वरिष्ठ भाषा सङ्ग्रामी बी. एम. योञ्जन अब रहेनन्।
कालचिनी : डुवर्सको माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिको संस्थापक सदस्य एवम् नेपाली भाषा सङ्ग्रामी तथा डुवर्सेली बौद्धिक समाजको अभिभावक वयोवृद्ध बुद्धिमान योञ्जन (माइला बाऊ) को निधनले डुवर्स शोकाकुल बनेका छन्।
आइताबार प्रातः विहान ३ बजी तिनको निधन भएको परिवार सुत्रले जनाएका छन्। डुवर्सको विभिन्न साहित्यिक औ बौद्धिक संघ संस्थाको तिनी अभिभावक थिए भने तिनको निधनले डुवर्स मात्र नभएर सम्पूर्ण गोर्खा समाजलाई अपूर्णीय क्षति पुगेको डुवर्स नेपाली साहित्य विकास समितिको मूलसचिव रबिन खवासले जनाएका छन्।
माइला बाऊ निकै लामो समयदेखि रोगले ग्रसित थिए भने तिनलाई गत केही दिन अघि मात्र सिलगढीको एउटा निजी नर्सिङ होममा भर्ना गरिएको थियो। तर नर्सिङ होमले पनि उपचार गर्न नसकेर घर फर्काएको थियो।माइला बाऊले एकजना डब्ल्यूबीसीएस अंधिकारीको रूपमा प्रायः ८० को दसकमा प्रशासनिक सेवा गर्दै भाषा आन्दोलनमा सक्रिय हुँदै डुवर्सको साहित्यिक, सांस्कृतिक औ भाषिक संघ संस्थाहरूलाई प्रेरणा औ प्रोत्साहित गर्दै अग्रज भूमिका निर्वाह गर्दै आईरहेको डुवर्स नेपाली साहित्य विकास समितिको संरक्षक ललित न्यासुरले जनाएका छन्। माइला बाऊको निधनले डुवर्स टुहुरो बनेको न्यासुर बताउँछन्।
स्मरण गराइन्छ, डुवर्स नेपाली साहित्य विकास समितिको आगामी २७, २८ र २९ दिसम्बर गरी तीन दिवसीय स्वर्ण जयन्ती समारोह सम्पन्न हुन गईरहेको छ भने यसबीच मूल अभिभावक माइला बाऊको निधनले समिति मर्माहत बनेको समितिको अध्यक्ष कृष्ण श्रेष्ठले शोक व्यक्त गरेको छ। माइला बाऊको निधनको खबर सुनेर डुवर्सभरीका विभिन्न संघ संस्था औ राजनैतिक दलका प्रतिनिधिहरूले शोक व्यक्त गर्दै परिवारलाई सम्वेदना व्यक्त गर्ने क्रम जारी रहेको छ भने सोमबार तिनको पार्थिव शरीरलाई अन्तिम संस्कार गरिने पारिवारिक सदस्यहरुले जनाएका छन्।