दोस्रो गोर्खा माघे मिलन उत्सवको अन्तिम तयारी
कालचिनीः आगामी २४ र २५ जनवरीको दिन सम्पन्न हुने दोस्रो गोर्खा माघे मिलन उत्सवलाई लिएर आयोजक कमिटीको युद्धस्तरमा काम चलिरहेको जानकारी मंगलबार पत्रकार सम्मेलन मार्फत उत्सव कमिटीको पक्षबाट दिइएको छ। कार्यक्रमस्थलको निरीक्षण पश्चात पत्रकार सम्मेलन गर्दै आयोजक कमिटीको अध्यक्ष गौतम गुरुङ सचिव चन्दन भट्टराई र कार्यकारी अध्यक्ष हिमाल थापाले सम्पूर्ण गोर्खा जातिप्रेमी अनि विभिन्न जातगोष्ठी र संघ संस्थाका प्रतिनिधिहरूलाई सहभागी बन्न आग्रह गरेका छन्। २४ जनवरीको दिन दिउँसो भव्य ऱ्याली तथा शोभायात्रा सम्पन्न हुने बताउँदै आ-आफ्नो जातीय भेष-भूषा र बाजागाजासहित सबैलाई निमन्त्रणा गरिएको जनाएका छन् भने ऱ्याली पश्चात मञ्चको उद्घाटन र त्यसपछि कार्यक्रममा आगमन भएका अतिथिहरूलाई स्वागत एवम् सांस्कृतिक नृत्य अनि डुवर्सका उदीयमान गायक गायिकाहरूले नेपाली गीत सङ्गीत प्रस्तुत गर्ने बताइएको छ।
यसैदिन सिलगढी गोर्खे हाटको स्टल र जातगोष्ठीका प्रदर्शनी स्टलको पनि उद्घाटन हुने पत्रकारहरूलाई जनाइएको छ। गोर्खा माघे मिलन उत्सवमा असमका नवोदित गायिका उपासना रिजाललगायत प्रसिद्ध गायक सीबी गुरुङ (सिक्किम) डुवर्सका युवा गायक पूजन राई, विजय सार्की, प्रसिद्ध दोहोरो स्वरका गायक फौदा सिंह गुरुङ एवम् अन्यान्य कलाकारहरूको उपस्थिति एवम् कार्यक्रम सम्पन्न हुने बताइएको छ। कार्यक्रममा दोस्रो दिन साहित्यिक सत्रमा कविता वाचन पनि रहेको छ भने साँझ रङ्गारङ्ग ब्याण्ड कार्यक्रम चल्ने आयोजक कमिटीको अध्यक्ष गौतम गुरुङ, सचिव चन्दन भट्टराई र कार्यकारी अध्यक्ष हिमाल थापाले जानकारी गराएका छन्।