मदारीहाट: नेपाली भाषा साहित्य तथा संस्कृतिको श्रीवृद्धिमा अग्रसर संस्था डुवर्स नेपाली साहित्य सभाद्वारा वार्षिक रूपमा प्रदान गरिने वार्षिक दुईवटा पुरस्कार क्रमैले कृष्णभक्त खड्का स्मृति पुरस्कार अनि इन्द्रबहादुर गुरुङ स्मृति युवा साहित्य पुरस्कार यसपाली डुवर्सका दुइजना विशिष्ट साहित्यकारहरूलाई प्रदान गरिने भएको छ । डुनेसासले प्रदान गर्ने यस पुरस्कार चयन समितिमा सातजना सदस्यहरू थिए जसको सर्वसम्मतिले दोस्रो कृष्णभक्त खड्का स्मृति पुरस्कार डुवर्सका बरिष्ठ कवि तथा गीतकार बेगबसन्त थापालाई प्रदान गरिने अनि दोस्रो इन्द्रबहादुर गुरुङ स्मृति युवा पुरस्कार डुवर्सकी उदयीमान कवयित्री प्रशान्ती राईलाई प्रदान गरिने भनी डुनेसास मूलसचिव किरण उपाध्यायले जानकारी दिएका छन् । आगामी मई महिनाको दोस्रो सप्ताह भब्यताका साथ कार्यक्रम गरिने भनी थप बताए । स्मरण रहोस् गत वर्ष २०२३ देखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो कृष्णभक्त खड्का स्मृति पुरस्कार डुवर्सका वयोवृद्ध कथाकार तथा डुवर्स नेपाली साहित्य विकास समितिका संस्थापक कृष्ण योञ्जनलाई प्रदान गरिएको थियो भने इन्द्रबहादुर गुरुङ स्मृति युवा पुरस्कार डुवर्स कालचिनीका युवाकवि तथा सङ्गठक चन्दन भट्टराईलाई प्रदान गरिएको थियो।
