प्रेस विज्ञप्ति
गोरुबथानमा स्व. किराँतको सालिक अनावरण गरिने
गोरुबथान : साहित्य लेखनसँगैसँगै प्रकाशनको क्षेत्रमा पनि उतिकै उल्लेखनीय योगदान दिएर सिङ्गै नेपाली समाजलाई उपकृत तुल्याउने स्व. हायमनदास राई ‘किराँत’-को पूर्णाङ्ग सालिक गोरुबथानको सोमबारे बजारमा स्थापित गरिने भएको छ । गोरुबथानको साझा साहित्य संरक्षण संस्थाको विशेष पहल र जीटीएको सहयोगमा उक्त सालिक आगामी १६ जनवरी २०२५ का दिन अनावरण गर्न लागिएको हो । गोरुबथानको सोमबारे बजारबीचमा भएको नवनिर्मित त्रिकोण पार्कमा स्व. किराँतको सालिग स्थापना गरिनेछ भने उक्त सालिकको अघिल्लाेतिर एक भव्य मञ्च निर्माण गरेर अनावरण समारोह सञ्चालन गरिनेछ ।
नेपाली साहित्यका वरिष्ठ साहित्यकार डा.गोकुल सिन्हाको अध्यक्षतामा सम्पन्न हुने उक्त समारोहमा प्रमुख अतिथिको रूपमा जीटीए कार्यपाल अनित थापा प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन् भने कार्यक्रममा स्व. किराँत व्यक्ति र कृतिबारे डा. रेमिका थापाको विशेष वार्ता रहनेछ । उक्त समारोहमा सिक्किम, दार्जिलिङ, कालेबुङ, खरसाङ, सिलगढी, डुवर्सलगायत गोरुबथान खण्ड वरिपरिका साहित्यकारहरूलाई निम्ताइने भएकाे छ। अनावरण समारोहमा कवि/ गीतकार कमल रेग्मीलगायत गोरुबथान क्षेत्रमा सक्रिय रहेका सम्पूर्ण साहित्यिक संस्थाहरूलाई पनि सम्मान जनाइने कार्यक्रम रहेको छ । विशिष्ट कविहरूद्वारा कविता वाचन गरिने उक्त कार्यक्रममा केही साङ्गीतिक कोशेलीहरू पनि प्रस्तुत गरिनेछ। उक्त सालिक अनावरण समारोहलाई भव्यतापूर्वक सफल बनाउन अहिले आयोजक समिति लागिपरेको छ भने यस कार्यमा सबैको साथको अपेक्षा पनि आयोजक समितिले गरेको छ ।