कालचिनीः ड्रग्स विरोधी अभियानलाई तीव्र बनाउँदै कालचिनी पुलिसले सोमबार सॉंझ ठूलो सफलता हात पारेको छ। कालचिनी थाना अन्तर्गत पर्ने डिमा चियाकमानस्थित नेपाली लाइन क्षेत्रबाट पुलिसले अवैद्य रूपमा नशालु ट्याबलेट बोकेका एक युवकलाई रङ्गेहात पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्ने युवकको नाम उत्तम सेवा रहेको बताइएको छ। प्राप्त जानकारीअनुसार, विशेष सुराकीको आधारमा कालचिनी थाना पुलिसले नेपाली लाइन क्षेत्रमा निगरानी बढाएको थियो। सोमबार सॉंझ शङ्का लागेपछि पुलिसले जब उत्तम सेवाको जॉंच गर्यो, तब तिनीसँग लगभग ४८० पीस नशालु ट्याबलेट फेला पर्यो।
तत्काल तिनलाई नियन्त्रणमा लिएर थानामा ल्याइएको थियो। कालचिनी थाना प्रभारी गौरव हॉंसदाले जनाएअनुसार, पक्राउ परेका युवकविरुद्ध एनडीपीएस (नार्कोटिक्स ड्रग्स एन्ड साइकोट्रपिक सब्सट्यान्सेस) एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ। मङ्गलबार तिनलाई अलिपुरद्वार जिल्ला अदालतमा पेश गरिएको थियो भने अदालतमा ७ दिनको पुलिस रिमाण्डको निवेदन गरिएको छ। ताकि घटनाको गहिरो अनुसन्धान गर्न सकियोस्। थाना प्रभारी हॉंसदाले थप जानकारी दिँदै भने, हामी यस मामिलामा अन्य संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीमा लागिरहेका छौँ। सम्भवतः यसमा सङ्गठित गिरोह संलग्न हुन सक्छ। अनुसन्धान जारी छ, चॉंडै अन्य आरोपितहरू पनि पक्राउ पर्ने आशा छ। यस घटनाले डुवर्स क्षेत्रको सीमावर्ती क्षेत्रमा अवैद्य लागूपदार्थको कारोबार फेरि सक्रिय हुन थालेको सङ्केत दिएको छ। स्थानीय जनताले यसप्रकारको पुलिस कारबाहीको प्रशंसा गर्दै अवैद्य कारोबार रोक्न नियमित गस्ती र निगरानी बढाउन माग गरेका छन्।
