गीता दिदी उर्फ मसिहा

गीता दिदी उर्फ मसिहा

लीलाबहादुर छेत्री
लीलाबहादुर छेत्री

जब मेरो नितान्त वैयक्तिक दम्भ र अज्ञानताको कारणले कसैलाई असाध्यै दु:ख र पीडा भइरहेको कुराको अनुभव गर्नथाल्छु तब म आफूले विगतमा पाएका दु:ख पीडा सम्झन्छु। सहयोगी बनेर आएका मान्छेका माया  सम्झन्छु।त्यसमा पनि गीता दिदीको परिवाको हिस्सा बनेको किस्सा धेर सम्झन्छु । मेरालागि उनी मसिहा हुन् ।जो  मेरा असाध्यै  दुःख र पीडाका दिनहरूमा मुक्तिदाता बनेर आइन् । आफू शारीरिक रूपमा कमजोर । बिमारसँग जुझ्दै आएकी। शल्यक्रिया गरेकी शरीर ।तर आँत भने हेमानकी। मलाई हनुमान बनेर जिउनमा हौसला दिइन् । संक्षेपमा  गीता दिदिले मलाई  भारी निराशा र छट्पटी पनि जीवनकै एउटा पाटो हो भन्ने ज्ञान दिलाइन्। सदैव जिउनलाई  सुर्याइरहन्छिन्। अचेल भेट्दा भन्छिन्,”के भो लीला भाइ, फेरि दुब्लाएछौ त!”

………………..

जतिखेर म गीता दिदीको परिवारको हिस्सा बन्न पुगेँ त्यतिखेर मेरो हालत बेहाल थियो। अहिले म शारीरिक एवम् मानसिक रूपमा तन्दुरुस्त छु। यसको शतप्रतिशत श्रेय खुशीलाई जान्छ । नियमित  एवम् सन्तुलित भोजनको निम्ति बढी प्रोत्साहित गर्छिन् खुशी । उसको चिन्तामुक्त जीवनशैली मेरालागि प्रेरणाको अर्को स्रोत हो । तर, बाग्राकोट छँदा, त्यसमा पनि गीता दिदीकहाँ रहँदाबस्दा शारीरिक र मानसिक रुपले विकल थिएँ।उतिखेर सामान्य आर्थिक जोहो हुने माध्यमहरू त थिए तर, स्वास्थ्यमा गञ्गोलको स्थिति थियो। क्षयरोगबाट मुक्त भइए लगत्तै  मधुमेह र अरु समस्या झेल्नपरिरहेको थियो । रातदिनको भोकप्यास, पिसाब, पखाला, झुलन ,छट्पटी, अपच, बान्ता यी सबैलाई मैले एकैचोटि उछिनेर बाँच्नु थियो ।

ट्युसन पढाउने बेञ्च खापेर म सिकुवामा सुत्थेँ म। दुईचार वर्ष यही क्रममा रहेँ। त्यसो गर्दा मलाई दिसापिसाब जान सजिलो । राति अचाक्कली भोक लाग्दा उठेर बिरालो चालमा  किचन पस्नु पनि सजिलो । चिसो भात कोपर्थें।त्यो  नहुँदा पसेर काँचो चामल, दाल र चानामटर जेजस्तो भेटिन्छ गमुर्क्याउन पाइने। दिउँसो होस् कि रात, खाने बितिक्कै हसुर्नपर्ने हन्तकाले बनेथेँ। पढ्न र लेख्न बस्यो कि भोक, तिर्खा, दिसापिसाबले मलाई औडाहा हुनथाल्थ्यो।

मलाई उतिखेर बीस मिनटभन्दा लामो गाडीको यात्रा पनि खुबै कष्टकारी लाग्थ्यो । बाग्राकोटबाट सिलगढी पुगेर कलेज पस्दा मलाई संसारकै ठुलो लडाइँ जितेँ भन्ने लाग्थ्यो । कलेज जाँदा सालुगढा मेरालागि शौचालय । बाग्राकोट फिर्दा बाघपुल काटेपछि म सधैँजसो नै बेचैनी हुन्थेँ। त्यही क्रममा म एकचोटि बेचैनीमा आशाबारीमा उत्रिएछु। बाटोभरिको जाम, गर्मी र तिर्खाले त्यस दिन मलाई थप व्याकुल बनाएको  थियो । पिसाब  गरेपछि थाहा भो लगभग आठ नाघिसकेको रहेछ । घन्टौँ कुरेर पनि मिनामोडसम्मको गाडी पाउन सकिनँ। त्यसरी अबेरसम्म म घर नपुग्दा यता गीता दिदी र रामचन्द्र सरहरू अतालिएछन्। म भने पागलजस्तो लेसखोलाको बगरैबगर अँध्यारोमा हिडेर त्यस रात अबेर गरी बिडिआर गीता दिदीकहाँ पुगेथेँ। यस्तै पिसाब सम्बन्धी समस्या लिएर बाग्राकोट उच्चमाविको ` हिमालफेदी´-को कौस्तुभ विशेषाङ्कमा एउटा लेख नै लेखिसकेको छु। त्यस्ता कहालीलाग्दो दिनमा मैले गीता दिदीको माया पाएको हुँ।

माध्यमिक दिएपछि गीता दिदीलाई चिनेँ। एघारौँ-बाह्रौँ पढ्दा छुदेन काबिमो र म दिदीको घरमा बस्थ्यौँ। एचएसपछि छुदेन कालेबुङ हिँडे। म सिलगढी लागेँ । त्यसपछि म त्यहीँ नियमित बस्न थालेँ। त्यसपछि त गीता दिदीको साक्खै भाइ नै बन्न पुगे ।

साह्रै धपेडी हुनथालेपछि मैले चिल्ड्रेन होम इङ्ग्लिस स्कुल जान छाडिदिएँ। यद्यपि प्रिन्सिपल अनिल थापा सरले केही महिनासम्म मासिक बेतन दिइरहे। कलेज पनि आकलझुकल जान्थेँ। डा.राजकुमारी म्यामलाई मेरो अवस्थाबारे थाहा भएकै कारण मलाई त्यसो गर्नमा विशेष छुट थियो । दिन धान्नलाई ट्युसन टुटाइनँ।

“जहिलजहिले भ्याउँछौ, तहिलेतहिले आउनू।”, कलेजमा विभागीय प्रमुखद्वारा प्रदान राहत थियो यो निर्देश ।

जहिलेतहिले नौनाडी गलेर आउँथ्यो गीता दिदीकहाँ बस्दा । नुहाउन र लुगा धुन पनि घन्टौँ लगाउँथेँ ।

“लीला भाइ! तिम्रो ढाडको मासु खोइ ?”, ढाड माडिदिने क्रममा केहीचोटि गीता दिदीले हँसाएकी थिइन्।

“अलि भात खाऊ न। हड्डीसड्डी सब पुरिन्छ ।”, दिदी हौसला पनि बराबर बढाउँथिन् । तर,अपच हसुरेर मेरो पेट फुक्दै र ज्यान सुक्दैगएको थियो।

आफै गीता दिदीले लुगा धोइदिइन्।

“दिदी पाप लाग्छ।” म भन्थे।

“थत्, भाइको लुगा धुँदा के हुन्छ?”, दिदी जबरजस्ती धोइदिन्थिन्।

म पिलन्धरे नै देखिन्थेँ। तर, दिदीको सामुन्ने कसैले विचारा भन्न नपाउने ।टिठ्याउन नपाउने ।

“केको विचारा ? मान्छे बिमार हुँदैन ? जाती भइसक्यो अब।”

दिदी ठाडै जवाफ दिन्थिन्। त्यसरी मलाई बिमार र अरु समस्याको अगाडि दिदीले धेरै जुझारु बनाइन् । दिदीकै स्याहारसुसारले म थप निको भएँ । त्यहाँका समाजमा उसैगरी जोडिएर रहेँ। जसरी त्यसअघि जोडिएको थिएँ । केही हदसम्म लेख्ने र पढ्ने पनि भएँ। कलेज र विश्वविद्यालयसम्मको औपचारिक शिक्षा पूरा गरेँ।

गीता दिदीका परिवार धर्मले ईसाई हुन्। परिवारका सबै सदस्यहरू राम्रा छन्। इमानदार भेनाजु कमान र घरमा बराहबर खट्छन।कहिले रामसुरे भएर नारायण गोपाल बनिहिँड्थे उतिखेर। माम, अमर, थोमस र मुस्कानले मलाई परिवारकै सदस्य ठानेर माया गरे। म हिन्दु परिवारमा जन्मिएँ। बढेँ । हुर्किएँ। यद्यपि यो परिवारसँगको एक दशकभन्दा लामो बसाइमा मेरो धर्म कहिल्यै अल्झो भएन। फुर्सद मिल्दा चर्च गएँ। घरमा सेवा राख्दा प्रार्थनामा सामेल बनिदिएँ। वर्षेनि पच्चीस डिसम्बरको दिन चर्चको भोजमा सरिक बन्थेँ।

“लीला भाइ, तिमी पनि ख्रिस्टान हुनु नि।”, एक दिन गीता दिदीले सुझाइन्।

“म राम्ररी हिन्दु त हुन सकेको छैनँ।”, मेरो सामान्य उत्तर थियो । जुन सुनेर दिदी हाँसिन् । त्यसपछि त्यसबारेमा कहिल्यै कुरा गरिनन्।मलाई धार्मिक परिवर्तन र यसको कट्टरताप्रति खासै रुचि थिएन । अहिले पनि छैन । जात, धर्म, भूगोल आदि इत्यादिले बनाएका सम्बन्ध प्रगाढ हुन्छ भनेर दाबी गर्ने ज्ञान ममा शून्य छ।

गीता दिदीले मलाई सदैव नैसर्गिक व्यवहार गरिन् । बचेरालाई जस्तो पालिन्, पोसिन् । उड्नलाई हिम्मत भरिन्। आमा बनिन् । दिदी बनिन्। धेरै थोक बनिन् उनी मेरालागि।

उनी साँच्चै नै मेरालागि मसिहा हुन्।

-लीलाबहादुर छेत्री, निम्बोङ,कालेबुङ।

याे पनि हेर्नुस्


Leave a comment