भातखावा चियाबारीमा अवैध रूख कटानी


कालचिनीः कालचिनी खण्डको गारोपाडा ग्राम पञ्चायत अन्तर्गत पर्ने भातखावा चियाबारीको सेक्शन नम्बर ३ सी मा मङ्गलबार बिहान एउटा गम्भीर घटना प्रकासमा आएको छ। वन विभागको अनुमति बिना ठूला तथा छायॉंदार रूख र चिया बोटहरू कमान कर्तृपक्षले काट्न लगाएकोले यस काममा लगाइएको एक जेसीबी मशीनलाई निमती रेञ्जका वनकर्मीहरूले नियन्त्रणमा लिँदै कटानी बन्द गरेको बताइएको छ। स्थानीय चियाबारीका श्रमिकहरूले जनाएअनुसार, केही दिनदेखि दैनिक झण्डै ६ वटा ट्रलीमा सुक्का र हरिया रूखहरू काटिँदै आएका थिए। अनुमान अनुसार कटिएका रूखको संख्या १८ हजार नाघिसकेको हुन सक्छ। ती रूखहरू चिया कारखानामा ड्रायर, बोइलर जस्ता मेसिनहरूमा ईन्धन बाल्न प्रयोग भइरहेको जानकारी प्राप्त भएको छ। नाम गोप्य राख्ने सर्तमा एकजना श्रमिकले भने, हामी खुल्ला रूपमा बोल्न सक्दैनौं, हाम्रो रोजगारीमा असर पर्न सक्छ। यसैबीच क्षेत्रको तापमान पनि अस्वाभाविक रूपमा बढ्दै गएको स्थानीय श्रमिकहरूको भनाई छ। जब कलकत्ताको तापमान ३३ डिग्री हुँदा भातखावामा तापमान ३७ देखि ४० डिग्री सेल्सियससम्म पुगेको श्रमिकहरू बताउँछन्। एक महिला श्रमिकले भनिन्, अब बगानमा न त छायॉं बॉंकी छ, न त शीतल हावा छ, पत्ती टिप्न पनि धेरै गार्हो भइरहेको छ, धेरैजसो महिला बारम्बार बिरामी परिरहेका छन्।
ज्ञात रहोस् वन विभागले सोमबारदेखि आगामी तीन महिनासम्म वन क्षेत्रमा सर्वसाधारणको प्रवेशमा रोक लगाएको छ। यो अवधि वन्यजन्तुहरूको प्रजननकालका लागि अत्यन्तै संवेदनशील मानिन्छ। अब यो विषय जिल्ला कार्यालयसम्म पुगेको छ भने कमान व्यवस्थापनको भूमिकालाई लिएर गम्भीर प्रश्न उठ्न थालेका छन्। यद्यपि भातखाव चियाकमानको रुख कटानी सम्बन्धमा वन विभागले अधिकारीक कुनै वक्तव्य जारी गरेका छैनन् भने भातखावा चियाबारीको कर्तृपक्षले कुनै वक्तव्य दिएका छैन।

Leave a comment