मेचपाडा चियाकमानमा श्रमिकहरूले गरे गेट सभा

मेचपाडा चियाकमानमा श्रमिकहरूले गरे गेट सभा


कालचिनीः गत ९ जनवरीको दिन अचानक कार्य स्थगनको नोटिस जारी भए पश्चात् मेचपाडा चियाबारीमा हाल कमान ठप्प रहेको छ। कमान ठप्प भएको ९ दिन बितिसक्दा पनि कमान खोलाउन कुनै केन्द्रिय युनियन नेताहरू र प्रशासनिक पक्षले पहल नगरेको जस्तो देख्दा कमानमा श्रमिकहरू विक्षुब्ध बन्न थालेको स्थानीय ट्रेड युनियन प्रतिनिधिहरूले जनाएका छन्।
शनिबार यसै क्रममा कमानको श्रमिकहरूले मेचपाडा फ्याक्ट्री गेट अघि प्रायः २ घन्टा भन्दा लामो अवधिसम्म गेट सभा गरेको थियो। प्रत्येक युनियन प्रतिनिधि र श्रमिकहरूले ठीकठाक् चल्दै आइरहेको मेचपाडा चियाबारीलाई कार्य स्थगन गरिएपछि हाल यसलाई खोलाउन कतैबाट पहल नभएकोमा गेटसभामा दुख व्यक्त गरिएको थियो।


प्रशासनले कमानको सम्पत्ति रक्षा गर्न कमान चौकीदारहरूलाई दायित्व दिएता पनि अब कमानको सुरक्षा गर्न चौकीदार पनि असक्षम हुने स्थिति देखा परेकोले कमान खोलाउन दवाब दिन श्रमिकहरूसँग सडक जाम र प्रशासनिक कार्यालय घेराउ गर्न बाहेक अन्य उपाय नरहेको श्रमिकहरूले जनाएका छन्। गत १३ जनवरीको दिन मात्र कमान खोलाउने विषय लिएर अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा प्रथम त्रिपक्षीय बैठक बोलाइएको थियो। उक्त बैठकमा युनियन प्रतिनिधि र प्रशासनिक पक्ष उपस्थित रहेता पनि कमान कर्तृपक्षको प्रतिनिधि उपस्थित नरहेपछि बैठक विफल भएको थियो। हाल कमान बन्द भएको १० दिन पुग्न लागेको र यस सम्बन्धित अर्को बैठकको मिति तय नभएकोले कमानका जम्मै श्रमिकहरू हतासिन थालेको छ। कुनै पनि दिन कमानको श्रमिकहरूले कालचिनी बीडीओ कार्यालय घेराउ साथै कालचिनी सडक अवरोध गर्नसक्ने आशङ्का देखिएको वर्तमान परिस्थितिले दर्शाएको छ।

याे पनि हेर्नुस्


Leave a comment