प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – २
११. राष्ट्रिय मूल धारा
बेमौसमको मौसम जस्तो छ यो मौसम दौरा-सुरुवाल र फरिया चौबन्दीका लागि। तै पनि हावामा रङ्ग छ। अनुहारमा रङ्ग छ। रङ्गिलो होली पर्वको मौसम छ। उत्साह र आनन्द छन्। चारैतिर मौसमी मनोरञ्जन छ। बाटामा रङ्ग। गल्लीमा रङ्ग। चोकमा रङ्ग। हत्केला, हत्केलामा रङ्ग। रङ्गको मिलन राष्ट्रिय सन्दर्भमा साम्प्रदायिक मनहरू जोड्ने उपक्रममा छ।
रङ्ग पर्यो- सलवार कुर्तामा ।
रङ्ग पर्यो- घाघरमा।
र अन्तमा रङ्ग पर्यो- दौरा-सुरुवाल र फरिया-चौबन्दीमा ।
रङ्ग निख्रियो। ढङ्ग बिग्रियो ।
बेढङ्गसँग रङ्गको स्तर मैलो नालीको पानीमा खस्यो। घाघराहरू, चुनरीहरू, सल्वार कुर्ता कमिजहरू रङ्ग खेलिसकेर सुकिलो हुने तरखरमा थिए। स्तरहीन रङ्ग पोखियो- दौरा, सुरुवाल, फरिया र चौबन्दीमाथि। ढल जमेको कालो कुस्तित र दुर्गन्धित पानीले भिज्नसम्म निथ्रुक्क भिजे तीहरू। हाम्राहरू ।
एकजना पर्व पर्यवेक्षकले भीडमा तिनीहरूलाई सोध्यो-
‘के यो तिमीहरूकै पर्व हो ?’
दौराले सगर्व उत्तर दियो- ‘यो राष्ट्रिय पर्व हो र हामी राष्ट्रिय मूलधारामा हेलिनका लागि परित्यक्त रङ्ग स्वीकारी रहेका छौँ।’
१२. जुम्राको खेती
‘के भयो ?’
‘घटना।’
‘कस्तो घटना?’
‘दुई नेताहरूको भीडन्त ।’
‘पक्ष पक्षका कि पक्ष विपक्षका ?’
‘पक्ष विपक्षका ।’
‘भीडन्तको कारण?’
‘दुवैले एकार्काको आँगमा भैंसी हिंडेको दोषारोपण गरे।’
‘त्यसपछि?’
‘एउटा सम्झौता भयो।’
‘कस्तो सम्झौता ?’
‘एक अर्काको आँगको भैंसीलाई समात्ने।’
‘परिणाम?’
‘भैंसी भेटिएन।’
‘अर्को परिणाम?’
‘एक अर्काको आँगमा जुम्रा भेटिए।’
‘अझ अर्को परिणाम?’
‘एक अर्काको जुम्रा मार्न थाले। धेरै समयदेखि ती जुम्रा पीडित थिए।’
‘अझ अर्को परिणाम?’
‘जुम्राका कारणले ती एक अर्कामा मिले।’
‘अन्तिम परिणाम?’
‘आ-आफ्नो आँगमा तिनीहरू जुम्राको खेती गर्न थाले।’
१३. धर्मशाला
औसत रूपमा हेर्नु हो भने ऊ पनि अर्ध नित्से नै बनि सक्यो। ईश्वरको मृत्यु बुझिसकेपछि धर्मको सम्बन्धमा सोच्नु पर्ने थोक ऊसँग रहेन। ऊ धर्मशाला बनाएर धर्म कमाउन चाहँदैन थियो। बरू एउटा धर्मशाला भनाउँदो छानु मात्र ठहऱ्याइएको ठाउँमा ऊ साविक धाउने भयो। राजनीति, भ्रष्टचार, लोकाचार, शोषण, दमन, जुलूस, नारा आदिबारे त्यहाँ टिका टिप्पणी हुने गर्थे। त्यहाँ गई अड्डा जमाउनुमा बेग्लै आनन्द थियो। तास, लुडो, चेस पनि चल्थ्यो। किनकि त्यो धर्मशाला थियो। सूर्यास्तपछि ‘भोले बाबा’ को प्रसाद चल्थ्यो सुल्फा पछि सुल्फा। अलि अबेर हुँदै गएपछि ‘लोकल खट्टु’ पनि चलि हाल्थ्यो। किनकि त्यो धर्मशाला थियो।
एक दिन धर्मशाला शून्य थियो। ऊ त्यहाँ पुगेको थियो। तर त्यहाँ बलात्कारपछि हत्या गरिएको एउटी युवतीको नग्न शरीर लडिरहेको थियो।
अचानक पछिबाट एकजना पुलिस आएर उसलाई समात्दै भन्यो- ‘हिंडू थाना। त्यहाँ नै जाँच पडताल हुन्छ।’
जाँदा जाँदै उसले पुलिसलाई सोध्नै सकेन -यो धर्मशाला हो कि पापशाला?
१४. काकाकुली
सरकारले सम्पूर्ण क्षेत्रलाई खडेरीग्रस्त घोषित गर्यो। धरती थोपा थोपा पानीको लागि तड्पियो।
आकाशमा बादल थिएन। तुँवालोभित्र काकाकुली उडिरह्यो कराउँदै ‘पानी, पानी।’ धर्मशाला काण्डमा थुना परेपछि प्रमाणहीन ऊ बाहिर निस्कियो। किन कि जेलभित्र पनि पानी थिएन। यसर्थ, ऊ पनि पानीको खोजीमा चारैतिर दौडियो। फेरि उसको टाउकामाथि काकाकुली त्यसरी नै करायो ‘पानी… पानी।’
तर पानी पाँच तारे होटलको स्वीमिङ पुलमा बन्दक भएर बसेको थियो। धरतीभरि खालि खुट्टे काकाकुलीहरू व्याकुल भई हिँडिरहेका थिए।
१५. राम-नाम
राम, नाम !
अन्त्याक्षर ‘म’ । दुवै।
म अनि म ।
म-मृत्यु ।
म-महानता
राम-नाम सत्य है।
जीवनसँग तिर्खाएर, काकाकुली भएर ऊ मलामीमा छ।
राम-नाम सत्य है।
राम नाम सत्य है।
राम-नाम मृत्यु हो त?
जीवनसँग हारेर एक हिसाबले ऊ मृत्युको जुलूसमा हिँड्दैछ ।
ऊ जीवनको अन्तिम अक्षर मृत्युमा खोज्दैछ।
जीवन-मृत्यु ?
अथवा
मृत्यु जीवन ?
मृत्युको मुखाक्षर ‘म’ हो भने राम-नामको अन्त्याक्षर पनि ‘म’ नै हो।
यस अर्थमा ‘म’ महान्। ‘म’ मृत्यु। ‘सत्य।’
१६. रक्स्याहा
उसले एक रक्स्याहालाई भेट्यो।
रक्स्याहा बोल्यो- ‘म रक्सी पिउँछु।’
बुझेकै कुरामा फेरि करायो- ‘म रक्सी पिउँछु तर रक्सीले के पिउँछ?’
उसले सोध्यो- ‘रक्सी के हो? पहिला त्यो बताऊ।’
सचेत जस्तो रक्स्याहाले भन्यो- ‘रक्सीको शाब्दिक विपरीत रूप त सिरक हो।’
‘सिरक चाहिँ कुन अर्थमा?’ उसले यस्तै सोध्यो ।
‘यो सिरकले जीवनको चिसो छोप्छ।’
रक्स्याहा भावुक बन्यो।
दुई दिनपछि उक्त रक्स्याहा शहरको अनाम पेटीमा चीर चिसो भएर लडिरहेथ्यो।
१७. घृणा
जीवनमा उसले जति भात खाएको छ त्यति नै औसतमा उसले हण्टर खाएको खाएकै छ। अस्थायी नोकरीले परिवारको भरण-पोषण पूर्णतः नहुँदा खाएको हण्टर सायद उसको महत्त्वपूर्ण हण्टर हो। धर्मशाला काण्डमा पुलिस चौकीले आधा दिनसम्म रोक्दा पनि उसको नोकरीको अस्थायित्वमा झण्डै मार परेको। मरौंमाथि कात्रो। नोकरीको प्रसङ्गमा अस्थायित्वको दायी त्यही एकतन्त्रे घणटाउके नेता हो जसको विदेशमा सम्पत्तिको ठूलो अंश छ।
– यसर्थ, उक्त घणटाउके नेताप्रति उसको घृणा छ। कार्यालयमा उसैले बढ़ी खट्नी गर्नुपर्छ।
यसर्थ, पाँचौं वेतन आयोगको तलब भत्ताको ठूलो ‘भाग पचाएर आधा दिन पछि टाप कस्ने स्थायी कर्मचारी र शिक्षक शिक्षिकाप्रति उसको घृणा छ।
मेनपसका कारणले शारीरिक अक्षमता जनाउँछे घरकी स्वास्नी।
-यसर्थ, स्वास्नीप्रति पनि उसको घृणा छ।
महँगाइको मारले ऊ आफ्नो परिवारसँग ‘आँत छिना’ जिन्दगी जिउँदैछ। अन्तमा, आफैप्रति नै उसको तीव्र घृणा छ।
१८. बुँख्याचाहरूको ताली
ताली मार्ने बुख्याचाहरू उभिएको उभिएकै छन् । ताली मार्नु पनि रोग नै रहेछ। यही रोगले कति दशकदेखि ग्रस्त छन् गाउँ-गाउँ र टोल- टोलका बुख्याचाहरू। वास्तविक अनुहार पनि छैन बुँख्याचाहरूको। बाँसको कृत्रिम खुट्टाले उभ्याइएको परजीवि आधारमा कोरा कृत्रिम चल्मलसँग उभिएको उभिएकै छन् तीहरू। ताली मार्ने हत्केलाहरू पनि कृत्रिम छन्। तिनीहरूको मस्तिष्कको नाके डोरी भने हिमाल-टोपी ढल्काउने नेताको हातमा छ।
‘विकास कहाँ भएको छैन र यो पहाड़मा?’
दुई खुट्टे बाघले लामो सेतो ज्याकेटको छात्ती खोलेर भाले टाई देखाउँदै भन्यो।
बुँख्याचाहरूले ताली बजाए।
उसले पनि बुँख्याचासरह ताली बजायो।
‘हेर्दै जानोस्, यहाँ सुँगुरले पनि नुनिया चामलको भात खान्छ। तपाईंहरूको बिल्डिङको छप्परमा स्वीमिङ पुल बनिनेछ।’
ताली, बुँख्याचा ताली!
“यहाँ अमेरिकामाभन्दा धेरै विकास भएको छ। तेत्तीस कोटी देवी देउताको भाकल मैले पूरा गरिदिएको छु।’
बुँख्याचाहरूको तालीले रोकिने नामै लिएको छैन। तर तिनीहरूको आँखा बन्द छ।
‘वेगुनवेली फूलको पात ठूलो औषधि हो। स्वर्गलोकबाट भगवान्ले मानव कल्याणको -लागि पठाएको उपहार हो। जनताले त्यो सेवन गर्नु। कुनै रोगको अपरेशन पर्दैन।’
फेरि ताली।
‘साइ बाबा मलाई भेट्नु आएको थियो। पृथ्वीको आयु अब धेर छैन। गुरु पूर्णेमा झाँक्रीहरूको जुलूस निकाल्नु पर्छ। पानी परेन भने सबैले नाग नागिनीको पूजा गर्नु ।’
तालीमाथि अझ ताली।
कति बुँख्याचाहरू त निदाएरै ताली बजाइरहे।
उसले पनि भाषणको अन्तमा जोडको ताली बजायो। किनकि उसको अस्थायी नोकरीको चारो त्यही नेताको मुट्ठीभित्र थियो।
१६. प्रश्न
केही दिनपछि उसको मनमा प्रश्न उब्जियो ।
पानी पन्यो ?
परेन।
असिना झयो ?
झरेन ।
सुँगुरले नुनिया चामलको भात खायो?
…………………………………….?
अमेरिकामाभन्दा धेरै विकास भयो? .
………………………………………?
त्यसपछि उसले आफैलाई प्रश्न गयो-
‘के म सद्दे बुँख्याचा हुँ त?’
……………!………?…….?……….??
२०. अंश-बण्डा
सम्भ्रान्त परिवारमा अंश बण्डा भयो।
– नारीको मौलिक अधिकार सम्पत्तिमा पनि हुन्छ।
पक्ष
– छोरो भनेको कुल वंशको बीऊ हो। बढी उसकै हक हुन्छ।
विपक्ष।
– कुल वंशको मुहान नारी हो र सबै मामलामा समानता हुनुपर्छ।
पक्ष। लामो वहस चल्यो। निर्क्यौल।
सम्भ्रान्त परिवारका छोरा छोरी दुवैले समान समान अंश पाए।
यस्तो समस्याबाट निजात पाउन ऊ मात्र निश्चिन्त थियो। उसका छोरा-छोरी हवाइ चप्पल चुडिएर खाली खुट्टा हिँड्न थालेका थिए।
क्रमशः
याे पनि हेर्नुस्
Amazon
Wireless Microphone
DIGITEK® (DWM-103) Wireless Microphone System with ANC Noise Reduction & 8Hrs Battery Life, 30m Range, High Fidelity, Dual Connector to Work with Android & iOS Devices for Seamless Audio Recordings