सेन्ट्रल डुवर्स चियाबारीमा एसएसबीद्वारा वेल्डिङ कोर्सको उद्घाटन
कालचिनीः एसएसबी ५३ वाहिनी सिमलाबारी फालाकाटा अधीनस्थ सेन्ट्रल डुवर्स चियाबारीको सीमा चौकी अन्तर्गत बासरा डिभिजनको प्राथमिक विद्यालयमा सीमावर्ती युवाहरूका लागि एसएसबीले ३० दिने नि:शुल्क विद्युतीय वेल्डिङ तालिम कोर्सको उद्घाटन गर्यो। सीमावर्ती युवाहरूले आफ्नो गाउँमा बसेर सहज रूपमा यो कोर्स पूरा गर्न सकून् भनेर यो कोर्स अलिपुरद्वारस्थित समुकतला विद्यासागर सोसाइटीद्वारा बासरा गाउँमा सञ्चालन गरिएको बताइएको छ। कार्यक्रममा उपस्थित सबै प्रशिक्षार्थीहरूलाई सम्बोधन गर्दै एसएसबी ५३ वाहिनीका कमान्डेन्ट विजय सिंहले यो तालिम सुरु गर्नुको मूल उद्देश्य सबै आत्मनिर्भर र रोजगारमुखी बन्नु रहेको बताए।
उनले युवा पुस्ता देशको सुरक्षा र विकासको अत्यन्तै महत्वपूर्ण हिस्सा भएको भन्दै सबैले कुनै पनि प्रकारको गैरकानूनी गतिविधिमा संलग्न हुनुहुँदैन र एकजुट भएर देशको सुरक्षामा आफ्नो बहुमूल्य योगदान पुर्याउनु पर्ने बताए। कोर्सको उद्घाटनमा उपस्थित सबै युवा प्रशिक्षणार्थीहरूलाई हार्दिक शुभकामना र बधाई दिँदै उनले गाउँमा यो एक राम्रो अवसर रहेको बताउँदै गाउँमा व्यावसायिक तालिमको रूपमा इलेक्ट्रिक वेल्डिङ कोर्स सञ्चालन भइरहेको जनाएका छन्। साथै अन्य कुनै व्यावसायिक तालिम चाहिन्छ भने भविष्यमा त्यसलाई पनि समावेश गरिने तर प्रदत तालिमलाई ध्यान लगाएर पुरा गर्ने आह्वान पनि गरेका छन्। एसएसबीद्वारा सञ्चालित यस कार्यक्रमलाई बासराका पञ्चायत सदस्य आनन्द मुन्डा र राङ्गामाटीका पञ्चायत सदस्य विष्णु मङ्गर र स्थानीय गाउँलेहरूले अत्यधिक प्रशंसा गर्दै एसएसबीप्रति आभार व्यक्त गरेका छन्।
मंगलबारदेखि शुभारम्भ गरिएको उक्त कार्यक्रममा एसएसबी ५३ वाहिनीका सहायक कमान्डेन्ट तथा खोक्ला बीओपी इन्चार्ज हर्षित रत्न, उपमहानिरीक्षक रञ्जित कुमारलगायत प्रशिक्षार्थीहरू एवम् स्थानीय गाउँलेहरू र एसएसबीका कर्मचारीहरू उपस्थित थिए।