पाेस्टर र लात

प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – १

१. पोस्टर

ऊ भीडभित्र पोस्टर भएर उभिएको छ। पोस्टर हुनु उसको शोख हो। तर भीडको आँखा ऊमाथि छैन। माथि भित्ताको सार्वजनिक पोस्टरहरूमा छ भीडको आँखा। पोस्टरहरू त्यहाँ भोकाएका छन्, जस्तो ऊ भोकाएको छ। तै, भोक र पोस्टरको सङ्क्रमणमा ऊ बाँचेको बाँचेकै छ। भित्तामा एकाएक अक्षरहरू चबाएर पोस्टरहरू कराएको उसले सुन्यो।

पाेस्टर रलात
पाेस्टर र लात
  • -हाम्रो अस्तित्वको सवाल… माटोको चिन्हारी…।
  • – फलानो जिन्दाबाद, फलानो मुर्दाबाद।
  • – हाम्रो माटो फर्काई दे।
  • – मानिस काकाकुली बन्यो पानीको तलासमा।
  • – स्थायीकरण झट्टै गर। महँगाइ किन बढ्यो ?
पाेस्टर र लात
पाेस्टर र लात

उसले अनुहार छाम्यो। त्यहाँ आफ्नो जागिरे अवस्थाको अर्ध- स्थायित्व फेविकल भएर टाँस्ये टाँस्यै छ। छाम्यो खल्ती। तर रित्तो। अखबर किन्न नसकेरै ऊ पोस्टर पढ्न आएको। निस्वार्थ सेवा पुर्याउँछ पोस्टरले । नेताहरू, अफ्सरहरू किन पोस्टर पढ्न आउँदैनन् ? फेरि पोस्टरहरू एक पछि एक अभावग्रस्तता, गरीबी, रोगग्रस्तता करायो। नारा करायो पोस्टर। नाराभित्र गाली ग्लौंच। कराएको कराएकै गर्यो पोस्टर। हेर्दा हेर्दै पोस्टरहरू पागल बनेर आफूभरि बूँइ चढेका अक्षरहरूलाई लात कस्न थाले। साइज साइजको लात कसियो। पोस्टरहरू पूर्णतः विद्रोह सङ्क्रमित भए। लात खाने जति अक्षरहरू भीडमा पोखिए। माऊ अक्षरले भित्ताबाट कराउँदा अक्षरहरू फेरि समायोजित बनी अर्थ बोक्ने प्रयासमा लागे। तर भीडको अस्तव्यस्तताले अक्षरहरू मिल्नै सकेनन् । अर्थहीन अनि अर्थहीन। उसले फेरि अर्कै देख्यो – पोस्टरको सङ्क्रमणले भीडको प्रत्येक अनुहार पोस्टर बन्दै गयो। अघिसम्म उसको पोस्टरपनलाई लत्याउने भीडले अहिले पो उसलाई पढ्न खोज्यो। तर उसले भीडलाई आ-आफ्नो अनुहारको उप- पोस्टरहरू पढ्ने सल्लाह दियो। भीडले पनि उसको सुझाउ मानि लिएर त्यसलाई कार्यान्वित गर्ने कोशिश गयो। तर भीडभित्र प्रत्येक अनुहारको उप-पोस्टरमा अक्षरहरू चाहिँ एउटै थिएन।

२.

फुत्रुक्क !

”र”…।

वैयाकरणको कान्लाबाट

वाक्य गह्रमा

अक्षर-क्रान्ति

‘संयोजक’ ठान्छ।

समयलाई युगसँग जोड्ने हाँक दिन्छ।

‘र’ ऊ पनि एउटा संयोजकमा रूपान्तरित बन्छ।

‘क पुरी क’ को पुरानो दशक पानी सुकेको,

एक वान रक्सी उतारेर नयाँ दशकमा

ऊ पूर्णतः संयोजक बन्छ।

भोक र भात, पोस्टर र लात,

व्याकरण निखारेर स्तम्भ संयोजक

ऊ ‘र’ बन्छ ‘र’ ऊ बन्छ।

सुख र झोपड़ी,

सम्झौताको सलाम ठोक्न ऊ उभिएको छ।

‘र’ ऊ हिँडिरहेको छ।

‘र’ एउटा नियति भएर उसको निधारमा

टालिएको टालिएकै छ।

३. लात

‘लात ठोक्नु पर्छ, लात!’

यस घोषणाको अर्थअनुसार लात पनि एउटा विद्रोह हो।

ऊ मनमा दोहोऱ्याउँछ-विद्रोहको नयाँ प्रयोग लात पनि गजबकै छ बा ! सबैजना तर त्यहाँ आ-आफ्ना लात उज्याएर उभिए उभियै छन् ।

‘लातको भुत बातले मान्दैन’ । एउटाले ठोक्लाजस्तै गरेर भन्यो।

‘होशियार, स्व-अस्तित्व खाने भुत, जाति खाने भुत, बजेट खाने भुत, हाम्रो इतिहास र भुगोल खाने भुतहरूकै जगजगी छ। सबै लातसँग तयार, लौ होशियार !’

अर्को सचेतक कराएको उसले सुन्यो।

तर भुतहरू उपस्थित थिएनन्। कहिले भुत आउला र लात ठोकुँला भनेर तयार बसेको समूहमा ऊ पनि ठोक्ने मौकामा उभिरह्यो। सबैले युगको आँखाले पर्यवेक्षण गर्न थाले। लातको प्रजाति छुट्याउन थाले। कुनै क्षेत्रीय लात थियो, कुनै राष्ट्रिय लात थियो त कुनै अन्तर्राष्ट्रिय आकारकै लात थियो। सबैले आ-आफ्ना लातमा आ- आफ्ना प्रजातिको मार्का लगाउँदै थिए।

‘लौ हेर, हाम्रो भुगोलको कप्पु उड़ाएछ भुतले ।’

क्षेत्रीय प्रजातिको लातवालाले भन्यो। ‘अब भुतले नासेको हाम्रो इतिहासको तमसुक उकास्नु पर्छ।’ राष्ट्रिय स्तरभन्दा सेक् सेक् सानो अर्को लातवालाले यस्सै भन्यो।

‘हाम्रो जातित्वलाई ‘हेग’ को अदालतमा झण्डै बन्दक राख्यो ठूलो भुतले।’ अन्तर्राष्ट्रिय स्तरको लातवालाले आफ्नै स्पष्टीकरण दियो।

‘लौ भुत आयो, भुत।’ समूहबाट नचिनिने गरी आवाज आयो। लातवालाहरू सबै जुर्मुराए। तर तत्क्षणै भुत भेटिएन। लातवालाहरूले जाँच बैठक बसाए। अन्वेषण प्रक्रिया शुरु भयो। अन्ततः एकजना लातवाला नै पक्रा पयो। जाँच बैठक कुन निष्कर्षमा पुग्यो भने त्यो एकजना किर्ते लातवाला थियो। भुतकै सुलसुले थियो। एकाएक सबै प्रजातिका लातहरू बर्षिए त्योमाथि। तर जति नै लात बर्षिए पनि त्यो हाँसि नै रह्यो। लातवालाहरू सबै थाकेर बसे। लात विशेषज्ञ उठेर त्यसलाई सोध्यो- ‘लातमा त्यस्तो कुन आनन्द छ र तँ हाँस्छस्?’

किर्ते प्रतिनिधिले भन्यो- ‘जीवनमा मैले आफ्नो भुतकालीन अवस्थामा माऊ भुतसँग थरि थरिको घुस खाएँ। तर लात कहिल्यै खाएको थिएन । लातको स्वाद बेग्लै लाग्यो र म हाँसेको हुँ।’

अन्तमा जाँच बैठकले उसलाई भुतमाथि लात उज्याउने निर्देश दियो। तर ऊ जन्मजात अपङ्ग थियो।

४. खण्डहर

खण्डहर छ। आकाश मुनि खडेरी छ। खड़ेरीकै मुन्तिर खण्डहर छ। तर विस्थापन छ। स्थापित हुँदा खण्डहर कस्तो थियो होला? त्यसताक इतिहास रोपिए पछि तमसुकमा परेको काल-खण्डमा क्रमिकताको मारले त्यो ओइलाएको थियो होला। त्यही अर्थमा मृतत्वबाट बौहिएर ऊ आयो। ऊ एउटा अपात्र हो। तर सबै पात्रमा उसको उपस्थिति छ। ऊ एउटा व्यक्ति-सत्ता हो। ऊ एउटा वर्तमान हो। ऊ भूतकालांश हो। भविष्य निश्चित छैन। ऊ एउटा सर्वनाम-मान्छे। ऊ एउटा संज्ञा । तर ऊ संसारको खण्डहरमा छ। माथिको आकाश खड़ेरीले रापिलो छ। मानक तत्त्व धरतीमा मान्छेको मानक निर्धारण गर्ने तरखरमा छ। तर खड़ेरीमा पानी नपाएपछि मान्छे यति हलूं भएको छ कि मानदण्डले नभियाएपछि घट्‌को चिन्हमुनि मान्छेको अङ्क झर्न थाल्यो। त्यो अङ्कको उर्ध्व बिन्दु कहाँ पुगेर अड़िने हो- त्यो त उसलाई पनि थाहा छैन।

५. हजुर बाको ग्रामोफोन

खडेरीको त्रासले पूर्णतः विक्षिप्त भएपछि अब उसले सोच्ने उपाय के रह्यो त? एकाएक उसले हिमाल सम्झ्यो। कुनै म्युजियममा बन्दक बनाइएको हजुरबाको ग्रामोफोनमा बालक बालक छँदा उसले यस्तो गीत सुनेको थियो ।

‘हाम्रो तेञ्जिङ शेर्पाले

चड्‌यो हिमाल चुचुरा।’

सपना होइन, विपनाबाटै ब्युझिएर उसले तेञ्जिङ खोज्दा आफ्नो तेञ्जिङ पाएन। उसको सामू साम्प्रदायिक नङ्ग्राले कोपरेको मानचित्र थियो। त्यहाँबाटै उसको हिमाल गायब थियो।

६. प्रेमको परिभाषा

एक ताक जीवनमा ऊ पनि एउटा प्रेमी थियो। यौवनका पाइलाले टेकेर मनका रङ्गहरूमा जिन्दगी सिङ्गार्ने उसका सपना थिए। उसकी प्रियसी फूलकै एउटी थुँगो थिई। यसर्थ, फूलको मुटुमा प्रेमको स्पन्दन सुन्दै ऊ आफ्नी प्रियसीसँग एकान्तमा कहिले काहीँ बस्थ्यो ।

ऊ भन्थ्यो- ‘हाम्रो प्रेम दिन र रात हुनु हुँदैन।’

प्रियसी सोध्थी- ‘त्यो किन?’

ऊ भन्थ्यो- ‘दिन र रातको आ-आफ्नो समय-सीमा छ। यसर्थ, तिनीहरूको मिलन हुँदैन।’

‘हाम्रो मिलन कसरी कायम रहन्छ त?’ प्रियसीले रोला झैँ गरेर सोधेकी थिई। ‘घाम र जूनलाई मिलाउनु पर्छ हाम्रो प्रेममा…।’ उसको उत्तर।

‘त्यो पनि कसरी?’ प्रियसी छक्कै परेकी थिई। ‘घामको दिन र जूनको रातलाई प्रेमको कचौरामा मिलाउनु पर्छ।’

ऊ अझ भावुक भएको थियो।

…तर दिन र रात कहिले मिलेनन् । घाम घामकै समयमा उदाइरह्यो। जून जूनकै समयमा अस्ताइरह्यो ।

कैयन वर्षपछि उसले तिनै प्रियसीलाई देख्यो। प्रियसी दुई हातमा छोरा-छोरी डोहोर्याउँदै गइरहेकी थिई।… त्यो प्रेमको परिभाषाको घाम छोरो होला र जून छोरी होली। तर घाम र जूनको हातमा स-साना दाउराको बिटो थियो । ग्यास चूल्हाको जमानामा बरा दाउराले नै भात पकाइ खाँदा हुन् ती !

७. पागल-बस्ती

सचेतहरूको क्षेत्रबाहिर एउटा पागल बस्ती छ। त्यहाँ पागलहरू कसरी बाँचेका छन् सो तथाकथित सचेतहरूलाई थाहा छैन।

खै किन बहुलाउँछ मान्छे?

एक दिन उसले आफैलाई सोध्यो ।

त्यसको उत्तर पनि उसले आफैलाई दियो ।

-भोक र गरीबीले मानिस बहुलाउँछ ।

-शोषण र दमनले मानिस बहुलाउँछ।

असन्तोष, कुण्ठा र ग्लानिले मानिस बहुलाउँछ ।

एक दिन पागल-बस्तीबाट एउटा पागल उम्किएर आयो। तथाकथित सचेतहरूको क्षेत्रभित्र प्रवेश गरेपछि पागलको उग्रता त बढेर गयो तर त्यसले सचेतहरूलाई कहिले पनि हानि पुर्याएन।

गाउँको अग्लो ढिस्कनामाथि उभिएर एक दिन उक्त पागल करायो- ‘गाउँलेहरू हो तिमीहरू मसित नडराओ। म तिमीहरूको केही पनि बिगार्दिन।’

‘त्यसो भए तिम्रो मनसाय के हो त?’ सामू उभिएको एकजना सचेतले आँटिलो भए पागललाई सोध्यो ।

‘कुकुरहरूलाई खोजी खोजी म टोक्ने गर्छु।’

अनौठो उत्तर थियो पागलको ।

‘किन कुकुरलाई नै टोक्ने?’ फेरि सचेतले सोध्यो ।

‘समाजको स्तर कुकुर जस्तै घटिया भएको छ। हाम्रो सामाजिकताको उपमा कुकुर भइ दियो। यसर्थ, म त्यो वदनाम उपमालाई खत्तम पार्न चाहन्छु।’

पागलले सचेत कुरो बतायो। त्यस दिनदेखि त्यसले कुकुरहरूलाई खेदी खेदी टोक्न थाल्यो। पागलको एकै टोकाइ पछि कुकुरको प्राण रहँदैन थियो।

गाउँका कुकुरहरू सखाप भए। पागलले कुकुर टोकेको कुरो चारैतिर फैलियो। यो क्षेत्रियदेखि राष्ट्रिय बन्यो। अन्तमा यो अन्तर्राष्ट्रिय खबर बन्यो। प्रेस र मिडियाका कार्यकर्ताहरू दिनहुँ गाउँमा भीड़ लाग्न थाले। छायाङ्कन गर्नेहरू अन्धाकारमा पनि पागलको पछि पछि कुद्थे। पागलले टोकेपछि कसरी कुकुरको मृत्यु हुन्छ सो दृश्य कैद गरी ब्रेकिङ न्यूजको रकम हत्याउन तिनीहरू रात दिन लागिरहे।

गाउँमा रहेका अन्तिम एक दुई कुकुरहरू पनि पागलको टोकाइले पूर्णतः शेष भए। कुकुर टोक्ने पागल अब शहर पस्ने छ भन्ने हल्लाले शहरबासी त्रसित भए। सम्भ्रान्त परिवारका महिलाहरू आफ्नो उन्नत विदेशी नश्लका कुकुरहरूलाई पागलले टोक्ला भनी प्राही त्राही त्राही  बने। यसर्थ, यस समस्याको समाधानार्थ सम्भ्रान्त पतिहरू गृह मन्त्रालयलाई उजुरी-पत्र लेख्नमा तल्लीन हुन थाले।

ऊ विचारशून्य हाँसि रह्यो।

८. जुलूसको मौसम

आन्दोलन के-का निम्ति ?

स्व-अस्तित्व र जातीय अस्मिताका लागि।

जुलूस के को?

आन्दोलनको प्रबल पक्ष।

आन्दोलनको चरम बिन्दु के हो?

सम्झौता।

सम्झौताको प्रतिफल चाहिँ के हो?

आर्थिक सहुलियत र प्रशासनिक सुविधा।

सुविधाको अंशदार को हो? नेता कि जनता?

यसको उत्तर चाहिँ ऊसँग छैन।

६. ईश्वरको खोजी

एक दिन ऊ ईश्वरको खोजीमा निस्क्यो ।

ऊ मन्दिर गयो। मस्जिद गयो। त्यसपछि गुरुद्वार, गिर्जा, गुम्बा कुनै पनि स्थान उसले छाडेन । ईश्वर खोज्ने शुरुआती क्रममा उसले अनन्तताको पुच्छर पनि भेट्टाएन। सर्वव्यापकता ईश्वरको रूप हो। उसले यो पनि बुझेको थियो। तर संसारिक सर्व व्यापकतामा उसले भेट्यो-शोषण, पाप, गरीबी, परतन्त्रता, भोक, प्यास र कोरा नग्नता। ईश्वरको खोजीमा ऊ अंशत अर्ध पागल र विक्षिप्त बनिसकेको थियो।

एक दिन ऊ एउटा नितान्त निर्जन स्थानमा पुग्यो। त्यहाँ एउटा मन्दिर थियो। तर भक्तको भक्ति थिएन त्यहाँ। घण्टीको आवाज थिएन। शङ्खनाद थिएन। थियो शून्यताको निनाद।

‘ईश्वर तिमी कहाँ छौ?’

ऊ करायो। फेरि त्यस्तै करायो।

त्यहाँ तर महाशुन्यता बोल्यो- ‘तिमीले खोजेको ईश्वर यहाँ छैन।’

‘कहाँ छ? हे महाशून्यता मलाई बताऊ।’

ऊ मुर्छा पर्ला जस्तो भयो।

फेरि महाशून्यताको नाद सुनियो ? ‘मानिसहरू जसलाई ईश्वर मान्छन् त्यो वृहत रहस्यको ब्राह्मण्ड रूप हो।’

‘त्यो रहस्यको रूप कहाँ हुन्छ?’

उसले फेरि ठाडै सोध्यो ।

‘त्यो रहस्यको रूप मन्दिर, गिर्जा, गुम्बा, गुरुद्वार, गुफा र मस्जिदभित्र हुन्छ। जुन दिन मानिसले त्यो रहस्य पत्तो लगाउँछ त्यही दिनदेखि ईश्वरको अस्तित्व नै संसारबाट विलुप्त हुनेछ ।’

महाशून्यता बिलायो ।

तर उसको चित्त बुझिसकेको थियो र ऊ अर्को जुनीमा नित्से भएर जन्मने कुरो सोच्न थाल्यो।

१०. फलानोको सालिग

एउटा नेतासँग उसको थोरै परिचय थियो। नेताको परिचय सार्वजनिक विषय हो। पछिबाट ऊ त्यस नेताको नामसम्म लिन चाहँदैन थियो। नेता दम्भी, कुस्तित थियो। तै पनि जनता उसकै पछि पछि रात दिन लाग्थे। राजसी ठाँटको नेता प्रत्येक चुनाउपछि स्वास्नी फेर्थ्यो।

एक दिन नेताको काफिला उसकै छेउ भएर जाँदा उसले अरूले झैँ निहुरिएर नेताको दुई हत्केलामा आफ्नो माथ छुवाएन। नेता थियो सन्की। त्यो दिन त्यसले उसको दुवै गालामा चड्कन चड्कायो। त्यो सार्वजनिक चड्कन थियो। किन कि उसले जस्तो नेताविरुद्ध दुस्साहस अरू कसैले पनि गरेको थिएन।

एक दिन भीडभित्र नेताको पिठ्यूँमा जिरो प्वाइंटको दुरत्त्व अज्ञात पिस्तोल छुवाएर हत्या गरियो। साधारण जनताको सालिग नवनिने परम्पराको विरुद्ध उक्त नेताको सालिग बनियो। जब जब त्यो सालिग छेउ भएर ऊ जान्छ बाहिरका पर्यटकहरू उसलाई कसको सालिग हो भनेर सोध्ने गर्छन्। ऊ सबैलाई सोझो नामहीन उत्तर दिने गर्छ- ‘फलानोको सालिग।’

क्रमशः

याे पनि हेर्नुस्

Amazon

Sugathari Women’s & Girl’s Swiss

Sugathari Women’s & Girl’s Swiss Dot Shirred Frill Trim Layered Hem Cami Dress (Dress2 74)

Buy Now

Leave a comment