कालचिनीः चुनाउ प्रचारको क्रममा सोमबार कालचिनी, मेचपाड़ा ८ नम्बर, चुवापाड़ा, राधारानी, सेन्ट्रल डुवर्स चियाकमान लगायत हाँसीमारा र दलसिंहपाड़ा क्षेत्रमा रोड सो गर्न आइपुगेका तृणमूलका अलिपुरद्वार लोकसभा प्रार्थी प्रकास चीक बडाईकले यसपालीको भोटको परिणाममा म्याजिक फिगर आउने विश्वासनीयता जाहेर गरेका छन्। तिनले गणदेउताको म्यान्डेट सर्वोपरि रहेको र यसपाली पहिला जस्तो भोट नहुने र सचेत मतदातामाथि आफ्नो पूर्ण आस्था रहेकोले अलिपुरद्वार लोकसभा केन्द्रको जनताले अवश्यै आफूलाई जिताउने बताएका छन्। कालचिनी रेलवे स्टेशनदेखि कालचिनी मोमबत्ती चौकमा पुगेर बीर बिरसा मुन्डा र सहीद मेजर दुर्गा मल्लको सालिकमा माल्यार्पण गरेपछि कालचिनी राङ्गामाटी रोडमा रोड सो गर्दै लोकसभा प्रार्थी प्रकास चीक बडाईक मेचपाड़ास्थित सहीद राजीव थापा चौकमा आईपुगेका थिए।
तिनले सहीदको सालिकमा धुपदीप बाल्दै पुष्पार्पण गरेपछि सहीद राजीव थापाको पिताको चरण स्पर्श गर्दै आशीर्वाद मागेको थियो।
मेचपाडाबाट चुवापाड़ा प्रस्थान गर्ने क्रममा तृणमूल अलिपुरद्वार लोकसभा केन्द्रको प्रार्थी प्रकास चीक बडाईकले विकासको मुद्दालाई अघि सारेर यसपाली चुनावी मैदानमा ओर्लिएको बताउँदै मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले चियाकमानका श्रमिकहरूको रोज वृद्धि एवम् चिया श्रमिकहरूलाई जमीनको पट्टासहित घर बनाउन १ लाख २० हजार रुपियाँ प्रदान अनि ५३ वटा चियाकमानमा अस्पताल, ९६ चियाबारीमा आधुनिक क्रेच हाउसको निर्माण साथै महिला दिदी-बहिनीहरूको लागि लक्ष्मी भण्डारको भत्ता यी सबै सुविधा उपलब्ध गराएको छ।
भाजपाको सांसदको ५ बर्षमा २५ करोड रुपियाँको हिसाब किताब छैन यसको जवाफ सचेत मतदाताले दिनेछ र यसपालीको चुनावी फलाफलको म्याजिक फिगर आउने पनि तिनले ठोकुवा गरेका छन्। जनता पहिलाको जस्तो नरहेको र मोदी म्याजिक फ्याक्टर नहुने र जनताले सचेत रुपमा मतदान गर्ने चियाबारीको सर्भेले पनि बताएको अलिपुरद्वार लोकसभा केन्द्रको तृणमूल प्रार्थी प्रकास चीक बडाईकले जनाएका छन्। चुनावी रोड सो गर्ने क्रममा सोमबार प्रार्थी प्रकास चीक बडाईकको समर्थक लश्करले आज कालचिनी खण्डको प्राय अधिकांश क्षेत्रहरूको परिक्रमा गरेको थियो।
