रक्तदान शिविर र म्याराथन दौड लिएर तृणमूलको सभा
कालचिनी: आगामी १२ जनवरीको दिन अस्पतालको ब्लड ब्याङ्कमा खुनको कमीलाई महशुस गर्दै तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट स्वेच्छा रक्तदान शिविरको आयोजना गरिने तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिनले जनाएका छन्।
मङगलबार यसै सम्बन्धमा हेमिल्टनगञ्जस्थित श्रमिक भवनमा तृणमूलको एउटा सभा सम्पन्न भएको थियो। उक्त सभामा आगामी १२ जनवरीको दिन तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट स्वेच्छा रक्तदान शिविरको आयोजना गरिने एवम् ३१ जनवरीको दिन स्वास्थ्य समाज गठन एवम् ड्रग्समुक्त समाजको निर्माण गर्न म्याराथन दौड प्रतियोगिताको पनि आयोजना गरिने तय भएको बताइएको छ।
मङगलबार उक्त सभामा ब्लक सभापति असीम पाख्रिन, तृणमूल युवा कंग्रेसका कालचिनी ब्लक सभापति पवन योल्मो, हैदर अली अन्सारी एवम् अन्यान्य नेतृत्व औ कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
विशेषतया अलिपुरद्वार जिल्ला अस्पतालको ब्लड ब्याङ्कमा रक्त यूनिटको अभावलाई आपूर्ति गर्नलाई यो पहल गरिएको बताउँदै राजनीतिसितै जनसरोकार र परोपकारको भावनालाई अघि राखेर रक्तदान र म्याराथन दौड प्रतियोगिताको भिन्न-भिन्नै मितिमा आयोजना गरिने तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिन र युवा सभापति पवन योल्मोले पत्रकारहरूलाई जनाएका छन्।