कालचिनीः लिम्बु जातिको संस्कृति र परम्परा संरक्षण अनि सम्वर्द्धन गर्ने उद्देश्यले लिम्बु सुब्बा विकास समिति अलिपुरद्वार जिल्ला कमिटीको आयोजनामा आइतबारदेखि ३ दिवसीय लिम्बु जातिको लोक सांस्कृतिक च्याब्रुङ नृत्य प्रशिक्षण आरम्भ गरिएको जानकारी सो संगठनको सचिव महिपाल सुब्बाले दिएका छन्। अलिपुरद्वार २ नम्बर खण्ड अन्तर्गत पानबारी समलपुर गाउँमा आइतबारदेखि आरम्भ भएको उक्त प्रसिक्षण समारोहमा लिम्बु सुब्बा विकास समिति अलिपुरद्वार जिल्लाको अध्यक्ष एबी लिम्बुले अध्यक्षता गरेको थियो भने विशिष्ट अतिथिमा उराँव कुँडुख लेखक विमल टोप्पो, पीबी सुब्बा, हर्कसिंह सुब्बा, जीत लिवाङ एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
लिम्बु भाषाविद तथा लिम्बु लोक कलाकार तुलसीराज सुब्बाको निर्देशनमा च्याब्रुङ नृत्यको प्रशिक्षण आरम्भ भएको समितिका सचिव महिपाल सुब्बाले जनाएको छ भने आगामी मंगलबार ३ दिवसीय च्याब्रुङ नृत्य प्रशिक्षणको समापन हुने बताइएको छ। लिम्बु जातिको भाषा, संस्कृति अनि परम्परा जगेरा गर्ने अभियानमा कुमारग्राम र अलिपुरद्वार २ नम्बर ब्लकको लिम्बु युवा-युवतीलाई च्याब्रुङको नृत्य र महत्व बुझाउन यो प्रशिक्षणको आरम्भ गरिएको र आगामी दिनमा लिम्बु सुब्बा विकास समिति अलिपुरद्वार जिल्ला कमिटीले अझै वृहत रुपमा लिम्बु जातिको भाषा, साहित्य, संस्कृतिमाथि संगोष्ठीहरूको आयोजना गर्ने समितिको मूलसचिव महिपाल सुब्बाले थप जनाएको छ।
