१४औँ अन्तरराष्ट्रिय म्हाणी दुङसुर पूजाको शुभारम्भ।
कालचिनी १५ जनवरी। अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघ केन्द्रिय समितिको तत्वावधानमा बुधबारदेखि १४औँ अन्तरराष्ट्रिय म्हाणी दुङसुर पूजाको शुभारम्भ महागुरु ख्येनछेन् रेम्बोर्जे साङ्गे लोडोको पावन उपस्थितिमा भएको जानकारी संघको महासचिव धर्मगुरु आचार्य साङ्गे छोफेलले दिएका छन्।
प्रायः ९०० लामाहरुको सान्निध्य र भारतको विभिन्न क्षेत्रबाट आएका म्हाणीपा उपासक औ उपासिकाहरुको उपस्थितिमा बुधबारदेखि शुरु भएको म्हाणी दुङसुर पूजा आगामी १९ जनवरीसम्म चल्ने बताइएको छ।
म्हाणी दुङसुर पूजाको निम्ति दार्जीलिङ पहाड, डुवर्स, र सिलगढी मात्र नभएर पूर्वोत्तर राज्य असम, मेघालय, मणिपुर, सिक्किम एवम् दिल्ली र कलकत्ताबाट बौद्ध श्रद्धालुजन उपस्थित रहेको महासचिव धर्मगुरु आचार्य साङ्गे छोफेलले जनाएका छन्।
उक्त म्हाणी दुङसुर पूजाको आयोजक कमिटीको सभापतिमा रुलु लामा र सचिवमा सार्कीमान ब्लोन रहेको बताइएको छ।
डुवर्सबाट बुद्ध गया पुग्न रेलको सेवा भने जस्तो उपलब्ध नभएता पनि बौद्ध श्रद्धालुजन बस अथवा अन्य रेलमा चढेर पुगेर पूजामा सामेल भएको महासचिव धर्मगुरु आचार्य साङ्गे छोफेलले थप जनाएका छन्।