खोलियो कालचिनी र राइमाटाङ चियाबारी, श्रमिकहरूमा हर्षको लहर
कालचिनीः विगत २०२३ सालको पूजा बोनस वितरण पश्चात अचानक बन्द भएको बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधीनस्थ रहेका कालचिनी र राइमाटाङ चियाबारी सोमबारदेखि पुनः खोलिएकोले दुवै चियाकमानका श्रमिकहरूमा खुसी छाएको छ। राज्य सरकारले जारी गरेको एसओपी एवम् सरकारी दिशानिर्देश मुताबिक प्रायः डेढ़ सालको अन्तरालमा बन्द कालचिनी र राइमटाङ चियाबारी खोलिएको कमान खोलाउने मूहर्तमा आएका राज्यसभा सांसद प्रकास चीक बडाइकले जनाएका छन्।
मर्चेन्ट मोङ्गर एग्रोटेक प्राइभेट लिमिटेडद्वारा यी दुवै चियाकमान खोलिएको बताइएको छ। कमान खोलिनाले दुवै कमान मिलाएर प्रायः ३२०० श्रमिक परिवारहरूले बकाया वेतन एवम् अन्यान्य सुविधाहरू चुक्ति मुताबिक पाउने बताइएको छ।
कमान खोलाउन सोमबार राइमाटाङ चियाबारीमा नयाँ कम्पनी मालिकसँगै राज्यों सांसद प्रकास चीक बडाइक, जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिन, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपती स्निग्धा साइबा, तृणमूल युवा सभापति पवन योल्मो, टीसीबीएसयू अध्यक्ष विरेन्द्र बारा उराँव, नकुल सोनार, एवम् कमानका यूनियन नेताहरूको उपस्थिति रहेको थियो।