दुर्गम बक्साद्वारमा बिजुली परिसेवा ठीक नभएको गुनासो

कालचिनीः अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको दुर्गम बक्साद्वार गाउँहरूमा विगत महीनादेखि बिजुली परिसेवा ठीक नभएको गुनासो बक्साद्वार बासिन्दाहरूले गरेका छन्। विगत केही दिन अघि पनि बक्साफोर्ट मैदान संलग्न क्षेत्रमा बिजुलीको स्पर्शले चरनमा रहेको गाईको ज्यान गएको थियो भने त्यसपश्चात सम्पूर्ण बक्साद्वारको १४ वटा गाउँमा बिजुली सर्वराह ठप्प बनेको थियो।
एकातिर बिजुली बत्ती नहुनु अर्कोतिर मुसलधारे वर्षाले बक्साद्वारको साँघुरो बाटो पनि पैह्रोले धस्किन जाँदा आपतकालिन समयमा रोगी लिएर तल सुन्तलाबारीसम्म झर्नु जोखिमपूर्ण बनेको बताउँछन् स्थानीय बासिन्दाहरू। बिजुली परिसेवा र सम्बन्धित समस्या लिएर मङ्गलबार बक्साद्वारका फरेस्ट राइट्स कमिटीको पक्षबाट अलिपुरद्वार डुवर्सकन्यास्थित बिजुली विभागको अधिकारी समक्ष ज्ञापन चढाएको जानकारी बक्साद्वार फरेस्ट राइट्स कमिटीको सचिव विकास थापाले दिएका छन्।
बिजुली कनेक्सन नहुँदाको अर्कै परिस्थिति र अहिले बिजुली कनेक्सन भएर पनि बिजुलीको उज्यालो उपभोग गर्न बक्साद्वार बासिन्दाहरूले राम्ररी नपाइरहेकोले धेरै समस्या भएको अवगत गराउँदै बिजुली विभागको अधिकारी समक्ष बक्साद्वारको बिजुली परिसेवाको निम्ति खटाइएको कर्मचारीलाई पुनः नियुक्ति गरियोस् भनि निवेदन पनि ज्ञापन मार्फत चढाइएको विकास थापालगायत स्थानीय पञ्चायत सदस्य किन्ले बुद्ध डुक्पा र बिमला सुब्बाले जनाएका छन्।

Leave a comment