर सुन्दरसिंह राभा अनि टोलीहरू आइपुगेका थिए भने सो सम्बन्धमा फ्याक्ट फाइन्डिङ टोलीका प्रतिनिधि लालसिंह भुजेलले बन विभागले एफआरसीको नियमलाई अनदेखा गरेर बनबस्ती बासिन्दालाई बल मिच्याइ गर्न लागेको बताउँदै ग्राम सभाले मिलेर असहाय दिव्याङ्ग परिवारले चिया पसल गरिखाएको देख्न नसकेको आरोप लगाएका छन्। तिनले ग्राम सभाको अधिकार र गाउँलेलाई जबरजस्ती उच्छेद गर्ने षडयन्त्र गर्ने काम गरेको र परिवारको पेट पाल्ने असहाय दिव्याङ्ग परिवारलाई बल मिच्याइ गर्न नदिइने बताएका छन्। दोकान जुन ठाउँमा छन् त्यहीँ नै बस्ने यदि आवश्यक परे गाउँलेहरू समेटेर बन विभाग विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेताउनी समेत दिएका छन्।


पुर्खादेखि बस्दै आइरहेको गाउँलेहरूलाई १५ लाखको लोभ देखाएर जङ्गली जानवरको भय देखाएर उठिवास गर्ने बन विभागको हेपाह प्रवृतिलाई उत्तरबंगाल बन जन श्रमजीवी मञ्चले सहन नगर्ने पनि लालसिंह भुजेलले जनाएका छन्। यता मञ्चका सहकन्भेनर सुन्दरसिंह राभाले गरीब बनबस्तीका परिवारले अस्थायी चिया दोकान लगाएर हातमुख जोडने काम गर्दा बन विभागले पीडब्ल्यूडी रोड संलग्न रहेको ठाउँमा विवाद उत्पन्न गर्न खोजेको आरोप लगाए। यसरी नै गाउँले पञ्चायत सदस्य राम सुवेदीले यस ठाउँमा दोकान थापेर बन विभागलाई हानी होइन बरु उल्टा बन विभागलाई सहयोग गर्ने काम यी परिवारले गरिरहेको र सेन्ट्रल डुवर्स राङ्गामाटी र कालचिनी गाउँ आउने जाने मानिसहरूलाई जंगली हात्ती वा अन्य जानवरबारे सचेत रहने सङ्केत दिँदै आइरहेको जनाएका छन्।
यता पीडित दिव्याङ्ग दोकाने विकास छेत्री र तिनको पत्नी शीलु छेत्रीले पनि आफूहरू विगत ३ साल अघिदेखि नै यो राङ्गामाटी रोड किनारी गाउँ पस्ने कुइनाटोमा दिनको बेला चिया खाजाको पसल चलाउँदै आइरहेको र आफूहरूले कुनै वन्य कानूनको अवहेलना नगरेको बताउँदै विकलाङ्ग परेकोले बाहिर कमाई गर्न जान नसक्ने अवस्था भएकोले दोबाटोमा चिया दोकान गर्दै परिवारको भरन पोषण गर्दै आइरहेको जनाएका छन्। आफूहरूलाई यो दोकान गर्न ग्राम सभाले नै अनुमति दिएको र बिहानदेखि अपरान्हसम्म मात्र दोकान सञ्चालन गर्दै आएको जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment