मदारीहाट भानुभक्त सांस्कृतिक संघको स्वर्ण जयन्ती पालन
मदारीहाट : मदारीहाट खण्डको वयोज्येष्ठ संस्थाहरूमध्ये एक भानुभक्त सांस्कृतिक संघको ५०औँ वर्ष पूर्तिको उपलक्ष्यमा स्वर्ण जयन्ती पालनसँगै आमा प्रकाशनको ब्यानरमा प्रकाशित ‘यात्री’ कथाप्रधान साहित्यिक पत्रिकाको लोकार्पण आइतबार मदारीहाटस्थित देवकोटा नेपाली स्कूलमा भव्यताको साथ सम्पन्न भएको जानकारी आयोजक कमिटीको पक्षबाट कवि किरण उपाध्यायले दिएको छ|

स्व.बीएम योञ्जन स्मृति मञ्चमा सम्पन्न सो समारोहको अध्यक्षता अवसरप्राप्त मौसम वैज्ञानिक तुलसीराम कार्कीले गरेको थियो भने समारोह शुरु हुन अघि दीप प्रज्वलन उपस्थित अतिथिहरूको बाहुलीबाट गरिएपछि पहलगाममा ज्यान गुमाएकाहरू एवम् ज्ञात अज्ञात साहित्यिक तथा समाजसेवीहरूको स्मृतिमा एक मिनटको मौन धारण पालन गरिएको थियो| स्वागत वक्तव्य संघका अध्यक्ष शम्भू ढकालले राखेको थियो भने देवकोटा स्कूलका कन्या विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए| यसै क्रममा भानुभक्त सांस्कृतिक संघको इतिहास राजु सुवेदीले केलाएपछि आमा प्रकाशनद्वारा प्रकाशित तथा किरण उपाध्यायद्वारा सम्पादित ‘यात्री’ कथाप्रधान साहित्यिक पत्रिकाको लोकार्पण उपस्थित अतिथिहरूको करकमलबाट विधिवत रूपमा गरिएको थियो| पत्रिका लोकार्पण पश्चात समीक्षा वरिष्ठ कवि तथा कथाकार अबीर खालिङले गरेको थियो|

कार्यक्रममा सिक्किमबाट आएकी कवयित्री अप्सरा दाहाल र मदारीहाट पञ्चायत समितिका चेयरमेन आशा एस बम्जनलाई संघको पक्षबाट नारी स्रष्टा सम्मान र नारी सम्मान प्रदान गरिएको थियो भने कवयित्री अप्सरा दाहालले कविता वाचन गरेकी थिईन्| यसै क्रममा जयगाउँका युवा समाजसेवी नवीन छेत्रीलाई पनि तिनको निःस्वार्थ समाजसेवाको कदर गर्दै सम्वर्द्धना प्रदान गरिएको थियो| समारोहमा सिक्किमबाट प्रमुख अतिथिको रूपमा आएका राजन शिवाकोटी र असम गोर्खा सम्मेलनका मूलसचिव सञ्जिव दाहालले संघको स्वर्ण जयन्तीलाई आतिथ्य सम्भाषणसितै शुभकामना प्रदान गरेको थियो|

कार्यक्रममा अलिपुरद्वार लोकसभा सांसद मनोज तिग्गा पनि निमन्त्रणा स्वीकार गरेर आइपुगेका थिए भने वरिष्ठ लेखक डा. जीवन राणा, डुवर्सेली गोर्खा भवनका प्रतिनिधि प्रभात थापा, स्वागण थापा, भागोप प्रतिनिधि बुद्धिमान लामा, डुवर्स नेपाली साहित्य विकास समिति र सृजनशील समूहका प्रतिनिधिहरू कृष्णबहादुर श्रेष्ठ, अबीर खालिङ, आसबहादुर लिम्बु, विनोद मोक्तान, अमीर सुब्बा, चन्दन भट्टराई, महिपाल सुब्बा, ज्ञानलाल दर्नाल, नेपाली साहित्य प्रतिष्ठानका कमल शर्मा, लभकुमार भुजेल, राकेश शर्मा, नन्दराज शर्मा एवम् अन्यान्य संस्थाको पदाधिकारी, कवि एवम् समाजसेवीहरूको उपस्थिति रहेको थियो| भानुभक्त सांस्कृतिक संघ, आमा प्रकाशन र हाम्रो गाउँ नागरिक संघको संयुक्त आयोजनामा सम्पन्न स्वर्ण जयन्तीको अवसरमा कथाप्रधान साहित्यिक पत्रिका ‘यात्री’को लोकार्पणको अवसरमा साहित्य अनि समाजसेवामा लागि परेको व्यक्ति अनि व्यक्तिवहरूलाई सम्वर्द्धना प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै भानुभक्त सांस्कृतिक संघको स्वर्ण जयन्ती समारोह भव्यताको साथ सफल भएको कार्यक्रमको मूल सञ्चालक तथा कवि किरण उपाध्यायले जनाएका छन्|
याे पनि हेर्नुस्
