दुई बस एकआपसमा ठोक्किँदा पर्यटकहरू गम्भीर घाइते
कालचिनीः अलिपुरद्वार जिल्लाको शमुकतला थाना अन्तर्गत राष्ट्रिय राजमार्ग नम्बर ३१ को चलताला क्षेत्रमा आइतबार दिउँसो करिब १:३० बजे बस दुर्घटना भएको घटना प्रकासमा आएको छ। गुजरातका ९० जना पर्यटक २ वटा बसबाट गुवाहाटी कामाख्या मन्दिरको तीर्थयात्रामा आएको थियो भने शनिबार राति गुवाहाटीबाट फर्कने क्रममा चलताला क्षेत्रमा गंगासागर जाँदै गरेको पर्यटक बसले अचानक ब्रेक ठोक्दा देवगर जाँदै गरेको पर्यटक बसले अगाडिको बसलाई पछाडिबाट ठक्कर दिएको थियो।
मध्यरातमा सुतिरहेका बेला बस दुर्घटना हुँदा करिब ३६ जना घाइते भएका छन्। घाइतेहरूलाई तुरुन्तै उद्धार गरी पहिले स्थानीय ग्रामीण अस्पताल र त्यसपछि अलिपुरद्वार जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएको थियो। जिल्ला अस्पतालबाट प्रारम्भिक उपचारपछि १२ जना डिस्चार्ज दिएका छन् भने हाल अलिपुरद्वार जिल्ला अस्पतालमा १८ महिला र ६ पुरुषको उपचार चलिरहेको छ।
जसमध्ये तीनजनाको अवस्था चिन्ताजनक बताइएको छ। घाइते सबै गुजरातको अहमदाबाद क्षेत्रका बासिन्दा भनि बताइएको छ।